५२ विद्यार्थीका एक्ला सहयोगी

  प्रकाशित मिति
२६ कार्तिक २०७३, शुक्रबार १५:१६


student

नकलबन्दा । एउटा बाल विकास कक्षामा एक जना सहयोगी कार्यकर्ताका लागि २० जना विद्यार्थी हुनु पर्ने प्रावधान छ । विद्यार्थी बढी भएमा धेरैमा २५ जनासम्म हेर्न सकिन्छ । तर, मेची निमावि मेचीनगर–९ नकलबन्दामा रहेको बाल विकास केन्द्रमा एक जना सहयोगी कार्यकर्ताले ५२ जना विद्यार्थीलाई पढाउनु पर्ने बाध्यता छ ।

सहयोगी कार्यकर्ताको कोटा एउटै मात्र भएका कारण यति धेरै बालबालिकाहरूलाई पढाउन बाध्य भएका हुन् । जसले गर्दा नानीहरूको पढाइमा समेत प्रत्यक्ष असर पर्ने गरेको छ ।

सामान्यतया बालविकास केन्द्रमा २ वर्षदेखिका बालबालिका आउने गर्छन् । साना नानीहरू भएका कारण रुने कराउने, एक अर्कामा झगडा गर्न गरेकाले सहयोगी कार्यकर्तालाई थेग्न धौ–धौ पर्ने गर्छ । बाल विकास कक्षामा सहयोगी कार्यकर्ताको कोटा अभाव भएपछि पढाइमा समेत असर पर्ने गरेको छ ।

यस विद्यालयको बालविकास केन्द्रका लागि जिल्ला शिक्षा कार्यलय झापाले एक जना मात्र सहयोगी कार्यकर्ताको कोटा दिएको छ । ‘अघिल्लो वर्ष त तसो तसो पढाएका थियौँ’ प्रधानाध्यापक भरत दाहालले भने–‘यो शैक्षिक सत्रमा विद्यार्थीको चाप बढ्ने व्रmम निरन्तर छ । हामीलाई सम्हाल्न समेत धौधौ परेर केही महिनादेखि आएका नानीहरूलाई भर्ना गर्न समेत सकेका छैनौँ । आएका नानीहरूलाई बाध्य भएर फिर्ता गरेका छौँ । यसरी नै नानीहरू आइरहने हो र एकै जना सहयोगी कार्यकर्ताले मात्र हेर्ने हो भने त्यसको प्रभावकारिता के होला ?’
आदिवासी समुदायको बाहुल्यता रहेको यस विद्यालयमा अधिकांश अभिभावकहरू मजदुरी गरेर जिविको चलाउँदै आएका छन् । नजिकै निजी विद्यालय भए पनि आर्थिक अभावका साथै विद्यालयले केही वर्षयता गरेको आशातित परिवर्तनले अभिावकको आर्कषण बढ्दो छ । केही वर्षदेखि विद्यार्थीको सङ्ख्या दिनानुदिन बढिरहेको शिक्षक रमेश निरौलाले बताए । यस विद्यालयमा माथिल्लो तहमा समेत शिक्षक दरबन्दी कम छ । जसो तसो भएका शिक्षकहरूले सहकार्य गरेर शिक्षण गर्दै आएका छन् ।

बालविकास केन्द्रका लागि सहयोगी कार्यकर्ताका रुपमा चित्रा राजवंशी रहेकी छिन् । अभिल्लो वर्षदेखि शिक्षा कार्यालयले सबै बालविकास केन्द्रका नानीहरूलाई विद्यालयमा नै खाजा दिने व्यवस्था गरेपछि उनलाई थप भार परेको छ । ती सबै नानीहरूका लागि खाजा समेत उनै चित्रा राजवंशीले विद्यालयमा नै बनाएर खुवाउँदै आएकी छिन् ।

जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले विद्यार्थी सङ्ख्याको आधारमा सहयोगी कार्यकर्ताको कोटा निर्धारण गरिने बताए । ‘यो समस्याका बारेमा मैले सुनेको छु’ जिशिअ बरालले भने–‘अब बाल विकास केन्द्र हेर्ने समितिसँग सहकार्य गरेर केही कोटा उपलब्ध गराउछौँ ।’ उनले विद्यार्थी सङ्ख्या बढ्नु सामुदायिक विद्यालयका लागि सफलता रहेको बताउँदै काम गर्ने विद्यालयले त्यसको फल पनि प्राप्त गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: