सामाजिक रुपान्तरणमा सहकारी

  प्रकाशित मिति
२० चैत्र २०७२, शनिबार ०५:१२


sahakari-225x145सामान्यतः सहकारी शब्दले सहकार्य भन्ने कुरालाई सम्बोधन गर्दछ । अर्को शब्दमा भन्नुपर्दा मिलेर काम गर्नु नै सहकारी हो भन्ने बुझिन्छ । यसमा खास गरेर समान उद्देश्य, पेशा, व्यवसाय र वर्गका मानिस सँगसँगै मिलेर आफ्नो आर्थिक तथा सामाजिक विकास गर्ने गर्दछन् । एउटा अविच्छिन्न उत्तराधिकारवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशील व्यावसायिक सङ्गठन नै सहकारी हो । सहकारी निश्चित व्यावसायिक उद्देश्यका लागि गठन हुने हुँदा एउटा यस्तो उद्यम पनि हो, जसले सदस्यलाई सेवा प्रदान गदर्छ । सहकारी समुदायमा बसोबास गर्ने मानिसको अभियान हो । यो पुँजीवाद र शोषणबाट मुक्तिका लागि आमजनताको संयुक्त प्रयास पनि हो, जुन एकका लागि नभएर सबैका लागि हुने गर्दछ ।

सहकारी सबैका लागि खुल्ला हुने हुँदा हरेक नागरिकले यसको सदस्य बनेर योगदान गर्न एवम् वितरित सेवा ग्रहण गर्न सक्दछन् । यो समुदायमा आधारित, सदस्य केन्द्रित र सहकारीको मूल्य, मान्यता, सिद्धान्त र मर्म अनुरुप सञ्चालन हुनुपर्छ ।
अन्तर्राष्ट्रिय सहकारी महासङ्घले बेलायतको मेनचेस्टरमा सन् १९९५ को सेप्टेम्बरमा भएको महासभाबाट सहकारीलाई यसरी व्याख्या गरेको पाइन्छ – ‘सहकारी त्यस्ता व्यक्तिको स्वायत्त सङ्गठन हो, जो स्वेच्छिक रूपमा एकजुट भई आफ्ना समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता र आकांक्षाको परिपूर्ति संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रूपमा नियन्त्रित व्यवसाय मार्फत गर्न चाहन्छन् ।’
नेपालको परिप्रेक्ष्यमा हेर्दा परम्परागत रूपमा गुठी, धर्मभकारी, पर्मजस्ता कार्यबाट सँगै बसेर काम गर्ने वा सहकार्य गर्ने भावनाको विकास भएको पाइन्छ । त्यही सहकार्यको भावनाकै व्यवस्थित रुप नै सहकारी हो । सहकार्यको भावनाले कार्य गर्दा आपसी सद्भाव बढ्नुका साथै अवसरमा पनि समान अधिकार स्थापित हुने हुँदा सहकारिताको विकासले तीव्र गतिमा फड्को मारेको छ । अर्को शब्दमा भन्ने हो भने नेपाल र नेपालीको वर्तमान देखि भविष्यको समेत आवश्यकता हो, सहकारी ।

मूलतः विसं. २०१० सालमा सहकारी विभागको स्थापना भएपछि नेपालमा सहकारीको विकासको आधिकारिक सुरूआत भएको हो । सुरूका दिनहरूमा सहकारी संस्थाहरू राज्य नियन्त्रित र निर्देशित रूपमा सञ्चालित भएको पाइन्छ । त्यसैले यस क्षेत्रले भनेजस्तो सफलता पाउन सकेन । प्रजातन्त्रको पुनर्वाहली सँगै अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई आत्मसात गरी सहकारी ऐन २०४८ लागू भयो । त्यस ऐनमा ‘देशका कृषक, कालीगढ, कम पुँजीवाल र निम्न आयवर्ग, श्रमिक भूमिहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकासका लागि पारस्परिक सहयोग र सहकारिताको आधारमा विभिन्न किसिमका सहकारी सङ्घ संस्थाहरूको गठन र सञ्चालन गर्न सक्ने छन्’ भनी उल्लेख गरिएको पाइन्छ । नेपालमा सहकारीको आवश्यकतालाई सरकारी निकायले उच्च मूल्याङ्कन गरेको बुझिन्छ । सोही सहकारी ऐनको मर्मअनुसार बनेको सहकारी नियमावली २०४९ लागू भएपछि भने सहकारी सङ्घ संस्थाले निर्वाध कार्य सञ्चालन गर्न सकेको देखिन्छ ।

सरकारी तथ्याङ्क अनुसार नेपालमा आजका दिनसम्म करिब ३३ हजार सहकारी संस्थाले कारोबार गरिरहेका छन् । त्यसैले पनि नेपालको आर्थिक विकासमा सहकारी संस्थाको प्रत्यक्ष सहभागिताको आभास हुन थालेको छ । स–सना पुँजी जो कहिले पनि एक ठाउँमा समेटिएर ठोस र दिगो काम गर्न सक्ने अवस्था थिएन । सहकारी संस्थाको गतिशीलताकै कारण आज साना भनिएका पुँजीको रुपान्तरण भई समाजले देखिने गरीको पुँजीका रुपमा निर्माण भइरहेका छन् । ठुला सहर र राजधानी केन्द्रित हाम्रो जस्तो मुलुकमा पछिल्ला वर्षमा दूरदराजका गाउँमा पनि सहकारीको माध्यमबाट राज्यले सम्पन्न गर्न नसकिरहेको काम स्थानीय रुपमा नै पुँजी निर्माण गरी सम्पन्न भइरहेका छन् । झापामा सहकारी संस्थाको सङ्ख्या ८ सय ५४ पुगिसकेको छ । आलोचकहरू सङ्ख्यात्मक रुपमा मात्र सहकारीको विकास भएको आरोप लगाउँछन् । तर, झापा लगायत देशैभर कृषि क्षेत्रको विकासमा सहकारीले अग्रणी भूमिका खेलेको छ । सामुहिक खेतीलाई प्रवर्धन गर्दै बेरोजगार युवालाई कृषि कर्ममा सम्मानसाथ ग्रहण गर्न सहकारी क्षेत्रको अतुलनीय योगदान छ । देखासिखीको रुपमा बढ्दै गएको वैदेशिक रोजगार होइन, सहकारीलाई साथमा लिएर स्थानीयस्तरमा नै स्वरोजगार बन्न प्रेरित गरिरहेको छ । वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका युवाले त झन् सहकारी संस्थाको गतिलो साथ पाएका छन् । जसबाट स्वरोजगार बन्न र सीपको सदुपयोग गर्न सहकारीले बाटो देखाएको छ । त्यसैको फलस्वरुप आज सहकारी सदस्यले आफ्नो क्षेत्रमा आवश्यकता देखेअनुसार खोलिएका कलकारखाना, घरेलु उद्योग, वित्तीय संस्था व्रmमसः सवल र सक्षम बन्दै गइरहेका देखिन्छन् ।

सरकारी, निजी र सहकारीको तिन खम्बे अर्थ नीति अँगालेको राज्यले व्यवहारतः सहकारी क्षेत्रलाई राज्यको एउटा खम्बा मान्न कन्जुस्याइँ गरेको देखिन्छ । त्यसमा सहकारी भित्र यदाकदा देखिने गरेको बेइमान चरित्र, भ्रष्टाचारी र परिवारवाद हाबी हुनुले पनि थप मलजल गरेको छ । निस्वार्थ, इमान्दारी र गतिशीललाई सँगै जोड्न सकियो भने मात्र सहकारी आन्दोलन दीगो रुपमा प्रगतिको पथमा अघि बढ्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: