जेसीजले दियो विद्यार्थीलाई व्यक्तित्व विकास तालिम

  प्रकाशित मिति
२३ चैत्र २०७४, शुक्रबार १२:५३


 मेचीनगर । दशरथ बाल क्लबकी सदस्य स्वीकृति सिग्देललाई अब जस्तोसुकै कार्यक्रम सञ्चालन गर्न सक्ने हिम्मत पलाएको छ । शहिद दशरथ चन्द मावि मेचीनगर–१३ चारआलीमा कक्षा ८ मा अध्ययनरत सिग्देलका लागि स्टेजमा गएर बोल्न अब सामान्य भएको छ । यसअघि पनि बाल क्लबमा रहेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भएपनि उनका लागि अबको यात्रा सहज बनेको हो । उनी भन्छिन्, ‘पहिले जति बोल्न सिकेको थिएँ, अब अझ आत्मविश्वास बढेको छ ।’

बालकल्याण माविकी गौरी गिरीका लागि पनि स्टेज कार्यक्रम चलाउन खासै गाह्रो थिएन । विगत ५ वर्षदेखि बालकल्याण बाल क्लबका विभिन्न पदमा रहेर उनले थुप्रै कार्यक्रम सञ्चालन गरेकी थिइन् । तर, पहिले जसरी सञ्चालन गर्थिन् त्यसमा शिक्षकले सहयोग गर्नु पथ्र्याे । तर, अबका दिनमा उनलाई कसैको सहयोग विनै कार्यक्रम सञ्चालन तथा संयोजन गर्न सक्ने आत्मविश्वास बढेको छ ।

स्वीकृति र गौरी मात्र होइन । उनीहरु जस्ता २८ जना विद्यार्थीका लागि कुनै पनि कार्यक्रम सञ्चालन तथा संयोजन गर्न सहज बनेको छ । उनीहरुलाई यो अवसर जुराइदिएको छ, मेचीनगर लेडी जेसीजले । लेडी जेसीजको आयोजनामा भइरहेको ५ दिने क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी भएपछि मेचीनगरमा क्रियाशील बाल क्लबहरुमा आबद्ध विद्यार्थीका लागि बाल क्लब सञ्चालन, कार्यक्रम सञ्चालन, संयोजन तथा आफ्ना कुरा अन्य व्यक्ति समक्ष राख्न सक्षम बनेका हुन् ।

विद्यार्थीको वार्षिक परीक्षा सकिएपछि उनीहरुको चाहना कतै घुम्न जाने अथवा मावल जाने हुन्छ । तर, ती सबै आकांक्षालाई त्यागेर उनीहरु यतिबेला तालिममा सहभागी भइरहेका छन् । जसले उनीहरुको क्षमता अभिबृद्धिमा थप सहयोग पुगेको छ ।

काँकरभिट्टा र बाहुनडाँगी स्रोत केन्द्रको संयोजनामा मेचीनगरका १४ वटा विद्यालयका २८ जना विद्यार्थी तालिममा सहभागी छन् । आदर्श माविमा रहेको काँकरभिट्टा स्रोत केन्द्रको सभाहलमा तालिमको आयोजना भइरहेको छ ।

‘यो छुट्टीमा मावल जाने तयारीमा थिएँ,’ बालकल्याण बाल क्लबकी सदस्य सलिना भुजेलले भनिन््, ‘तर हाम्रै लागि तालिमको आयोजना गरिएको हो भन्ने थाहा पाएपछि सहभागी भएकी छु । कहिले नजानेका कुरा सिक्ने अवसर पाएको छु । यहाँ सिकेका कुरा विद्यालयमा गएर अरु साथीलाई सिकाउन सक्छु भन्ने आत्मविश्वास समेत बढेको छ ।’

धुलाबारी माविमा रहेको धुलाबारी बाल क्लबकी अध्यक्ष चाँदनी खातुनले तालिमबाट आफ्नो जीवनमा ठूलो परिवर्तन आएको बताइन् । सानै उमेरमा राम्रो कार्यक्रम सञ्चालन गर्न सक्ने क्षमता भएकी चाँदनीले भन्छिन्, ‘पहिले जति जानिएको थियो त्यसैलाई नयाँ तरिकाले गर्न सक्ने क्षमता भएको छ । अरु बेला सानो कार्यक्रम गर्न पनि शिक्षकको साथ लिनुपर्ने बाध्यता हुन्थ्यो । तर, अब आफैँ गर्न सकिने भइएको छ ।’

शिशु साक्षर आधारभूत विद्यालयका हेमराज बराइलीले पहिले स्टेजमा गएर बोल्दा डर लाग्ने गरेको बताउँदै भने, ‘बोल्नका लागि पछि हट्नु हुँदो रहनेछ । जति बोल्ने बानी ग¥यो उति नै सहज हुने रहेछ ।’

नेपाल जेसीजका तालिम प्रशिक्षक भुवन राउतले सहभागी विद्यार्थीलाई सहजीकरण गरिरहेका छन् । यसो त विद्यार्थीका लागि सहज होस् भन्नका लागि लेडी जेसीका संस्थापक अध्यक्ष कविता शर्मा, पूर्व अध्यक्ष उषा श्रेष्ठ, टीका सुवेदी, निवर्तमान अध्यक्ष शोभा श्रेष्ठ, वर्तमान अध्यक्ष सुनिता पनेरुलगायत बोर्डमा रहेका सदस्यहरुले सहजीकरण गरिरहेका छन् ।

काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहालले जेसीजले विद्यार्थीका लागि तालिमको आयोजना गरेर हौसला थपिदिएको प्रतिक्रिया दिए । मानवीय सेवामा क्रियाशील जेसीज जस्तो संस्थाले विद्यार्थीको व्यक्तित्व विकास गराउन गरेको सहयोगप्रति स्रोत व्यक्ति दाहालले धन्यवाद दिदैँ सिङ्गो स्रोत केन्द्र र जेसीजबीचको सम्बन्ध थप प्रगाढ बनेको बताए

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: