दुर्घटनाको अर्को कारण ‘लापसे’

  प्रकाशित मिति
१६ चैत्र २०७५, शनिबार १४:५०


अर्जुन कार्की

झापा । सवारी दुर्घटनाका विभिन्न कारण मध्ये लागु पदार्थ सेवन (लापसे) पनि रहेको देखिएको छ । मादक पदार्थ सेवन, तीव्र गति त सवारी दुर्घटनाको कारण थियो नै । तर, अहिले लागु पदार्थ सेवन पनि मुख्य कारण हुन सक्ने रहस्य बाहिर आएको हो । एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख तथा एसपी रवि पौडेलले सवारी दुर्घटनाको मुख्य कारण मादक पदार्थ सेवन (मापसे) भए पनि यसमा केही मात्रामा लागुपदार्थ सेवनले (लापसे) पनि सहायक भूमिका खेलेको हुन सक्ने बताए ।

ट्राफिक प्रहरी उपरीक्षक पौडेलका अनुसार सडक दुर्घटनामा मापसे त मुख्य कारण हो नै त्यसको सहायकको रुपमा लापसेले महत्वपूर्ण भूमिका खेलेकोे छ । २ नम्बर प्रदेशमा लापसे अभियान चलाए पनि एक नम्बर प्रदेशमा यो अभियान सुरु नगरेको एसपी पौडेलले जानकारी दिए । लापसे चेकिङ अभियान निकट भविष्यमा यहाँ पनि सुरु गरिने उनले बताए ।

‘सवारी चालकलाई लापसे चेकिङ गर्दा त्यसको उपकरणमा ठुलो धनराशी खर्च हुन्छ,’ एसपी पौडेलले भने, ‘त्यो अहिले तत्काल सम्भव छैन । तर, अब यो प्रविधि चाँडै एक नम्बर प्रदेशमा भित्र्याएर लापसे अभियान चलाउछौँ ।’

‘सवारी चालकले रक्सी खाएर तीव्र गतिमा गाडी कुदाउँदा दुर्घटना भएको घटना थुप्रै घटनाहरु छन्,’ एसपी पौडेलले थपे, ‘ड्रग्स खाएर गाडी कुदाउन थालेको अहिले सुन्नमा आउन थालेको छ । त्यस सम्बन्धी पनि अब तत्काल स्वास्थ्य परीक्षण गरिने प्रक्रिया सुरु गर्नेछौँ ।’

एसपी पौडेलले ८५ प्रतिशत सवारी दुर्घटना चालकको लापरवाहीले हुने गरेको बताए । उनले साँघुरो सडक दुर्घटनाको कारण नभएको दाबी गरे । उनले सडक छेउमा वन क्षेत्र यो हो, यहाँ मठ मन्दिर छ, विद्यालय छ, यहाँ बम्पर छ, यहाँ जेव्राक्रस छ भन्ने सङ्केत दिएको हुन्छ र पनि त्यस्तो ठाउँमा दुर्घटना हुनु भनेको चालकको लापरवाही बाहेक केही हुनै नसक्ने दाबी गरे ।

चालकले गाडी कुदाउँदा मादक पदार्थ तथा लागुऔषध नखाए, मोवाइलमा गफ नगरे, सिटको बेल्ट बाँध्ने, हेल्मेट लगाउने, क्षमताभन्दा बढी यात्रु नबोक्ने, ओभरटेक नगर्ने र सही तरिकाले सवारी साधन कुदाए ७५ प्रतिशत सवारी दुर्घटना कम हुने एसपी पौडेलको भनाई छ ।

एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही चैत १२ गतेसम्म सवारी दुर्घटनामा २ सय ४१ जनाको ज्यान गइसकेको छ । ९ सय १ दुर्घटनामा ६ सय ३८ गम्भीर र ९ सय ८० सामान्य घाइते भएका छन् । त्यस्तै, छाडा चौपाया ९ वटा मरेको र एउटा चौपाया घाइते भएको प्रहरीले जनाएको छ ।

गतवर्ष ८ सय ८९ सवारी दुर्घटनामा २ सय ९७ जनाको ज्यान गएको थियो । त्यसमा ६ सय ६३ गम्भीर घाइते र ७ सय ९ जना सामान्य घाइते भएका थिए । त्यस्तै, छाडा चौपाया ३ वटा मरेको र ५ वटा चौपाया घाइते भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यता, झापामा अहिलेसम्म लागुऔषध सेवन गरेर सवारी साधन चलाएको थाहा नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी निरीक्षक होम अधिकारीले बताए । मादक पदार्थ सेवन गरेर गाडी कुदाएकोलाई पक्राउ गरी कारवाही गरिएको उनले जानकारी दिए । उनले झापामा ८० प्रतिशतले मादक पदार्थ सेवन गरेर गाडी कुदाउने गरेको दाबी गरे ।

कलेज जाने छोराछोरीलाई उमेरै नपुगी अभिभावकले मोटरसाइकल किनिदिनुु, व्यस्त सडकमा तीब्र गतिमा सवारी चलाउनु पनि दुर्घटना बढ्नुको कारण बनेको ट्राफिक प्रहरीको बुझाई छ । ट्राफिकले दुर्घटना न्युनीकरण गर्न स्कूल तथा कलेजमा सचेतनाका कार्यक्रम चलाइरहँदा पनि दुर्घटनामा भने कमी आउन सकेको छैन ।

मादक पदार्थ सेवनदेखि लिएर सवारी चालक अनुमति पत्रसमेत नलिई सवारी चलाउँदा अधिकांश दुर्घटना हुने गरेको छ । दुर्घटना न्युनीकरणकै लागि ट्राफिक प्रहरीले दिनहुँजसो चेकजाँचमा समेत कडाइ गरिरहेको छ । तर, दुर्घटना घट्नुको साटो झन् बढिरहेको छ । चालकले रक्सी खाएर जथाभावी सवारी साधन चलाएको कारण दुर्घटनाको जोखिम बढेको ठहर गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयले मापसे चेकिङलाई तिब्रता दिइरहेको छ ।

विभिन्न सङ्घ संस्थाहरुले ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा चालक र विद्यालयमा गएर विद्यार्थीहरुको आँखा जाँच र जनचेतना गर्दै न्यूनीकरण र निराकरणका लागि महाअभियान नै चलाए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

कार्यालयले चालु आर्थिक वर्षको चैत दोस्रो हप्तासम्ममा जिल्लामा मादक पदार्थ सेवन गरेर गाडी कुदाउने १ हजार ७ सय ९५ जनालाई कारवाही गरेको छ । गतवर्र्ष १ हजार ४ सय ९० जना सवारी चालकलाई कारवाही गरेको थियो ।

ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही चैत १३ गतेसम्म सवारी दुर्घटनामा ५९ जनाको ज्यान गइसकेको छ । मृत्यु हुनेमा पुरुष ४८, महिला ६, बालिका २ र बालक एक जना छन् । १ सय ५० दुर्घटनामा २ सय १८ घाइते भएका छन् ।
गतवर्ष १ सय ७९ सवारी दुर्घटनामा १ सय ५ जनाको ज्यान गइसकेको छ । मृत्यु हुनेमा पुरुष ८२, महिला १६, बालिका ६ र बालक एक जना छन् । त्यसमा २ सय ९ जना घाइते भएको कार्यालयले जनाएको छ ।

राजस्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गतवर्ष ६४ हजार ५ सय ८ वटा सवारी साधानलाई कारवाही गर्दा ४ करोड ६१ लाख ४५ हजार ५ सय ४ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यस वर्षको यही चैत १३ गतेसम्म २ करोड ७२ लाख ७३ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

रक्सीको कारोबार
आन्तरिक राजस्व कार्यालय भद्रपुरका अनुसार झापामा चालु आर्थिक वर्षको साउनदेखि चैत १३ गतेसम्ममा ११ करोड १७ लाख ६७ हजार ७ सय ४३ रुपैयाँको रक्सीको कारोबार भएको छ । गतवर्ष १८ करोड ८२ लाख ६४ हजार ५ सय ३३ रुपैयाँ ६६ पैसाको रक्सीको कारोबार भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकृत प्रकाश राईले जानकारी दिए ।

लागुऔषधमा पक्राउ
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारवर्ष यता लागुऔषध सेवन र कारोबारी गर्ने ४३० जनालाई पक्राउ गरी जिल्ला अदालतमा मुद्वा दर्ता गरिएको छ । आव २०७२–७३ मा ११५ जना, २०७३–७४ मा १०३ जना, २०७४–७५ मा १२६ जना र चालु आर्थिक वर्ष २०७५–७६ सालको चैत दोस्रो हप्तासम्ममा ८६ जना लागुऔषध सेवनकर्ता र कारोबारीलाई पक्राउ गरी कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

स्मार्ट लाइसेन्स वितरण
यातायात व्यवस्था कार्यालय मेची बिर्तामोडका अनुसार २०७४–७५ र २०७५–७६ सालमा करिव ३० हजार सवारी साधान अनुमति पत्र (स्मार्ट लाइसेन्स) केन्द्रबाट आएको जनाइएको छ । गत साउनदेखि स्मार्ट लाइसेन्स दिन थालेको भए पनि मेचीमा कात्तिक महिनाबाट मात्र वितरण गर्न थालिएको कार्यालयले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय मेची बिर्तामोडका निमित्त प्रमुख राम फुयालले केन्द्रबाट २९ हजार ४ सय ९५ वटा स्मार्र्ट लाइसेन्स आएकोमा हालसम्म १५ हजार ४ सय ९५ वटा मात्र वितरण गरिएको बताए । अन्य स्मार्ट लाइसेन्स केन्द्रबाट आउने र बाँकी लाइसेन्स वितरण गर्ने प्रक्रियामा रहेको फुयालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: