छोरी जन्माएमा १० हजार सुविधा

  प्रकाशित मिति
२५ जेष्ठ २०७५, शुक्रबार १०:२०


कनकाई । लिङ्ग पहिचानको आधारमा छोरी भए भ्रुण हत्या गर्नेको संख्या बढ्दै गएको अवस्थामा त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले कनकाई नगरपालिका वडा नम्बर–६ ले नयाँ कार्यको थालनी गरेको छ ।

वडा नम्बर–६ का अध्यक्ष लक्ष्मी ओलीले छोरीप्रति गरिने विभेदको अन्त्य गर्दै ‘छोरी पढाउ, बढाउ’ नीति अघि सारेर जिल्लामा नयाँ कार्यको थालनी गरेका हुन् ।

उनले यही २०७५ साल बैशाख १ गतेबाट छोरी जन्मिएमा आमाको नाममा १२ हजार रुपैयाँ बैंकमा जम्मा गर्ने वडाबाट निर्णय नै गरेका छन् ।

झण्डै डेढ महिना अघि सुरु गरिएको कार्यक्रममा वडाबाट सो सुविधा लिने अहिलेसम्म कोही नभए पनि ४÷५ जना भने वडामा गर्भवती रहेको अध्यक्ष ओलीले बताए ।

उनले छोरी जन्मिएमा वडाले १० हजार र सम्बन्धित अभिभावकले २ हजार गरी बैंकमा आमाको नाममा मुद्धति खाता खोलर १२ हजार जम्मा गरिने दिने निर्देशिका नै बनाएर काम अघि बढाएका छन् ।

अध्यक्ष ओलीले आफ्नो बैठक भत्ताबाट प्राप्त १० हजार रुपैयाँ, वडाका ४ जना सदस्यबाट दुई हजारका दरले र वडाको बजेटबाट ५० हजार छुट्याएर ६८ हजारको तत्काल कोष नै स्थापना गरेको बताए ।

सुत्केरी भएको ३५ दिनभित्रमा वडा कार्यालयमा आएर फर्म भर्नु पर्ने बताउँदै उनले भने–‘एउटा जन्मिएमा १० हजार र जुम्ल्याह छोरी जन्मिएमा १५ हजार रुपयाँ हामी प्रदान गर्छौ त्यसमा अभिभावकले एउटा भएमा दुई हजार र जुम्ल्याह भएमा ५ हजार थपेर मुद्धति खातामा जम्मा गर्नुपर्छ  ।’

खाता बच्चीकी आमाको नाममा खोलिने ओलीले बताए । उनले कुनै कारण बस बच्चीको मृत्यु भएमा पाँच बर्षपछि सो पैसा संरक्षकलाई बुझाइने बताए ।

उनले छोरी भएकै कारण पढाउन र बढाउन अभिभावकले भार ठान्ने हुँदा छोरी पढाउ बढाउ भन्ने निर्देशका नै वडाले बनाएको बताए । उनले छोरीलाई अभिभावकले अनिवार्य स्कूल पढाउनै पर्ने नियम रहेको समेत जानकारी दिए ।

अध्यक्ष ओलीले सो रकम बच्चीले एसइइ परीक्षामा सामेल भएपछि वा १५ बर्षपछि संरक्षक वा वडा कार्यालयको सिफारिसमा भुक्तानी गरिन जानकारी दिए । उनले आउँदो आर्थिक बर्षमा सो रकमलाई बढाएर लैजाने योजना समेत सुनाए ।

साथै कनकाई नगरपालिकाले पनि नगरका सुत्केरी महिलालाई ३ हजार रुपैयाँ बराबरको सुत्केरी पोषण सामग्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: