झापा–१ मा गठबन्धन उम्मेद्वारका अनुकूलता

  प्रकाशित मिति
१२ मंसिर २०७४, मंगलवार १०:४०


नेपालको संविधान जारी भएको दुई वर्ष पूरा भएको छ । यस संविधानमा भएको निकै नयाँ र महत्वपूर्ण विषय संघीयता हो, जसको प्राप्तिको निम्ति जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन भए । नेपाली जनताले ऐतिहासिक योगदान र बलिदान गरे । नेपालको विकास र समृद्धिका निम्ति संघीयताको कार्यान्वयन कोशेढुंगा सावित हुनेछ । संघीयताका तीन तहमध्ये स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ, बाँकी प्रदेश र संघका निर्वाचनका कार्यक्रम सुरु भइसकेका छन् । त्यसैले आगामी आसन्न एउटा दिनको सूर्योदयसँगै नेपाल नयाँ युगमा प्रवेश गर्नेछ । त्यो दिनको पहिलो अनुभूति हुने ठाउँ सायद झापाको प्रतिनिधिसभा क्षेत्र नं.१ हुनेछ । अहिले यही क्षेत्रको निर्वाचनको प्रतिस्पर्धाबारे केही विषय सार्वजनिक हुँदै चर्चाको शिखरमा पुगेका छन् ।

यस क्षेत्रमा एमाले, माओवादी केन्द्र र राप्रपा संयुक्त गठबन्धनका साझा उम्मेद्वार एक पक्षबाट र नेपाली काङ्ग्रेसका उम्मेद्वार अर्को पक्षबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । जनताको चाहना अनुसार कम्युनिस्ट पार्टी एक भएर पहिलोपटक मतदातासमक्ष जाँदैछन् भने एक भएर आए भोट दिन सजिलो हुन्थ्यो भन्ने कम्युनिस्ट मनोविज्ञान अहिले एकजुट देखिएको छ । फेरी राजनीतिमा अंकगणितको नियम मात्र लागु हुँदैन । एमालेको दुई र माओवादीको दुई जोडेर चार मात्र हुँदैन, दुवैतर्फको उत्साहको निश्चित अंक थपिने पक्कापक्की छ । अझ राप्रपाको संख्यात्मक मत र मनोबल समेत जोडिँदा कुल मतबाट गठबन्धन थप लाभान्वित हुनेछ ।

इतिहास र काङ्ग्रेस
नेपालको इतिहासमा कुन–कुन राजनीतिक पार्टीले के–के गरे भन्ने विषयमा जनता जानकार छन् । तीन तीनपटक पूर्ण बहुमत ल्याएर नेपाली काङ्ग्रेसले के ग¥यो ? अल्पमत वा मिलिजुली सरकारको नेतृत्व गरेका कम्युनिस्ट पार्टीले के गरे भन्ने विषय दिनको घाम झैँ छर्लङ्ग छ । देशमा संविधानसभाको चुनाव सम्पन्न भयो । नयाँ संविधान बन्यो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व स्थापित भयो । देश विकास र समृद्धिको बाटोमा अघि बढ्दैछ तर आगामी दिनमा राजनीतिक पार्टीको भूमिका के हुने ? यो अहिलेको गम्भीर सवाल हो ।
विकास निर्माणको सन्दर्भमा प्रत्येक निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेद्वारलाई आश्वासन बाँड्न सिकाइन्छ । मतदाताले पनि अहिलेसम्म पत्याउँदै आएका छन् । यसको अभिमुखीकरण कस्तो हुँदैछ भने आश्वासन दिने हो तर काम गर्नु हुँदैन, पर्दैन । अथवा थोरै मात्र गर्ने हो । सबै विकास निर्माणका काम भइसके भने आगामी चुनावमा के गर्दिन्छु भनेर भोट माग्ने ? उदाहरणका लागि एउटा गाउँमा १० किमि बाटो बनाउनु छ भने त्यो बनिसक्यो भने के भनेर अर्को चुनावमा भोट माग्ने ? त्यसैले केही मात्र बनाउने वा बनाउँदै नबनाउने ताकी फेरी बाटो बनाइदिन्छु भनेर भोट मागिरहन पाइयोस् । अझ भोट किन्ने जसका लागि मतदाता गरिब हुनुपर्छ । यसका लागि सधैँभरि जनतालाई गरिबीको अवस्थामा राखिरहनु पर्छ । नेपाली काङ्ग्रेसको विकासको मोडालिटी यही हो । मानिसले इतिहासको गौरव गर्न पाउँछ, साथसाथै वर्तमान र भविष्यको कर्तव्यबाट भाग्न हुँदैन । त्यसैले यति प्रष्ट छ कि आगामी दिनका लागि जनता काङ्ग्रेस र काङ्ग्रेसका जनप्रतिनिधि चाहँदैनन् ।

काङ्ग्रेसको यस्तो अवस्था हुँदाहुँदै कोही असल व्यक्ति यसको तर्फबाट चुनावमा उम्मेद्वार बन्छ भने के आशा गर्न सकिन्छ ? के एकजना उम्मेद्वारले उक्त घेरा तोडेर त्यो ठाउँबाट माथि उठ्न सम्भव छ ? नेपालको अहिलेको राजनीतिक व्यवस्था अनुसार व्यक्तिगत क्षमताको आधारमा देश चल्छ कि पार्टीको राजनीतिक दूरदर्शिताबाट ? यी यावत् प्रश्नको जवाफ केलाउँदा काङ्ग्रेसको कुनै अमूक उम्मेद्वारको विशेष क्षमता र दुष्प्रचारले निर्वाचनको परिणाम हेरफेर गराउन सक्दैन ।

राणा शासनविरुद्ध सशस्त्र संघर्ष सञ्चालन गर्दा काङ्ग्रेसले मधेसी क्रान्तिकारी जनताबाट ठूलो सहयोग प्राप्त गरेको थियो तर २००७ को राजनीतिक परिवर्तनमा सम्झौतापरस्त नीतिका कारण बेइमानी भएको भनेर कुलानन्द झा र बलदेव दास यादवले विद्रोह गरी ‘नेपाल तराई काङ्ग्रेस’ निर्माण गरे । कम्युनिस्टको सशक्त भूमिकाबेगर काङ्ग्रेसले पुँजीवादी क्रान्तिको कार्यक्रम एक पाइलो अघि बढाउन सकेन । आज पनि काङ्ग्रेसका कोही उम्मेद्वार राष्ट्रिय पुँजीको निर्माणमा उदासिन देखिन्छन् । विदेशीका रहस्यमय संस्थामा उनीहरुको आबद्धता हुन्छ । राष्ट्रियताको सवालमा उनीहरु बेखबर छन् ।

सर्वमान्य नेता गणेशमान सिंहको बहिर्गमन र दुईपटक प्रधानमन्त्री भइसकेका नेता कृष्णप्रसाद भट्टराईको निष्कृयता जीवनको आखिरी दिनमा कसरी र किन काङ्ग्रेसले बेहोर्नुप¥यो ? भूमिसुधारको कार्यान्वयन गर्न खोज्दा जगन्नाथ आचार्यको हालत काङ्ग्रेसले के बनायो ? पछिल्लो समय तत्कालीन कोषाध्यक्ष महन्थ ठाकुरले पार्टी परित्याग गरी तमलोपा किन गठन गरे ? काङ्ग्रेसप्रति मधेशी जनताको विकर्षण किन ह्वात्तै बढ्यो ? यी सवालको जवाफ दिनको घाम झैँ छर्लङ्ग छ । त्यसैले एक योग्य व्यक्ति काङ्ग्रेसभित्र रह्यो भने उसले पार्टीबाट विदाइका दिन कुर्नु सिवाय केही बाँकी रहँदैन ।

विकासको कम्युनिस्ट मार्गचित्र
संयुक्त घोषणपत्रमा वाम गठबन्धनले मुख्यतः औद्योगिक क्रान्तिमार्फत् राष्ट्रिय पुँजी निर्माण गर्ने र वर्तमान अर्थव्यवस्थामा राज्यको भूमिका वृद्धि गर्ने नीति अघि सारेको छ । नवउदारवादको माध्यमबाट फैलिएको अनुत्पादक र उपभोक्तावादी पुँजीवादलाई विस्थापन गरी उत्पादकशील पुँजीको विकासलाई जोड दिइएको छ, जसमा सामाजिक न्याय प्राथमिकताका साथ समावेश गरिएको छ । आयातलाई क्रमशः प्रतिस्थापन गर्दै निर्यात प्रबर्धन गरिनेछ । ठूला पूर्वाधार निर्माण र राष्ट्रिय प्राथमिकताका योजनामा वैदेशिक सहयोग जुटाइनेछ । उर्जा, कृषि, सडक, पर्यटन र मानव संशाधनको विकासलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।

यसरी शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता, आवास, सामाजिक सुरक्षा जस्ता मौलिक अधिकारको सुनिश्चिततासँगै आगामी ५ वर्षभित्रमा विकासशील राष्ट्र र वि.सं. २०९९ सम्ममा समुन्नत राष्ट्र बनाउने लक्ष्य ठोस गरिएको छ । नेपालमा निरपेक्ष गरिबीको रेखामुनि अझै २१.८ प्रतिशत जनसंख्या छ, जसलाई शून्यमा झार्ने र दश वर्षभित्र कम्तिमा ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति आय पु¥याउने वामगठबन्धनको योजना छ । जबकी अहिले नेपालको प्रतिव्यक्ति आय करिब ८ सय अमेरिकी डलरको हाराहारीमा छ । आगामी निर्वाचनबाट वामपन्थीको बहुमतको सरकार निर्माण भएपछि पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ वर्षभित्र गरिने कामको योजनाबद्ध खाका घोषणापत्रमा पस्किएको छ । दीर्घकालीन लक्ष्यभित्र गठबन्धनको घोषणापत्रमा १० वर्षे योजना निर्माण गरिएका छन्, जसले वास्तविक रुपमा नेपालको मुहार फेर्ने विश्वास गर्न सकिन्छ ।
आगामी निर्वाचनमा सरकार वामपन्थीको बन्यो अनि एकजना बबुरो काङ्ग्रेस प्रतिनिधि कथम्कदाचित निर्वाचित भए भने साँच्चै झापा–१ पछि पर्नेछ । भूमिसुधार, सिँचाइ, विद्युतीकरण, यातायात पूर्वाधार, हवाइ तथा जलमार्ग, पर्यटन, उद्योग तथा खनिज, शिक्षा, स्वास्थ्य, मानव संशाधन, खेलकुद, प्राकृतिक सम्पदा, सहकारी, श्रम तथा रोजगार, सूचना प्रविधि, सुशासन, कल्याणकारी काम, साँस्कृतिक कार्य, उपभोक्ता हित, पुनर्निर्माण तथा विपत व्यवस्थापन, समावेशी विकास, सुरक्षा र छिमेकी राष्ट्रसँग सम्बन्धबारे काम गर्न संघीय र प्रादेशिक सरकारमा सहभागिता अनिवार्य छ । यसका लागि वामपन्थी गठबन्धनका उम्मेद्वारको विजय अपरिहार्य हुन्छ ।

स्थानीयताको सवाल
स्थानीय वा पर्यटक उम्मेद्वार भन्ने कृत्रिम बहस सिर्जना गरिँदैछ । एकातिर सूचना र प्रविधिको आजको युगमा विश्व एउटा गाउँमा रुपान्तरण हुँदैछ । दुनियाँका खबर छिनछिनमा अपडेट हुन्छन् र सामाजिक सञ्जाल एवम् सञ्चारमाध्यम मार्फत् सेकेण्डभित्र ब्यापक हुन्छन् । समस्याको समाधान पनि त्यहि गतिमा दिन सकिने अवस्था आउँदैछ । यस्तो समयमा को कहाँको भन्ने प्रश्नभन्दा कसरी मानव जातिको उन्नत चेतना सबैको हितमा प्रयोग गर्ने भन्ने हुन्छ । दोस्रो, नेता स्थानीय पनि हुन सक्छ । अझ राष्ट्रिय भए राम्रो र चेतना, क्षमता, दृष्टिकोणका आधारमा ऊ अन्तर्राष्ट्रियस्तरको भए सबैभन्दा राम्रो हुन्छ । तेस्रो, मानिसको जन्म आफ्नो नियन्त्रणमा हुँदैन । कुन घर, परिवार र ठाउँमा जन्मिने भन्ने इच्छा अनुसार हुन सक्दैन । सबै मानिस आफ्नो कर्म र कर्मथलोका लागि जवाफदेही हुनुपर्छ । यस आधारमा वामपन्थी गठबन्धनका कोही उम्मेद्वार बाहिरका छैनन् । झापा–१ लाई आफ्नो कर्मक्षेत्र बनाएर देश र जनताप्रतिको आफ्नो जिम्मेवारी पुरा गरिरहेका छन् । विगतका कमजोर र खराब जतिको अवगाल यिनलाई बोकाउनु तर्क होइन, कुतर्क हो । त्यसैले काङ्ग्रेसका उम्मेद्वारले झापा–१ मा जन्मिने निर्णय आमाको पेटबाटै गरेको भन्नु वा जन्मिनेबित्तिकै आफैँ ठम्ठम् हिँडेर यहाँ आएको जस्तो गर्नु अनौठो हुन्न, पत्याउनु चाहिँ आठौँ आश्चर्य हुनेछ । ढिलोचाँडो काङ्ग्रेसका अहिलेका सबै समकालीन नेताले थातथलो एक ठाउँबाट अर्को ठाउँमा सारेका छन् । त्यसैगरी वामपन्थी उम्मेद्वारले पनि यस क्षेत्रबाट चुनाव लड्ने निर्णय गरेको यस ठाउँको माया गरेर र माया पाएर नै हुनुपर्छ । आगामी दिनमा उनीहरु आफ्नो निर्वाचन क्षेत्रबाहिर बस्ने भन्ने सवालै आउँदैन । कम्तिमा यस आधारमा मतदाताहरु काङ्ग्रेस उम्मेद्वारतिर आकर्षित हुन्छन् भन्ने आशा र विश्वास गर्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: