झापामा टिपरबाट जोगिनै गाह्रो

  प्रकाशित मिति
२२ असार २०७५, शुक्रबार ०९:३४


झापा । बालुवा, गिटीलगायतका भारी सामान बोक्दै आएको भीमकाय मालवाहक ‘टिपर’को ठक्करले ज्यान गुमाउनेको सङ्ख्या पछिल्लो समय झापामा ह्वात्तै बढेको छ ।

सवारी दुर्घटनाको मुख्य कारण बन्न थालेपछि टिपरको जथाभावी सञ्चालनलाई नियामक निकायले नियन्त्रण गर्नु पर्ने आवाज समेत उठेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रमुख राजेश राईका अनुसार वितेको एक वर्षमा झापामा टिपरको ठक्करबाट ११ जना सर्वसाधारणको मृत्यु भएको छ ।

टिपरले ठक्कर दिएपछि प्राय घटनास्थलमै मृत्यु हुने गरेको छ । टिपरसँगको दुर्घटनामा घाइते हुनेको सङ्ख्या न्यून छ । किनभने टिपरले ठोकाएपछि बाच्ने सम्भावना न्यून हुन्छ ।

धेरै भारी बोक्ने, ठूलो आकार र चालकको लापरवाहीले टिपरबाट हुने दुर्घटना सर्वसाधारणका लागि काल जस्तै बन्न पुगेको हो ।

एक साता अघि बुधवारेमा एक जना मोटरसाइकल चालकलाई टिपरले पछाडिको चक्कामा च्यापेर ५० मिटरसम्म घिस्याएर विभत्स ढङ्गले मार्यो । मृत्यु भएका व्यक्ति लक्ष्मण खतिवडा थिए ।

पछि भनियो–पछाडिको चक्कामा मोटरसाइकल ठोकिएको टिपर चालकले देखेनन् ।
यसै साता गौरादहको डिपुचोकमा टिपरले किचेर मोटरसाइकलमा सवार दुई किशोरको एकै थलोमा मृत्यु भयो ।
मृत्यु हुने किशोरहरु बाहुनडाँगीका नेल्सन भण्डारी (वर्ष २२) र गौरादहका विवेक बराल (वर्ष १८) थिए ।

त्यसबेला टिपरका चालकले भने–‘तीब्र रफ्तारमा मोटरसाइकल हुत्तिदै आयो, जोगाउन खोज्दा ठक्कर खाएर टिपर नै पल्टियो ।’ पल्टिएको टिपरले किचेर दुई किशोरको मृत्यु भएको थियो ।

नेपाली सडकहरुले थेग्नेभन्दा चार गुणा बढी मालसामान बोकेर गुड्ने गरेका टिपरको भीमकाय संरचना, ओभरलोड र चाहेको बेला ब्रेक लगाउन नसकिने अवस्था नै खतरनाक देखिन्छ ।

विज्ञहरुका अनुसार टिपरको ड्राइभर बस्ने सिट नै कतिसम्म ओझेलमा हुन्छ भने ड्राइभरले अगाडि र पछाडिको चक्का नजिक आइरहेको अन्य मोटरसाइकल, साइकल र पैदल यात्रीलाई सहज रुपमा देख्न सक्दैनन् ।
टिपरको यो बनावट नै मान्छे मार्ने मुख्य कारण हो । अधिक वजनदार र अधिक मालवाहक भएकाले टिपरलाई ड्राइभरले चाहेका बेला रोक्न सकेको देखिदैन ।

पछिल्लो समय टिपरसँग ठोकिनेमा मोटरसाइकल बढी सङ्ख्यामा छन् ।

झापाका प्रदेश सांसद गोपाल बुढाथोकीले सडकको क्षमताभन्दा बढी मालसामान बोकेर सडकमा गुड्ने टिपरका कारण ठूलो जनधनको क्षति भइरहेको घटनालाई प्रदेश नं. १ को संसदमा वहसको विषय बनाएका छन् ।

उनले हालै प्रदेश सभामा विशेष समय लिएर बोल्दै सडकको भारवहन क्षमताभन्दा बढी मालसामान बोकेर राजमार्ग र गाउँका सडकमा गुड्ने टिपरमाथि रोक लगाउनु पर्ने आवाज उठाए ।

‘सडकको भारवहन क्षमता १० टनको पनि छैनन्, तर टिपरहरु १८–२० टनको सामान नै बोकेर जथाभावी गुडिरहेका छन्’, प्रदेशका सांसद बुढाथोकीले भने–‘टिपरको आतङ्कका बारेमा संसद्मा ध्यानाकर्षण गराएको छु, केही कदम प्रदेश सरकारले अवश्य चाल्ने विश्वास लिएको छु ।’

सांसद बुढाथोकीले टिपरले ग्रामीण सडक, साना पुल र कल्भर्ट ढुट्याएर बर्बाद गरेको समेत गुनासो आएको बताए ।
सरकारले कुन सडक र राजमार्गको भारवहन क्षमता कति हो त्यो विचार गरेर मात्र मालवाहक टिपर, ट्रक र ट्याक्टरहरुलाई गुडाउने अनुमति दिने वा रोक लगाउने भन्ने विषयमा नियम बनाउनु पर्ने बुढाथोकीको धारणा छ ।
टिपरको लापरवाहीका कारण दुर्घटना बढेको र त्यसबाट मानवीय क्षति समेत अधिक भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रमुख राजेश राई स्वीकार गर्दछन् ।

तर उनी राजमार्गमा रोक लगाउन भने नसकिने बाध्यता सुनाउँछन् । मोफसलमा जम्मा एउटा राजमार्ग भएकाले त्यसमा रोक लगाउन कठिन हुने उनको धारणा छ ।

‘भ्यालीमा टिपरलाई गुड्ने समय बेग्लै तोक्न सकिएला, किनकि त्यहाँ जस्तो मधेशमा सडकको सङ्ख्या थोरै छ’, राई भन्छन्–‘हामीले टिपरका चालक, टिपरका मालिक र मोटरसाइकल चलाउनेहरुलाई सतर्कता अपनाएर सवारी हाँक्न अनुरोध गरिरहेका छौँ ।’

पछिल्लो समयमा अभिभावकहरुले १६ वर्ष मुनिका लाइसेन्स नभएका किशोरहरुलाई मोटरसाइकल कुदाउन दिदा दुर्घटना बढेको उनले बताए ।

गौरादहमा टिपरसँग ठोकिएको मोटरसाइकलमा ३ जना कलिला किशोरहरु चढेको पाइएको राईले बताए ।
सरकारले १८ वर्षमुनिकालाई लाइट गाडी, १६ वर्ष मुनिकालाई मोटरसाइकल र २२ वर्ष मुनिकालाई ठूला गाडी कुदाउने लाइसेन्स दिदैन ।

तर लाइसेन्स विनै सवारी चलाउने र त्यसलाई प्रहरीले कडाइका साथ नरोक्ने गरेकाले दुर्घटनाको जोखिम बढिरहेको छ ।
ट्राफिक प्रहरीले आफुसँग पर्याप्त जनशक्ति, आधुनिक प्रविधि र साधन नभएका कारण सोचेजस्तो नियमनकारी गतिविधि सञ्चालन गर्न नसकेको बताउने गरेको छ ।

दुर्घटना बढेसँगै केही दिन यता जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजमार्गका विभिन्न स्थानमा गतिमापक यन्त्र (र्याडर गन) प्रयोग गर्ने र आकस्मिक चेकजाँच गर्ने कार्यलाई तीब्रता दिइरहेको छ ।

सहारा नेपालले ट्राफिक प्रहरीलाई र्याडर गन सहयोग गर्ने भएको छ । यसले पनि प्रहरीलाई आधुनिक प्रविधियुक्त बनाउन सहयोग पुग्ने देखिन्छ ।

मोटरसाइकलमा दुर्घटना भई मृत्यु हुनेहरुमा अधिकांश कम उमेरका भएको र तिनीहरुले हेल्मेट नलगाएको पाइएको प्रहरीको भनाई छ । हेल्मेट यात्रुको आफ्नै जीवन सुरक्षाका लागि हो भनेर नबुझिदिदा दुर्घटना हुँदा ज्यान जाने गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: