२७ वर्ष पछिको पुनर्मिलन

  प्रकाशित मिति
६ कार्तिक २०७३, शनिबार १३:०४


devicharan

मिति २०७३ असोज २९ गते शनिबार । घरबाट निस्कदा ६ः४० भएको थियो होला । नाडीमा घडी भए पनि प्रायः हेर्ने बानी कहाँ छ र ! असोजको विदाई र कातिकको शुभारम्भको तयारी भैरहेको समय । विहानैको यात्रा निकै चिसो हुन्छ । धन्न जवारीकोट चाहिँ लगाएको थिएँ । द्रुत गतिमा टु स्टोपेजमा एकै चोटी मेरो मूल घर भाउन्ने, मोरङ पुगे । उर्लावारी घनश्याम काकाकोमा पहिलो स्टप थियो । जन्म दिने आमालाई गएको जेठ–४ गते सदासदाका गुमाए पनि कर्म दिने आमा घरैमा हुनुहुन्थ्यो । बुबा पुरेत्याईं गर्न निस्की सक्नु भएको रहेछ । खाना खाएर निस्किएँ घरबाट ।

घरबाट हिँडेपछि थर्ड स्टपमा विराट चोक थियो । विराट चोकमा पुगेपछि मेरो खुट्टा एक्कासी वाइकको ब्रेकमा पुगिहाल्छ । विराट चोकमा मेरा भाईबुहारी शेखर देवी भण्डारी बस्छन् । अनि एसएलसीसम्म सँगै पढेकी बालसखी मुना सुवेदी ढकालको पनि घर त्यहीँ । त्यहाँ एकछिन रोकिदा थकाई पनि कम हुने, भेटघाट पनि हुने ।
११ बजेदेखिको एउटा ऐतिहासिक कार्यक्रममा पुग्नु थियो मैले । त्यसको संयोजनकर्ता मध्येको एउटा सदस्य म भएकाले समयमै निर्धारित स्थानमा पुग्नु पर्ने वाध्यता थियो मेरो । एकछिन भए पनि आराम हुने सोचेर इटहरी चोक पश्चिम पच्रुकी भन्ने स्थानमा पवित्रा बैनीकोतिर मोडे मोटर वाइक । बहिनी ज्वाई र दुईटै भाञ्जाहरु घरैमा रहेछन् ।

वास्तवमा संसार एउटा गाउँ जस्तो भएको अहिले । मान्छेको हातैमा संसार अँटाएको छ मोवाइलको माध्यमबाट । चाहेको र खोजेको कुरा हातैमा भेट्न सकिन्छ । अध्ययन गर्न सकिन्छ । लेख्न सकिन्छ । लेखाउन सकिन्छ । देख्न सकिन्छ । देखाउन सकिन्छ । दुनियाँमा भएका कुनै पनि घटना तत्कालै थाहा पाउन सकिन्छ । वास्तवमा यस्तो अद्भूत र चमत्कारी प्रविधिको आविष्कार गर्ने मान्छेलाई भगवान मान्नु पर्ने हो ।

महेन्द्र वहुमुखी क्याम्पस धरानमा शैक्षिक सत्र २०४४÷०४६ मा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्ने साथीहरुको गेटटुगेदरको कार्यक्रमको पहिलो श्रृङ्खला सुष्मिता शाक्यको पहल र संयोजनमा काठमाण्डौमा भैसकेको रहेछ । त्यो भेटघाट कार्यक्रममा सुष्मिता शाक्य, इशु गुरुङ, सपना ओली, उमा खड्का, तमन्ना थापा, विनोद देवान, नन्द राई, मीन विश्वकर्मा, माधव गुरुङ र सनम श्रेष्ठको सहभागिता रहेको जानकारी मित्र माधव गुरुङले गराउनु भयो । काठमाडौंमा रहने साथीहरुको दोस्रो गेटटुगेदरको कार्यक्रम पनि भएछ । दोस्रो मिति २०७३÷०६÷१९ गते मित्र दिव्यराज कोइराला र माधव गुरुङको अग्रसरता र संयोजनमा काठमाडौंमै भव्य रुपमा दोस्रो श्रृङ्खलान सम्पन्न भयो । यस श्रृङ्खलामा मित्रहरु मीन विश्वकर्मा, माधव गुरुङ, इशु गुरुङ, मिनिता बस्नेत, देवविक्रम राई, टेकुनन्द इवा, दिव्यराज कोइराला, बाबुराम दाहाल, उत्तम लिम्बु र प्रदीप लिम्बुको उपस्थिति रहेछ ।

‘क’ श्रेणीको ठेकेदारका रुपमा स्थापित इटहरी निवासी मित्र विनोद देवानजीलाई फोन सम्पर्क गरेँ र सबै कुरा अवगत गराएँ । निक्कै खुसी हुनुभो विनोदजी । इटहरी कुन ठाउँमा बस्ने भन्ने कुराको जिम्मा उहाँलाई नै सुम्पिएँ । उहाँले तुरुन्तै चिन्तन चौतारी रेष्टुरेण्टमा बस्नु पर्छ भन्नुभो । मैले मेरा सम्पर्क भएका साथीहरुलाई जानकारी गराएँ । मिनजी असोज २८ गते बेलुका धरान आइपुग्ने र २९ गतेको हाम्रो रमाइलो भटेघाटको कार्यक्रममा सहभागी हुने कुरा वताउनुभो । मिनजी कार्यक्रममा सहभागी हुने कुराले म निकै उत्साही भएँ । मिनजी काङ्ग्रेसका निर्वाचित केन्द्रीय सदस्य र सांसद् । आइए पढ्दा म, मोहन ढकाल र मिनजी एउटै कोठामा बस्थ्यौं । मिनजीको माइलो दाजुको विवाहमा सहभागी हुन मङ्सिरको छोटो दिनमा चतराबाट हिँडेर एकै दिनमा भोजपुर पुगेर रेकर्ड नै राखेका थियौं हामीले । जन्ती गएको थिएँ म मिनजीको दाजुको विवाहमा भोजपुर सदरमुकामदेखि पश्चिम दिल्पा भन्ने ठाउँमा । मिनजीको आमाबाट साँच्चै भुल्नै नसकिने माया र स्नेह पाएको थिएँ मैले । अर्का रुमपार्टनर विराटचोक निवासी मित्र मोहन ढकालको आइए पढ्दा विवाह भएको थियो । झापाको धरमपुर गाविसको मङ्गलबारेमा मोहनजीको ससुराली घर । सरल, मृदुभाषी र सहयोगी स्वभाव थियो मोहनजीको । मोहनजीसँग क्याम्पस छोडेपछि भेटघाट भएको थिएन । सुकुना क्याम्पस छेउमा उहाँको घरमा भने धेरै अघि म र गीताजी पुगेका थियौं । गीताजीले वान इयर विएड सुकुना क्याम्पसबाट गर्दा उनकै कामको शिलशिलामा । तर मोहनजीसँग भेट भएको थिएन ।

यसरी इटहरीमा हुने तेस्रो श्रृङ्खलामा सकेसम्म धेरै सहपाठी मित्रहरुलाई उपस्थिति गराउने क्रममा हामी सवैको उत्तिकै योगदान रह्यो । खासगरी दिव्यराजजी र विनोद देवानजीको । यही रमाइलो भेटघाटका क्रममा म हान्निएको थिएँ इटहरी ।

कसैले गीत, कसैले मुक्तक, चुट्किला आदिआदि प्रस्तुत गर्नुभो साथीहरुले त्यहाँ । यसको सुरुआत मैले एउटा मुक्तक सुनाएर र एउटा गीत गाएर गरेँ । सवैको आफ्नो आफ्नो एकल प्रस्तुति पछि एकछिन अन्ताक्षरीमा रमायौं हामी । अन्ताक्षरीमा एकापट्टीको नेतृत्व सांसद् मीन विश्वकर्माले र अर्कापट्टीको नेतृत्व मैले गरेँ । सारोगारो परेको अवस्थाको सहजीकरण विनोद देवानले गर्नु भएको थियो । उपस्थित भएका धेरै साथीहरुको यो भेटघाट २७ वर्षपछि भएको थियो । २७ वर्षको अवधि भनेको निकै लामो समय हो । २७ वर्ष अघिका साथीहरु दुब्ला, पातला र ख्याउटे थिए भने अहिले २७ वर्ष पछि धेरै साथीहरु निकै मोटाघाटा र चिन्न पनि धौ धौ पर्ने । विद्यार्थी अवस्थाबाट माथि उठेर अभिभावकीय भूमिकामा आइपुग्दा स्वभाविक रुपमा जिम्मेवार र परिपक्व बनेका थिए । २७ वर्ष पछि भेटिएका साथीहरुको बोलीचाली र व्यवहारमा केही भिन्नता पाइँन मैले । उहीँ बोलीचाली, उहीँ चालढाल, उहीँ हाँसीमजाक, उहीँ हार्दिकता, उहीँ मित्रतापूर्ण व्यवहार। २७ वर्ष अघिको कलेज जीवनको याद झल्झली आँखा वरिपरि नाँची रह्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: