विर्तामोड । यूएई आएका नायक जीवन लुइँटेलले अभिनय गरेको प्रमोद खरेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यूएईमै कार्यरत दुई चर्चित मोडलहरु निलम खड्का र मोहन बोगटीको जीवन्त अभिनय रहेको भिडियोमा यूएईका रमणीय स्थलहरूलाई कैद गरिएको छ ।
गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो सिउँदो पराईले भरेको दिन, त्यही हो सानु, त्यही हो सानु, म मरेको दिन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । यो भिडियो सार्वजनिक भएसँगै यूएईबाट पनि उत्कृष्ट भिडियो बन्न सक्दो रहेछ भन्ने प्रमाणित भएको छ ।
चर्चित निर्देशक प्रकाश भट्टको अगुवाइमा तयार भएको भिडियोले यूएईमा श्रमरत मोडेलहरूको प्रतिभालाई उकास्ने काम गरेको छ ।
एकनारायण भण्डारीको शब्द तथा सङ्गीतमा सजिएको उक्त गीतको सम्पादन विष्णु शर्माले गरेका हुन् । सगरमाथा डिजिटल प्रालिले २० मेमा सार्वजनिक गरेको भिडियो मनमोहक बनेको निर्देशक भट्टले दाबी गरेको छन् ।
चर्चाको शिखरमा चढ्दै गएको यस भिडियोमा दुबईको मरिना एरिया र समुद्री किनार, डेजर्ट सफारी, बोटिङको मज्जा लिन सकिन्छ । यस म्युजिक भिडियोमा यूएईको भौतिक सम्पन्नता, अत्याधुनिकता र वैभवलाई दर्शकले देख्न सक्छन् ।