धनकिरण बेलायतमा मेयरको उम्मेद्वार बन्दै

  प्रकाशित मिति
२२ माघ २०७५, मंगलवार ०९:५३


मेचीनगर । बेलायतका प्रथम नेपाली काउन्सिलर धनकिरण गुरुङ आउँदो चुनावमा मेयरको उम्मेद्वार बन्ने भएका छन् ।

गोर्खा सैनिकबाट बेलायतसँग सम्बन्ध जोडेका उनी बेलायतको फक्सटन सिटी (नगरपालिका)मा मेयरको उम्मेद्वार बन्न लागेका हुन् ।
आउँदो मे ३ तारिखमा बेलायतमा नगरपालिकाको चुनाव हुँदैछ । सत्तारुढ कन्जरभेटिभ पार्टीले उनलाई मेयरको उम्मेद्वार बनाउने भएको हो ।
सोही नगरमा सन् २००७ निर्वाचित भएर २०११ सम्म उनी काउन्सिलर पदमा थिए ।

गोर्खा सैनिकको मानव अधिकार र आवासीय अधिकारका लागि लामो समय आन्दोलनको अगुवाई गरेका कारण उनी बेलायतमा चर्चित छन् ।
मेचीनगर–६ काँकरभिट्टाको पुरानो भन्सार निवासी गुरुङले काँकरभिट्टामा माध्यमिक विद्यालयबाट माध्यमिक तहको अध्ययन पूरा गरेका हुन् ।
सन् १९८७ मा बेलायती सेनामा भर्ती भएका उनी २००४ सम्म कार्यरत थिए ।

काँकरभिट्टास्थित आफ्नै निवासमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले मेयरमा चुनाव लड्न लागेको खुलासा गरे ।

पत्रकार सम्मेलन खासमा फागुन ३ गते काँकरभिट्टामा हुने च्यारिटी साङ्गीतिक कन्सर्टका बारेमा जानकारी दिन आयोजना गरिएको थियो ।
पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो राजनीतिक जीवन र मेयरको उम्मेद्वारीका बारेमा समेत नयाँ जानकारी दिएका हुन् ।
………….
साङ्गीतिक अवतारमा फागुन ३ गते
काँकरभिट्टा । बेलायतको फक्सटन सिटीका पूर्व काउन्सिलर धनकिरण गुरुङलाई आगामी फागुन ३ गते काँकरभिट्टामा साङ्गीतिक अवतारमा देख्न पाइने भएको छ ।

मेचीनगर–६ काँकरभिट्टा घर भएका उनी बेलायतमा काउन्सिलर निर्वाचित हुने प्रथम नेपाली हुन् ।

बेलायती गोर्खा सैनिकको अठार बर्षे जीवन गुजारेका उनलाई काउन्सिलर बनेपछि राजनीतिक अवतारमा देख्न पाइएको थियो ।
फौजी र राजनीतिक अवतारपछि अब उनलाई साङ्गीतिक अवतारमा देख्न पाइने भएको छ ।

द गोर्खा मेमोरियल फाउन्डेसन नेपाल र काँकरभिट्टा भेट्रान फुटबल क्लवको संयुक्त आयोजनामा फागुन ३ गते ‘धनकिरण गुरुङ, गोर्खा साङ्गीतिक साँझ’ हुन लागेको हो ।

कार्यक्रममा पूर्व काउन्सिलर गुरुङले आफै गिटार बजाउने छन् र आफ्नो सुमधुर स्वरले नेपाली सङ्गीतप्रेमीहरुलाई फ्यान बनाउने छन् ।
कार्यक्रम काँकरभिट्टा मावि मैदानमा साँझपख हुने छ । प्रवेशका लागि रु. १०००÷–, ५००÷– र १००÷– दरको टिकट लाग्ने आयोजकले जानकारी दिएका छन् ।

कन्सर्टमा भाग लिन धनकिरण बेलायतबाट झापा आइसकेका छन् । सोमवार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी कन्सर्ट बारेमा उनले जानकारी दिए ।

उनले कन्सर्टबाट सङ्कलन हुने सम्पूर्ण रकम स्थानीय क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकुद र विपत व्यवस्थापनका निम्ति प्रदान गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा युवाहरुकी ढुकढुकी एवम् चर्चित गायिका मेलिना राई र लोकप्रिय हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेल समेत आउने छन् ।
………………….
अम्बरबाट सिकेका थिए सङ्गीत
मेचीनगर । धनकिरण गुरुङ साङ्गीतिक क्षेत्रमा नयाँ नाम भने होइन ।

हाल बेलायतको चर्चित ‘द हिमालयन दोस्रो व्यान्ड’मा आवद्ध उनी बेलायती फौजमा भर्ती हुनु अघि नै साङ्गीतिक क्षेत्रमा होमिइसकेका थिए ।
सङ्गीत सम्राट स्व. अम्बर गुरुङबाट सङ्गीत सिकेका उनी अरुण थापा, टिका भण्डारी लगायतका चर्चित गायकहरुको समकालीन साथी हुन् ।

रेडियो नेपालमा स्वर र सङ्गीत भरिसकेका उनी गोर्खा सैनिकमा कार्यरत हुँदा समेत आफ्नो प्रतिभालाई जीवित राख्न सफल भएका थिए ।
हाल सातौं साङ्गीतिक एल्वम ‘यात्रा’ निकाल्दै गरेका उनले सो एल्बमको विक्रीबाट आउने सबै रकम सामाजिक क्षेत्रमा लगाउने घोषणा गरिसकेका छन् ।

भारतीय प्रखर सङ्गीतकार बप्पी लहरीसँग सिलगढीमा संयुक्त कन्सर्ट गर्दा उनले गिटार बादन गरेर चर्चा कमाएका थिए ।
‘म जुन माटोमा जन्मे, हुर्किए र सङ्गीत सिके’, पत्रकार सम्मेलनमा उने भावुक हुँदै भने–‘त्यो भुलेको छैन भनेर फागुन ३ गते कन्सर्टमा आउन लागेको हुँ ।’

सन् १९८७ मा उनले गाएको ‘डाँडापारिको त्यो गाउँमा जाउँजाउँ मन लाग्छ’ बोलको गीत खुबै चर्चित भएको थियो । स्वदेश र विदेश दुबैतिर बराबर लोकप्रिय बन्दै गएका धनकिरणको साङ्गीतिक कन्सर्ट ऐतिहासिक हुने र त्यसलाई सफल बनाउन द गोर्खा मेमोरियल फाउन्डेसन नेपालका अध्यक्ष नगेन्द्र गुरुङले आह्वान गरेका छन् ।

पत्रकार सम्मेलनमा काँकरभिट्टा भेट्रान क्लवका अध्यक्ष गङ्गालाल गुरुङ, जगत गुरुङ, मीन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

https://www.facebook.com/loktantrapost/videos/609678182819704/
………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: