कविता : कोरोना भाइरस

  प्रकाशित मिति
१७ चैत्र २०७६, सोमबार १४:१६


मेचीनगर ।
‘तिम्रो कारण मान्छे लास बनिरहेछन्,
मान्छे विधवा, विदुर र टुहुरा बन्दैछन्,
काखहरु रित्तिदैछन्,
युद्धमा पनि त यस्तै हुन्छ ।’

यी माथिका हरफहरु कवि पुण्य सुबेदीका हुन् । कोरोना कहरले विश्व थला परिरहेको बेला उनको कलमले कोरोना भाइरसका बारेमा कविता कोरेको छ । अर्जुनधाराका शिक्षक र सामाजिक अगुवा समेत रहेका उनको कविताको पढ्नुहोस् पूरा अंश–

कोरोना भाइरस
₋पुण्य सुवेदी

खै कसले खिच्यो, कसले छाप्यो तिम्रो चित्र ?
आहा ! कति सुन्दर
फूलजस्तै भन्नु अघि
रेटिनाको एक पत्र बन्यो तिम्रो चरित्र,
अनि देखिन्छौ कुरुप, डरलाग्दो र विचित्र
सुन्दरता रुप होइन चरित्र हो
देख्न त स्वरुप नै देखिन्छ तर हेरिन्छ उसको चरित्र ।

कविता लेख्दै गर्दा प्रियसीले एक कप चिया ल्याउँछिन्
म चियामा अमृत देख्छु र प्रियसीलाई अप्सरा
मैले चियालाई विष देखेको भए
प्रियसी भूत, राक्षस देखिन्थिन्
कहिल्यै नदेखेका भूत र राक्षस किन कुरुप हुन्छन् ?
रुप नदेखेरै पनि चरित्र हेरिँदो रहेछ ।
पmूलका पत्रहरु धारिला भइदिएको भए
तिनले घोच्थे, रोप्थे, काट्थे अनि,
तिखा काँडाहरु मुलायम र वास्नादार हुन्थे भने
सुन्दरता फक्रँदा होइन, तिखारिदा देखिने थियो
फूलका भन्दा बढी काँडाका कविता फुर्ने थिए
तिमी पनि झेली काँडा बनेर देखियौ ।

खै कुन यन्त्रले देख्यो, कुनले खिच्यो तिम्रो चित्र ?
दुनियाँ देख्न मैले पाएका यी आँखाले नदेख्ने
छाम्न नसक्ने, टिप्न नसक्ने, फाल्न नसक्ने
साना छौ, सुक्ष्म छौ
प्रेम पनि त तिमी भन्दा सानै छ यन्त्रले नि खिच्न नसक्ने
स्पर्श पनि त सानै हुन्छ नदेखिने
नत्र, आँखा चिम्लँदा नि किन काउकुती लाग्छ ?
तिम्ले भेट्दा खोकी लाग्छ, ज्वरो आउँछ, श्वास बढ्छ रे
पहिलो पटक प्रियसीलाई बोलाउन खोज्दा मलाई नि खोकी लागेको थियो,
पहिलो स्पर्शले ज्वरो आएजस्तै भएको थियो,
हात समाउँदा मेरो श्वास बढेको थियो ।

प्रेमीहरु पनि त एकान्त खोज्छन्
आपूmहरुको अलग्गै संसार खोज्छन्
तिमीले भेटेपछि पनि मानिस एकान्तबासमा छन्
आफ्नै प्रियजनसँग छन् अभाव सहेर, दुनियाँसँग छुट्टिएर
घरभित्र संसार बनाउँदै,
शङ्का, धोका, अविश्वासले प्रेम पखालिन्छ
तर घाउ छोडेर जान्छ
कुनै चहराइरहन्छन्, कुनै नमेटिने खाटो मात्र बन्छन्
तिमी पनि त पखालिने नै छौ
तर कति गहिरा घाउहरु बन्ने होलान् ?
के प्रेम र भाइरस उस्तै हुन्छन् ?
अहँ, प्रेमले जिउन सिकाउँछ, तिमी मृत्यु लिएर आयौ
प्रेमले मिलन गराउँछ, तिमी वियोग लिएर आयौ ।

नियालेर हेर्छु तिम्रो चित्र
कुनै लिपिको प्रश्नवाचक चिह्न जस्तो देख्छु ,
सबै प्रश्न चिह्न हँसिया जस्तै हुनुपर्छ र ?
मानव सभ्यताको पछिल्तिरको प्रश्नवाचक चिह्न
हाम्रा अन्तिम उद्देश्य, लक्ष्य र सपना पछिल्तिरको प्रश्न चिह्न
मेरो पनि त सभ्यता छ, आस्था छ
मेरा उद्देश्य, लक्ष्य र सपनाहरु छन्
म आस्थाका मन्दिरहरु धाउन छोडेको छु
व्रतका तिथि र बारहरु भुल्न थालेको छु
म सामाजिक प्राणी पनि त रहिन
छिमेकीको मलामी जान डराएको छु,
मेरो उद्देश्य सत्ता, तिमीसँग हारिरहेको छ
मेरो लक्ष्य धन र वैभव, तिमीसँग हारिरहेको छ
मेरो सपना मान र प्रतिष्ठा, तिमीसँग हारिरहेको छ ।

तिम्रो कारण मान्छे लास बनिरहेछन्
मान्छे विधवा, विदुर र टुहुरा बन्दैछन्
काखहरु रित्तिदैछन्
युद्धमा पनि त यस्तै हुन्छ
धर्मका लागि, भूमिका लागि, वर्गका लागि, यौनका लागि
सबै युद्धमा यस्तै त हुन्छ ,
सबै युद्धमा निर्दोषहरु पनि मर्छन् तर
के सबै युद्ध गलत हुन्छन् र ?
समाजले, सभ्यताले जब मान्छेलाई ऐँठन गराउँछ
त्यहाँ विद्रोह हुन्छ, युद्ध हुन्छ, मान्छे मर्छन्
त्यसले परिवर्तन ल्याउँछ, रुपान्तरण हुन्छ
मरेकाहरुलाई सम्झँदै, बाँचेकाहरु उन्मुक्त सास फेर्छन्
के अहिले ऐँठन छैन ?
मान्छे निसास्सिएको छैन ?
कतै यी लासहरु सहिद त होइनन् ?
युद्ध रोक्नका लागि होइन, जित्नका लागि हो
कम क्षतिमा युद्ध जित्ने कुशल योद्धा हो
हामी जित्नेछौं यो युद्ध पनि
परिवर्तन हाम्रा अगाडि हुनेछ जहाँ,
सत्ता, पैसा र प्रतिष्ठा अन्तिम लक्ष्य हुनेछैन
सबैलाई उछिन्ने धावक पहिलो बन्ने छैन
हामी सँगै हिंड्नेछौं, सँगै दगुर्नेछौं
प्रेम र खुशी साझेदारी गर्नेछौं
आज एक्लिएर जितेको युद्धपछि
संसार मान्छे जातिको एउटा अँगालो बन्नेछ ।
(अर्जुनधारा, झापा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: