म वडो गम्भीर छु यस प्रश्नको उत्तरको खोजीमा अहिले । यो एकता भनेको कोही अरुको होइन । यो लेख पढ्न थाल्नुभएका साथीहरुले अनुमान गरेकै एकताको कुरा हो । यो नेकपा (एमाले) र माओवादी केन्द्र बिचकै एकताको कुरा हो ।
२०७४ साल असोज १७ गते नेपालमा बिना बादल असिना वर्षेको दिन । नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले अचम्मको कुराको घोषण गरेको दिन । घोषणा गर्नगर्न लाग्दा त तिन वटै दलले सूर्य चिन्हमा चुनाव लड्ने र चुनावपछि पार्टी एक हुने भन्ने नै थियो । घोषणा गर्ने बेलामा भने सूर्य चिन्ह र हँसिया हतौडा चिन्हका बिचमा केके दिगमिग पलायो ! नेताहरुका निजी महत्त्वाकाङ्क्षा नभएको हुन्थ्यो, पुरानो आग्रह पूर्वाग्रहबाट मुक्त हुन्थे नेताहरु भने वा साँच्चै जनता र देशप्रति निष्ठापूर्वक समर्पित हुन्थे भने पहिल्यै वाम आन्दोलन अर्कै भैसकेको हुन्थ्यो, नेपाली जनताको यो अवस्था यस्तो रहँदैनथ्यो ।
कार्ल माक्र्सले साम्यवादी समाजको व्याख्या गर्दा एक ठाउँ भनेका छन्– “त्यस समाजमा सबै मानिसका आवश्यकता पूरा भैसकेका हुन्छन्, आवश्यकता पूरा भएका हुँदा कसैको शोषण गर्नु पर्ने, नाफा लिनु पर्ने नै हुँदैन । चोर्ने, ढाँट्ने, छल्ने मानिसका मनमा नै आउँदैन । बरु शारीरिक स्वास्थ्य कायम गर्ने अभ्यासका लागि आफैंआफैं केही श्रम गर्न मानिस लालायित हुन्छन् । अलिअलि गरेको त्यही श्रमबाट नै प्रविधिको विकासका कारण चाहिँदो उत्पादन भैहाल्छ ।” त्यसैले त्यतिबेला योग्यता अनुसारको काम दिएर हरेकलाई आवश्यकता अनुसार दाम दिन राज्य सक्षम हुन्छ । अहो ! कस्तो नैसर्गिक समाजको सृजनाको कल्पना !
तर जब चाउचेस्कु र उनकी पत्नीका आवश्यकता पढियो, जब मार्कोस र उनकी पत्नीका आवश्यकता पढियो त्यो कुरा चाहिँ साँचो ‘उटोपिया’ रहेछ भन्ने लाग्यो । अहिले म सम्झिन्छु– यस पल्टकै चुनावको बेलामा क.केपि ओली र क.प्रचण्डले धेरै चोटी दोहो¥याई दोहो¥याई भन्नुभयो– “म प्रधानमन्त्री पनि भैसकें, पार्टीको अध्यक्ष पनि भएकै छु, अब मलाई कुनै महत्त्वाकाङ्क्षा छैन ! अब एमाले र माओवादीलाई एकतावद्ध बनाउन सकियो भने, स्थीर सरकार बनाउन बहूमत प्राप्त भयो भने जनतालाई समृद्ध पार्न सकिन्छ, मलाई चाहिएको त्यही हो !” कति मोहक ! कति पत्यारिलो भनाइ छ त ! तर यसो भनिरहँदा शब्द मुखबाट बाहिरतिर भनिरहेको हुँदो रहेछ, बोल्ने मान्छेले केही सुनेकै हुँदैन, बोध गरेकै हुँदैन रहेछ जस्तो लाग्दैछ अहिले ।
यथार्थमा आज थाहा लाग्दैछ, समस्या कार्यकर्तामा छैन, जनतामा छैन, समर्थक शुभेच्छुकमा छैन, समस्या त्यहीं रहेछ, प्रधानमन्त्री पनि भैसकेका, पार्टीका अध्यक्ष पनि भैसकेका व्यक्तिहरुमै रहेछ । फेरि पनि अध्यक्ष हुनु पर्ने, फेरि पनि प्रधानमन्त्री हुनु पर्ने महत्त्वाकाङ्क्षा नै समस्या रहेछ । एक बेला गिरिजा प्रसाद कोइरालादेखि अचम्म लाग्थ्यो । उनी फेरि पनि दोहो¥याएर पार्टी अध्यक्ष हुन, फेरि पनि प्रधानमन्त्री हुन कोसिस गरिरहेको देख्ता यो कस्तो प्रवृत्ति हो भनेर खिन्नता जाग्थ्यो । सूर्य बहादुर थापा अन्तिमसम्म आफू जति जनाको पार्टी भए पनि पार्टी अध्यक्ष नछोड्न कोसिस गरिरहे ।
त्यसकारण यो रुढीगत संस्कृति, यो आत्मगत स्वार्थको परम्परा, यो चाउचेस्कू प्रवृत्ति हाम्रा शीर्ष नेताहरुमा पनि अत्यन्त जब्बर रुपमा बसेकै रहेछ । यही प्रवृत्तिले मुन्टो उठाएको कारण बैसाख ९ गते पार्टी एकीकरण हुन सकेन । बैसाख ९ गते पार्टी स्थापनाका दिन एकीकरणको घोषणा हुन्छ र छरौंला–घसौंला भनेर मुठीमा बोकेको अविर त्यस्सै जिल्लियो । त्यो जिल्लिएको अविरलाई मैले त अब थन्क्याई सकें । त्यो ९ गतेका दिन सभागृहमा जुन तुच्छतासाथ व्यानरमा विवाद देखाप¥यो त्यो पनि एकता हुन नदिने लक्षण हो ।
‘म नै श्रेष्ठ हुँ, म नै अग्लो हुँ’ भन्ने नितान्त व्यक्तिगत घमण्ड बोक्यो दुई जनाले भने त्यो दुई जना मिलेर यात्रा गर्न सक्तैन । शून्यसहनशीलता बोकेर एकता सम्भव छैन । मनभरि कलुष बोकेर एकता भइहाल्यो भने त्यो छिनभरमा टुट्छ । पहिले नै ‘पछि एकता टुट्छ !’ भनेर टुटेपछि बस्ने घर बनाएर गरिने एकताले नेपाली जनतालाई समृद्धि दिँदैन ।
त्यो बैसाख ९ गते नभएको एकता निकै पर गयो । रामचन्द्र पौडेलले ‘यो एमाले–माओवादीको एकता हुँदैन !’ भनेर पश्चिम पहाडको एउटा जिल्लामा गएर भनेथे । मलाई त बैसाख ९ गते त्यसको जवाफ कामैबाट मिलीहाल्छ भन्ने लागेको थियो । उनले जिते । एकता विरोधीहरुको राग उनले सुँघेका रहेछन् ।
अब माक्र्स जयन्ती या कुनै तिथिको कुरा नगरौं । संसारको कुनै जङ्गलमा नभएका बाघ यही नेपालका दलहरुमा रहेछन् । अनि ‘एउटै खोरमा दुई–दुई बाघ कहाँ अट्ने !’ अहिले एकता नभएपछि त अर्को चुनावमा जनताले यिनलाई स्याल बनाइ दिन्छन् । अनि त एउटै खोरमा दुईटा स्याल बस्न हुन्छ नि ! गणेशमान सिंहको भनाइ मलाई खुब राम्रो लाग्छ– दुईटा लङ्गडा मिलाउँदा एउटा सग्लो हुँदैन । दुईटा स्याल मिलाउँदा एउटा बाघ चाहिँ हुन्छ ? इस् !
अब एकता निकै पर सरेको छ । जोगी डर र भैंसी डर गर्दै गरिने सहयात्रा सुखद हुन्न । जनतालाई व्रmमशः निरास पारिँदैछ । चुनाव पूर्वका ती रङ्गीन भाषणहरु खुइलिँदैछन् । रङ खुइलिएका वाचाहरु लिएर फेरि जनतामा आउनु पर्दाको स्थितिको हेक्का चाहिँ राख है बाघहरु हो ! जनता कसैले सिन्दुर हालेका स्वास्नी होइनन् !
अब मैले कमसेकम प्रचण्डको महत्त्वाकाङ्क्षा पनि देखें, मैले एमालेभित्रको अहं पनि देखें । यस्तो जब्बर जनताको दबाब हुँदा पनि एकतामा घर्षण देखेर कमसेकम एकता हुन्छ भनेर म उत्साहित छुइन । त्यसैले मलाई कोही कसैले “एकता हुन्छ ?” भनी सोधेमा मेरो जिब्रो लक्पकाउन थालेको छ । नेताहरु सारै धेरै चोटी, चाहिने नचाहिने ठाउँमा “पार्टी एकता हुन्छ !” भन्दै छन् । किन भन्नु नपर्ने ठाउँमा पनि “पार्टी एकता हुन्छ !” भन्ने सुगा रटान गर्छन् ? यसले शङ्का पलाएको छ ।
प्रचण्डले एउटा अन्तर्वार्तामा भनेका छन्– “एकोहोरो भएर एकतामा मात्र लागेको छुइन ! एकता नहुँदाको अर्को विकल्प पनि मैले हेरेको छु । राजनीतिमा सबै ढोका खुला हुन्छन् ! असम्भव क्यै पनि हुन्न !” साँच्चै भन्ने हो भने कम्नीस्ट राजनीति होइन, बुर्जुवा राजनीतिमा चाहिँ प्रचण्ड माहिर खेलाडी हुन् । उनी पिपलको पात जस्तो फिरिक फिरिक जता पनि फर्किएर दुरुस्त हुन सिपालु छन् । यसरी पिपलपाते पारा एक हदसम्म सफल पनि हुन्छ । तर कम्नीस्ट राजनीति जस्तो वर्गीय मुक्तिको राजनीति भने यसबाट सम्भव हुन्न । प्रचण्ड जताबाट पनि आफू शिखरमा रहिरहन सिपालु छन् । शिखरमा बस्ने अनुकूलता नहुने हो भने अर्को जुनै पनि विकल्पमा उनी होमिन्छन् । यो यथार्थता भने बुझ्नै पर्छ ।
अब नेपालमा अहिलेका नेतृत्वको चालामाला हेर्दा, यही कार्यकाल वामपन्थीहरुको निर्णायक कार्यकाल हो । यिनीहरु मिले नै भने, स्थीर सरकार दिन सके नै भने र कमसेकम भ्रष्टाचार मुक्त त कुरै नगरौं, देखिने ठुला भ्रष्टाचार अदालत गएनन् नै भने अलिअलि भविष्य छ । नब्बे प्रतिशत कार्यकतालाई माक्र्सवादको ‘क ख’ थाहा नभएको अवस्थाले अब भविष्य लामो भने छैन । नाममा कम्नीस्ट छ, तर सारमा कम्नीस्ट नरहेका पार्टी भएका हुन् ।
यदि एकता हुन सकेन भने, एकता हुन नसकेको दिन अब शेरबहादुरजीले, रामचन्द्र पौडेलजीले भोज आयोजना गरे भैहाल्छ । नेपाली कांग्रेसले अहिले– “एमाले र माओवादी केन्द्र मिलेका कारण नै हाम्रो हार भएको हो” भनेर निक्र्योल गरेकै छन् ।
त्यसकारण मैले लेख्नु पर्दैन, अब एमाले र माओवादी केन्द्र नमिल्ने कारण सिँगुलै एउटा मात्र कारण छ, त्यो भनेको शीर्ष नेताहरुको नितान्त व्यक्तिगत महत्त्वाकाङ्क्षा । कुनै बाहिरी शक्ति देखाउनु पर्दैन, देशीविदेशी कसैलाई गाली गर्नु पर्दैन, सिरिप् त्यो प्रचण्डको महत्त्वाकाङ्क्षा, केपि ओलीको महत्त्वाकाङ्क्षा, माधव नेपाल–वामदेवको महत्त्वाकाङ्क्षा मात्रै हो । यिनीहरुले अब आफूलाई केन्द्रमा राखेर हेरे भने पार्टी एक हुँदैन नत्र हुन्छ ।
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाई अरुलाई दिनु जहाँ छ !
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
…………….