सताउला नि ‘बाघे मच्छड’ले

  प्रकाशित मिति
८ जेष्ठ २०७५, मंगलवार १०:०१


मेचीनगर । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल अफिसर जीवन चौलागाईले झापाको काँकरभिट्टा, विर्तामोड, अर्जुनधारा र दमकमा ‘बाघे मच्छड’ले उत्पात मच्चाउन सक्ने चेतावनी दिएका छन् ।

साउनदेखि पुससम्म ‘बाघे मच्छड’को गतिविधि बढ्ने भन्दै उनले जोखिम क्षेत्रका नगरपालिकाहरुलाई बेलैमा सतर्कता अपनाउन सचेत गराएका हुन् ।

घर भित्र र बाहिर जहाँ पनि पाइने यो ‘बाघे मच्छड’ले एक पटकमा २५० वटासम्म अण्डा पार्न सक्ने भएकाले यसको सन्तान बृद्धि अति तीब्र हुने उनको भनाई छ ।

खतरनाक डेङ्गु रोगको भाइरस सार्ने ‘बाघे मच्छड’ले पानीमा पारेको अण्डा, लार्भा र प्यूपामा समेत भाइरस सङ्क्रमण हुने जनाउँदै जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अफिसर चौलागाईले भने–‘सबैभन्दा डेन्जर कुरो के छ भने पानी सुके पनि बाघे मच्छडको अण्डा एक बर्षसम्म जीवितै रहन सक्छ ।’

के हो ‘बाघे मच्छड’ ?
आजसम्म कतै नसुनिएको नाम ‘बाघे मच्छड’ भन्नासाथ अनौठो लाग्न सक्छ । तर ‘बाघे मच्छड’ कुनै नौलो मच्छड नभएर डेङ्गु रोग फैलाउने ‘एडिस एजिप्टाई’ जातको मच्छडको नेपाली नाम हो ।

बाघको जस्तो जिउ टाटे पाङ्ग्रे भएका कारण यसलाई ‘बाघे मच्छड’ भनिएको जनस्वास्थ्यका भेक्टर कन्ट्रोल अफिसर चौलागाई बताउँछन् ।

‘एडिस एजिप्टाई’ उच्चारण गर्न सर्वसाधारणलाई असजिलो हुने भएकाले ‘बाघे मच्छड’ भन्नु नै राम्रो हुने उनी बताउँछन् ।

कहाँ बस्छ ‘बाघे मच्छड’ ?
सफा पानीमा बस्न र अण्डा पार्न मन पराउने ‘बाघे मच्छड’ घरभित्रको फ्रिज, एयर कुलर, गमला र छतको पानीट्याङ्कीमा रहने गरेको छ ।

घर बाहिर फालिएका टायर, बोतल, थोत्रा भाँडाकुँडामा जमेको पानीमा समेत ‘बाघे मच्छड’को अण्डा, लार्भा र प्यूपा हुर्किने गर्छ ।

घाम अस्ताउनुभन्दा एक घण्टा अघि र उदाउनुभन्दा एक घण्टा पछिदेखि सक्रिय हुने ‘बाघे मच्छड’ले घरभित्र मात्र मानिसलाई टोक्ने गर्दछ ।

सोफा र कुर्सीमा लुकेर बस्ने ‘बाघे मच्छड’को मानिस आउनासाथ टोक्ने बानी हुन्छ । सफा पानीको वातावरणमा ७ दिनमै अण्डाबाट मच्छड बन्ने ‘बाघे मच्छड’को आयू भने बढीमा ४५ दिन मात्र हुन्छ ।

झापामा ‘बाघे मच्छड’को प्रकोप
सन् २०१२ मा पहिलोपल्ट काँकरभिट्टाका विशाल गौतममा ‘बाघे मच्छड’ले टोकेका कारण डेङ्गु भाइरस सङ्क्रमण भएको थियो ।

डेङ्गु लागेको मानिसलाई टोकेपछि ‘बाघे मच्छड’ बाचुञ्जेलका लागि डेङ्गु भाइरसयुक्त हुन्छ । त्यसले पारेका अण्डा र हुर्किएका लार्भा र प्यूपा समेत भाइरसयुक्त हुन्छन् ।

काँकरभिट्टापछि विर्तामोड, दमक र अर्जुनधारामा यसको प्रकोप देखा परेको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार झापामा सन् २०१२ देखि सन् २०१७ सम्म क्रमशः ७७, २०२, १३, ८, ४२० र ५३५ ‘बाघे मच्छड’ले टोकेका कारण डेङ्गुका विरामी भएका छन् ।

सन् २०१५ मा २ र सन् २०१७ मा एक जना विरामीको डेङ्गुको कारण झापामा मृत्यु भएको तथ्याङ्क देखिन्छ ।
नियन्त्रणको अनेक उपाय भइरहे पनि झापामा ‘बाघे मच्छड’को प्रकोप बढ्दै गएकोमा जनस्वास्थ्य कार्यालय चिन्तित छ ।
‘सर्च एन्ड डिस्ट्रोइ’ नै अन्तिम उपाय

डेङ्गु नियन्त्रणको अन्तिम उपाय भनेकै ‘बाघे मच्छड’को नियन्त्रण हो ।
विज्ञहरुका अनुसार हालसम्म नियन्त्रणका लागि झुल टाग्ने, मालाथिन धुँवा फ्याँक्ने लगायतका ‘बाघे मच्छड’ नियन्त्रणमा प्रभावकारी बन्न सकेको छैन ।

विश्व स्वास्थ्य सङ्गठनले मालाथिनको विषाक्त धुँवा फ्याक्ने कार्यले ‘बाघे मच्छड’लाई भन्दा प्राणी जगतलाई बढी हानी गरेको निष्कर्ष निकालेको छ ।

‘बाघे मच्छड’को अण्डा खोजी खोजी नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय भएकाले विश्वभरि अहिले यसको अण्डा, लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियान चलाइने गरिएको छ ।

काँकरभिट्टा बढी जोखिममा
विज्ञहरु झापाको काँकरभिट्टा ‘बाघे मच्छड’को उच्च जोखिममा रहेको बताउँछन् । बढी होटलहरु हुनु, भारतबाट आउजाउ गर्नेहरु धेरै हुनु, पहिले पनि डेङ्गु भाइरस फैलिइसकेको हुनु लगायतका कारणले काँकरभिट्टालाई उच्च जोखिमको सूचीमा राखिएको जनस्वास्थ्यका अधिकृतहरु बताउँछन् ।

‘बाघे मच्छड’ले टोकेर काँकरभिट्टाका सयौलाई डेङ्गुको ज्वरो आइसकेको छ ।

मेयर भन्छन्–‘हामी सचेत छौँ’
जनस्वास्थ्य कार्यालयले सोमवार मेचीनगर नगरपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बिमल आचार्यले डेङ्गु सङ्क्रमण नफैलियोस् भनेर नगरपालिका सचेत रहेको बताएका छन् ।

रोग लाग्नुभन्दा पहिले रोगै लाग्न नसक्ने अवस्था सिर्जना गर्नेतिर सबैको ध्यान जानुपर्ने उनको धारणा थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्र«ोल अफिसर जीवन चौलागाईले डेङ्गु रोगका विषयमा विस्तृत जानकारी प्रस्तुत गरेको कार्यक्रममा नगर प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदीले मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नगरकी उपप्रमुख मीना उप्रेती, वडाध्यक्षहरु नविन बराल, सुदय पनेरु, हर्क बस्नेत, योगेन थापा, गोपाल खड्का, नगर कार्यपालिका सदस्य कुसुम चौधरी लगायतको उपस्थिति रहेको थियो ।

जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर बेदप्रसाद घिमिरेले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: