झापा । सरकारले लकडाउन ८० दिनपछि लकडाउन खुकुलो पार्ने योजना ल्याएको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको हो ।
त्यस अनुसार शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर बिजोर प्रणाली अनुसार चलाउन पाइने भएको छ ।
तर सार्वजनिक यातायातका साधन, आन्तरिक तथा बाह्य हवाई सेवा अहिले पनि बन्द नै रहनेछ ।
यस्तै, पसल र डिपार्टमेन्ट स्टोरहरु खोल्न पाइनेछ । तर सपिङ मलहरु खुला हुने छैनन् ।
रेस्टुरेन्टहरु प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरु बन्द नै रहनेछन् ।
सबै सरकारी, निजी र वित्तीय संस्थाका कार्यालय खुल्नेछन् । तर बिहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनु पर्नेछ ।
विद्यालय तथा शैक्षिक संस्थाहरु भने बन्द रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरु पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरु अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।
(अनलाइन खवर)