डाइलासिसमा हस्पिटलहरुको मनपरी

  प्रकाशित मिति
२३ कार्तिक २०७४, बिहीबार १४:०६


झापा । मृगौला पीडित नेपालीहरुका लागि सरकारले निःशुल्क डाइलासिसको व्यवस्था गरे पनि हस्पिटलहरुले मनलाग्दी शुल्क असुलिरहेका छन् ।

गत वर्षदेखि नै सरकारले तोकिएका सरकारी तथा निजी हस्पिटलहरुमा पीडितले निःशुल्क डाइलासिस उपचार सेवा पाउने व्यवस्था गरेको हो ।

सरकारले पीडितको उपचारमा लाग्ने खर्चको शोधभर्ना हस्पिटललाई गरिदिने समेत व्यवस्था गरेको छ ।
तर, हस्पिटलहरुले सरकारी निर्देशन विपरीत पच्चिस सयदेखि साढे आठ हजार रुपैयाँसम्म एकपटकको डाइलासिसमा असुलिरहेको पीडितहरुले बताएका छन् ।

मृगौला पीडित सरोकार समाज नेपालका केन्द्रीय सदस्य मसरुद्दिन अन्सारीले झापाको मेची अञ्चल अस्पतालमा २ हजार ५ सय रुपैयाँ, विर्तामोडको विर्तासिटी हस्पिटलमा ३ हजार ५ सय रुपैयाँ, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ हजार ५ सय रुपैयाँ, भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा ४ हजार रुपैयाँ, विराटनगरको नोवेल मेडिकल कलेजमा ५ हजार ५ सय रुपैयाँ र विराटनगरको गोल्डेन हस्पिटलमा ८ हजार ५ सय रुपैयाँ शुल्क लिइने गरिएको दावी गरेका छन् ।
झापा गाउँपालिका वडा नंं ४ निवासी अन्सारी आफै पनि मृगौला रोगबाट पीडित भएर विगत २ वर्षदेखि डाइलासिस गराइरहेका छन् ।

उनले काठमाडौँको भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र, विराटनगरको गोल्डेन हस्पिटल, विर्तामोडको विर्तासिटी र भद्रपुरको मेची अञ्चल अस्पतालमा विभिन्न समयमा डाइलासिस गराइसकेका छन् ।

मङ्गलवार विर्तामोडमा पत्रकार सम्मेलन गर्दै अन्सारीले सरकारले निःशुल्क भनिसकेको डाइलासिस उपचारमा हस्पिटलहरुले अबैध शुल्क लिने कार्य तत्काल रोक्नु पर्ने माग गरे ।

‘उपचार निःशुल्क भनिसकेको मात्र होइन, डाइलासिस सेवा दिए वापतको शुल्क हस्पिटलहरुलाई सरकारले तिरिदिन्छ’, मृगौला पीडित सरोकार समाजका केन्द्रीय सदस्य अन्सारी भन्छन्–‘यो त सरासर लुटतन्त्र भयो, शुल्क लिने कार्य सरकारले तत्काल रोक्नु पर्छ ।’

अन्सारीका अनुसार हस्पिटलहरुले सुरु सुरुमा डाइलासिस सेवा लिन आउने विरामीहरुलाई ठाउँ खाली नभएको र कागजपत्र मिलाउने प्रक्रिया बाँकी रहेको भन्ने बहानामा शुल्क लिने गरेका छन् ।

तर ३÷४ पटक शुल्क असुली गरिसकेपछि भने हस्पिटलहरुले निःशुल्क नै सेवा दिने गरेका छन् । हस्पिटलहरुले कर्मचारीहरुलाई ओभरटाइम दिनु परेको र मेसिन विग्रिएको समेत बताएर शुल्क लिने गरेको अन्सारी बताउँछन् ।

कर्मचारीहरुलाई ओभरटाइम सुविधा दिने र आन्तरिक व्यवस्थापन मिलाउने कार्य हस्पिटलको समस्या भएको जनाउँदै उनले यसमा मृगौला रोगबाट पीडित भएकाहरुलाई घानमा पिस्ने कार्य गर्न नहुने बताए । स्रोतका अनुसार हस्पिटलहरुले विरामीहरुसँग ‘इमर्जेन्सी सर्भिस’को नाममा शुल्क लिने गरेका छन् । डाइलाइजर र डाइलासिसमा लाग्ने औषधि समेत हस्पिटलहरुले पीडितलाई नै किनाउने गरेका छन् । झापामा एक हजार ३ सय जति मृगौलाका रोगी भएको र तीमध्ये ५ सय बढीले काठमाडौँमा उपचार गराइरहेको अन्सारीको दावी छ ।

सरकार भन्छ–‘शुल्क लिनेलाई कार्वाही हुन्छ’
विर्तामोड । स्वास्थ्य मन्त्री दिपक बोहोराले डाइलासिस सेवा पूर्ण निःशुल्क भएको बताएका छन् ।
उनले कुनै हस्पिटलले यस सेवामा पीडितसँग शुल्क लिएको भए अनुगमन गरिने र कार्वाही गरिने बताएका छन् ।

विर्तामोडमा मृगौला पीडित मसरुद्दिन अन्सारीले पत्रकार सम्मेलन गरेर हस्पिटलहरुले मनपरी शुल्क लिइरहेको गुनासो सुनाए पछि वीवीसीका पत्रकार उमाकान्त खनालसँगको टेलिफोन सम्पर्कमा मन्त्री बोहोराले त्यस्तो बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. एसके गिरीले समेत टेलिफोन कुराकानीमा डाइलासिस सेवामा हस्पिटलहरुले शुल्क लिन नपाउने बताए ।

सरकारीमा पहिलोपल्ट डाइलासिस सेवा

भद्रपुर । पछिल्लो समय सुधारोन्मुख मेची अञ्चल अस्पतालले ३ बेडको निःशुल्क हेमो डाइलासिस सेवा सुरु गरेको छ ।

तिन महिना अघिदेखि सञ्चालनमा ल्याइएको यो सेवा मृगौला रोगीहरुको रगत शुद्धिकरण गर्ने कार्य (डाइलासिस)मा प्रयोग हुन्छ ।

विर्तासिटी र ओमसाइ पाथिभरा हस्पिटलले यस अघिदेखि नै डाइलासिस सेवा सुरु गरेको भए पनि सरकारी हस्पिटलमा पहिलोपल्ट यस्तो महत्वपूर्ण उपचार सेवा सञ्चालनमा आएको हो ।

हस्पिटलमा जम्मा ४ वटा डाइलासिस मेसिन रहेका छन् । जसमध्ये ३ वटा सञ्चालनमा र एउटा व्याकअपमा राखिएको हेमो डाइलासिस वार्डकी इञ्चार्ज स्मृति पाण्डेले जानकारी दिइन् ।

सरकारी हस्पिटल भएकाले यहाँ डाइलासिस गराउन आउनेहरुको चाप बढ्न थालेको वार्ड इञ्चार्ज पाण्डे बताउँछिन् ।
हस्पिटललाई २ वटा मेसिन स्वास्थ्य मन्त्रालयले दिएको र थप २ वटा मेसिन आन्तरिक स्रोतबाट खरिद गरिएको बताइएको छ ।
कृत्रिम किड्नीको काम गर्ने डाइलाइजर र औषधि समेत हस्पिटलबाटै उपलब्ध गराइएको पाण्डेले बताइन् ।
शनिवारवाहेक हप्तामा ६ दिन डाइलासिस सेवा दिइदै आएको मेची अञ्चल अस्पतालमा सो सेवा सञ्चालनका लागि विद्युत व्याकअपको भने अभाव भएको पाइएको छ ।

चौविसै घण्टा विद्युत ब्याकअप चाहिने यस सेवाका लागि हस्पिटलमा जेनेरेटरको व्यवस्था छ । जेनेरेटर विग्रिएको अवस्थामा भने कुनै पनि बेला सेवा अवरुद्ध हुन सक्ने सम्भावना देखिएको छ ।

डाइलासिस सेवाका लागि २ जना नर्सिङ स्टाफ र एक जना प्राविधिक विकास गजमेरलाई खटाइएको छ । हस्पिटलको डाइलासिस सेवा राम्रो भएको सेवाग्राहीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: