पूर्वी नाकाबाट आयात ठप्प

  प्रकाशित मिति
३ बैशाख २०७७, बुधबार १२:५०


मेचीनगर । भारतको पश्चिम बंगालसँग जोडिएको पूर्वी नाकाबाट एक सातायता आयात पूर्ण रूपमा ठप्प छ । कोरोना भाइरस संक्रमण त्रासका कारण भारत पश्चिम बंगालको भन्सार विभागको पत्राचारपछि आयात ठप्प भएको हो । भुटान र बंगलादेशबाट नेपालमा हुने वस्तुको आयात पनि रोकिएको छ ।

पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिस्नर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने जनाएका छन्। उनले नाकामा आएर थन्किएका वस्तुलाई अन्य नाकाबाट पठाउनसमेत भारतीय भन्सारका अधिकारीलाई निर्देशन दिएका छन्।

मेची भन्सारका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार पश्चिम बंगाल भन्सार विभागको पत्राचारपछि आयात ठप्प भएको हो। विश्वकर्माले भने, ‘तेल, तरकारी र ग्याससमेत आयात हुन पाएको छैन।’

विराटनगरको जोगवनी, वीरगञ्जको रक्सौल, भैरहवाको सुनौली, नेपालगंजको रुपैडिया र धनगढीको वनबासा नाकाबाट भने आयात जारी रहेको भन्सार प्रमुख विश्वकर्माले जनाए। उनका अनुसार आयात रोकिँदा हजारौं टन सामान भारतीय भन्सार क्षेत्रमा थन्किएका छन्।

भन्सार एजेन्ट मित्र संग्रौलाले आयात हुन नसक्दा करोडौं मूल्यको वस्तु कन्टेनरमै कुहिन थालेको जनाए। उनले भने, ‘पश्चिम बंगाल सरकारलाई अनुरोध गरेर फलफूल, तरकारी, तेल, ग्यास आदि अत्यावश्यक वस्तु आयात गरिनुपर्छ।’ तर, पश्चिम बंगाल सरकारले यस्तो अवस्थामा कुनै हालतबाट पठाउन नसक्ने भन्दै ‘रि–रुट’ गरी अन्य नाकाबाट पठाउन आग्रह गरिसकेको छ।

भन्सारका अनुसार पश्चिम बंगालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। जसका कारण बंगाल सरकारले आगामी ३० अप्रिलसम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ। ‘भारतीय भन्सार क्षेत्रमा थन्किएका सामान आयातका लागि अनुरोध गरिरहेका छौं’, भन्सार प्रमुख विश्वकर्माले भने, ‘तर, बंगाल सरकारले स्थिति सामान्य नहुन्जेल आयात इजाजत दिनेजस्तो छैन।’

भारतबाट निर्वाध वस्तु आयात भएको र कोरोना संक्रमणको जोखिम बढेको भन्दै मेचीनगरका स्थानीयले आयात रोक्न भन्सारलाई आग्रह गरेका थिए। मेचीनगर नगरपालिका, भन्सार र प्रहरीबीच डेढ साताअघि सम्पन्न बैठकले तेल, ग्यास र तरकारीबाहेक अन्य वस्तु आयात गर्न नदिने निर्णय गरेका थिए। तर, निर्णयको भोलिपल्टै करिब एक सय १४ वटा मालवाहक ट्रक र कन्टेनर भित्रिएपछि स्थानीय थप आक्रोशित बनेका थिए। मेचीनगरका स्थानीय मिलनराज प्रसाईंले भने, ‘भारतबाट वस्तु आयात नहुँदा नेपाली जनता भोकै मदैनन्, कोरोनाको जोखिमको बेला आयात रोकिएको छ, यो राम्रो कुरा हो।’ बंगाल सरकारले गरेको कडाइपछि भुटान र बंगलादेशसँगको व्यापार पनि ठप्प छ।

११ चैतदेखि एकसाता अघिसम्म भारतबाट तरकारी, फलफूल, ग्यास र हवाइ इन्धन, कोइला, क्लिंकरलगायतका वस्तु आयात भएको थिए। लकडाउनको समयमा १५ लाख ६५ हजार ७ सय ४५ किलो तरकारीजन्य सामग्री भित्रिएको थियो। यस्तै, एक लाख १४ हजार २९३ किलो फलफूल, ग्यास १५ लाख ५९ हजार पाँच सय ८५ किलो र ४४ किलोलिटर हवाइ इन्धन आयात भएको थियो।     कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: