कृषिमा सफलता चुम्दै चेतन

  प्रकाशित मिति
१८ जेष्ठ २०७३, मंगलवार ०६:०७


salikram

परिचयः
झापाको शान्तिनगर–६ सुनमाइका बासिन्दा चेतन पौडेल तरकारी उत्पादक कृषकको रुपमा परिचित हुनुहुन्छ । पिता दिनानाथ र माता दुर्गादेवी पौडेलका तीनछोरा र चारछोरी मध्ये माइला छोराको रुपमा २०४० सालमा सुनमाइमा उहाँ जन्मनु भएको हो ।
स्नातक तहसम्मको अध्ययन गर्दा गर्दै आर्थिक अवस्था कमजोर भई अध्ययनलाई थाँती राखी उहाँ कृषि ब्यवसायमा लाग्नु भएको होे ।
पौडेल परिवार २०३० सालबाट इलामको लक्ष्मीपुरबाट बसाई सरी झापाझरेको थियो । त्यसताका आफ्नो अलिकति भएको पुख्र्यौली सम्पति विभिन्न आश्वासन दिनुका साथै डरधाक देखाई अरुले नै खाइमासी दिएका थिए । त्यसपछि पौडेल परिवार अर्काको जमीनमा अधियाँ ठेक्का गर्दै सुनमाई झरेको थियो ।

प्रेरणा र सहयोगः
आयका हिसावले निम्न बर्गीय परिवारमा जन्मिनु भएका चेतन पौडेलले सारै छोटो अवधिमा कृषि ब्यवसायबाट उल्लेख्य प्रगति गर्नु भएको छ । उसबेला वुवाआमासँग दुई चार सय रुपैयाँको अभावले प्राथमिक उपचार समेत नपाई आफ्नी हजुरआमाले २०५० सालमा निमोनिया जस्तो साधारण विमारबाट ज्यान गुमाउनु परेको कुरा भावविह्वल हुँदै चेतन बताउनु हुन्छ ।

प्राथमिक तहको अध्ययन गरिरहेको कलिलो उमेरमा यो दुःखद दृश्य मूकदर्शक भएर हेर्नुपर्दा उहाँलाई अत्यन्त पीडा महसुस भयो । वावुले सामान्य मजदुरी गरी ल्याएको कमाई भन्दा अन्य आम्दानीको श्रोत थिएन । दुःखका श्रृङ्खला अरु बढ्दै गए । माध्यमिक शिक्षाका लागि डेढ घण्टा टाढाको बाटो पैदल जानु पर्दथ्यो । कैयौ दिन बिहान भोकै गएर बिद्यालयबाट घर फर्कदा साँझ घाँसको भारी बोकी फर्कनु पर्दथ्यो ।

त्यसबेला सुनमाई क्षेत्रमा जीविकोपार्जनका लागि कृषकले कोदो, फापर, मकै, जस्ता वाली लगाउँथे । जे–जति फल्छ, त्यसैले बर्षभरी पु¥याएर खानु पर्दथ्यो । सात–आठ महिना अनिकाल लाग्दथ्यो । अन्य उत्पादनशील क्षेत्रमा बसोवास गर्ने मानिसले सुनमाईमा कसैले आफ्नी छोरीचेली बिवाह गरेर नदिनु है, भोक–भोकै मर्छन् भन्थे । त्यस्तो सुख्खा, रुखो, सबैले अपहेलना गरेको ठाउँमा हरियाली बनाउने सङ्घर्ष गर्नु चेतनको लागि कम चुनौतीपूर्ण थिएन । सबै किसानले सजिलो माध्यमले जीवन यापन गरुन् भन्ने परिकल्पना गर्नु, काम गर्दै देखाउँदै जानु पनि पर्दथ्यो चेतनले । अहिले ती अभाव र दुःखहरूको सङ्गम चेतन पौडेल हुनुहुन्छ ।

अन्य गाविसका एकदुई किसानले दुई चार कठ्ठा जमीनमा लगाइएका साग सब्जीको आम्दानी सुन्दा उहाँलाई पनि यहि पेशाबाटै केही गरौँ कि भन्ने लाग्यो । २०५८ साल ताका १८ बर्ष कै उमेरमा कृषि ब्यवसाय तरकारी उत्पादन तर्फ यात्रा तय भयो । त्यसअघि चेतन सामु दुईवटा विकल्प थिए कि त, बैदेशिक रोजगारमा जाने कि त गाउँमै बसेर सुख्खा जमिनमा तरकारी खेती गर्ने ? त्यसले, परिवार पाल्ने ।
सिञ्चाईको कुनै सुविधा नभएको सुनमाईमा तरकारी खेती गर्ने विकल्पनै उहाँले रोज्नु भयो । त्यसो त बैदेशिक रोजगारमा जान चाहेको भए पनि चेतनलाई खर्च दिने मानिस थिएनन् । आम्दानीको श्रोत नभएपछि साहुले पत्याउन गाह्रो हुनेनै भयो ।

कृषि विकास कार्यालय झापाका तत्कालीन वागवानी विकास अधिकृत सीताराम मण्डलको प्राविधिक परामर्शमा २०५८ सालमा १८ घरधुरीका कृषकलाई समेटी नमुना मिश्रित कृषक समूह गठन गर्नुभयो चेतनले । कार्यालयको समूह दर्ता सूची ३५७ मा यो समूह दर्ता छ । समूहको आफु अध्यक्ष पदमा रही चेतनले मौसमी तथा बेमौसमी तरकारी खेती तर्फ र छिमेकीलाई समेत उत्प्रेरित गर्दै जानुभयो ।

प्रगति पथको खुड्किलोः
परम्परागत खेतीपातीलाई छाडेर आय आर्जनको लागि ब्यावसायिक तरकारी खेती गर्न सिञ्चाईको असुविधाले चेतन लगायत त्यस क्षेत्रका किसानलाई धेरै कठिन भयो । उन्नत प्रविधियुक्त ज्ञानको कमी, जनचेतनाको अभाव, भौतिक पूवार्धार निर्माणमा किसानको न्युन सहभागिता आदि समस्याहरू ज्यूँका त्यूँ थिए । त्यसो त चेतन पौडेलकै अग्रसरतामा समूहका सदस्यले घरमा पालेका गाई, खसीबाख्रा, अलि अलि जोडेको गहनाहरू बेचविखन गरी एकलाख रुपैया समूहले जम्मा गर्यो ।

कृषि विकास कार्यालयले ७५ हजार साना सिञ्चाई विशेष कार्यक्रम अन्तर्गत उपभोक्ता कृषक समूहलाई अनुदान उपलब्ध गरायो । अनुदानको रकमले तीन किलोमिटर पूर्व रहेको खहरे खोलाबाट सुनमाईसम्म पाईप विस्तार गरी सिञ्चाईको सुविधा विस्तार भयो । सिञ्चाईको ब्यवस्थाबाट सुनमाईका किसानको भाग्योदय सुरु भयो ।

चेतन पौडेलको अगुवाइमा २०५९ सालमा स्प्रिङ्कल सिञ्चाईपछि ब्यावसायिक तरकारी खेती सुरु भयो । तरकारी उत्पादनबाट सुनमाईका किसानले आम्दानी भित्र¥याउन थाले । त्यस क्षेत्रका मानिसले चेतनलाई उज्यालो किरणको रुपमा पाए । गाउँमा साँच्चै परिवर्तनको लहर आयो । चेतनको उपस्थिति, सर–सल्लाह र परामर्शमा शान्तिनगर र सुनमाई क्षेत्रका करिव ४०० घरधुरीका किसान विधिवत कृषक समूहमा आबद्ध भई तरकारी खेतीमा संलग्न छन् । शान्तिनगर करिडोरमा तरकारी उत्पादन, प्रभावक्षेत्र अहिले जो विस्तार भएको छ, त्यो केवल युवा कृषक उद्यमी चेतन पौडेलको देन हो । गर्व गर्न सकिन्छ ।

आय आर्जन र रोजगारीको अवस्थाः
कृषक चेतन पौडेलसँग २०५९ सालसम्म आफ्नो जग्गा जमिन नै थिएन । चेतनका बुवाको नाममा रहेको दश कठ्ठा जग्गा पनि दुःख विमार हुँदा आर्थिक सङ्कट पर्दा साझा सहकारीमा ऋण लिदाँ धितोराखेको थियो । लिलाम हुने अवस्थासम्म पनि पुगेकै हो । स्नातक तहको अध्ययन पुरा गर्ने धोको अधुरै रह्यो । त्यसपछि छिमेकीको करिव दुई विगाहा जग्गा ३ बर्षको लागि बार्षिक पन्ध्र हजार ठेक्कामा लिई ब्यावसायिक रुपमा बेमौसमी तरकारी ( गोलभेडा, सिमी, बोडी ) खेती सुरु गर्नु भयो चेतनले ।

आर्थिक विपन्नताले गर्दा आफ्नी हजुरआमाले उपचार नपाएर ज्यान गुमाएको उहाँले सानैछँदा देख्नु भएको थियो । आँखा अगाडि झलझली हुन्छन्, ती पीडा, सुस्केराहरू । उहाँ भन्नुहुन्छ–‘भोक भोकै दिनभर काम गर्नु पर्दाको दुःख, अनि अभावका क्रोधहरूलाई त्यही बेमौसमी तरकारीवालीमा पोख्न थालियो ।’ २०५९ सालमा ३० कठ्ठा जमिनमा लगाएको अविनास (दुई) जातको गोलभेडाबाट झण्डै १२ लाख आम्दानी भएछ । त्यसपछि चेतनको भाग्योदय सुरु भयो । आफ्नो बावुको पालामा लिएको ऋण चुक्ता गर्दै सोही ठेक्कामा लिएको जमिन किन्न समेत चेतन सफल हुनु भयो ।

सफलताको यो कथा झापा जिल्लामै सनसनीको रुपमा फैलियो । २०६० सालमा उहाँ झापा जिल्लाकै सफल तरकारी उत्पादक किसानको रुपमा चिनिनु भयो । आय आर्जन बिदेशमा राम्रो कमाई गर्ने स्वदेशकै ठुला शहर बजारमा बसी ब्यापार ब्यावसाय गर्नेको भन्दा कम थिएन । ब्यावसायिक तरकारी उत्पादनको यात्राले निश्चित मोड अनि गति लिन सुरु ग¥यो । अहिले चेतनको ब्यावसायिक तरकारी खेतीमा गाउँ छिमेकका दशजना कृषि मजदुरहरूले नियमित रोजगारीको अवसर पाएका छन् । एक बर्ष काम गरिसकेका कृषि मजदुरहरूले आफ्नै खेतवारीमा ब्यावसायिक तरकारी उत्पादन गर्न थाले । तरकारी उत्पादन सम्बन्धी खेतीपातीको काममा परिवारका सदस्यबाट पनि चेतनलाई उल्लेख्य सहयोग प्राप्त भयो । यो निरन्तरता यद्यपि छँदैछ ।

चेतन पौडेलले अहिले पनि ब्यावसायिक तरकारी खेतीबाट बार्षिक १० देखि १५ लाख खर्च कटाएर आम्दानी लिने गर्नु भएको छ । तरकारी उत्पादनबाट भएको आम्दानीले दुई जना भाइबहिनीलाई उच्च शिक्षा पढाइरहनु भएको छ । वस्नको लागि नाम मात्रको घर थियो । अहिले सुविधा सम्पन्न घर बनाउनु भएको छ । आधुनिक गोठमा गाई पालन सुरु गर्नु भएको छ । दीगो विकास र बैज्ञानिक कृषि प्रणाली अपनाई प्राङ्गारिक तरकारी उत्पादनलाई प्राथमिकता दिई अहिले प्राङ्गारिक मल उत्पादन गर्न सम्पूर्ण पूर्वाधार निर्माण गरिसक्नु भएको छ । त्यो सबै तरकारीकै आम्दानीले हो ।

जलवायु परिवर्तनसँगै कृषि र वातावरणमा पर्न गएको असर र प्रभावका वारेमा कृषक चेतन पौडेल जानकार हुनुहुन्छ । जैविक विविधताको संरक्षण गर्दैै आधुनिक बैज्ञानिक ढङ्गले प्राङ्गारिक तरकारी उत्पादन गर्न अहिले उहाँ कस्सिनु भएको छ । वातावरण संरक्षणका लागि १५ कठ्ठा जमिनमा टिक, खमारी, आदिका विरुवा रोपण सुरु गर्नुभएको छ । डालेघाँसका बोट विरुवाले पशुपालन ब्यवसाय बृद्धि गर्ने र पर्यावरण संरक्षण गरी १५ बर्ष भित्रमा रुखबाट करिव १ करोड रुपैयाँ आम्दानी लिन सकिने उहाँ बताउनु हुन्छ ।

सामाजिक सङ्घ÷संस्थामा चेतनको सम्बन्ध र सहयोग उत्कृष्ट छ । विद्यालय, मन्दिर, बाटोघाटो, कुलोपैनी आदि योजना निर्माण एवम् सञ्चालनमा सक्रिय हुनुहुन्छ । सङ्घ÷संस्थामा परिआएको अवस्थामा नेतृत्व लिन समेत पछि पर्नुहुन्न । तरकारी उत्पादक सहकारी सङ्घ लिमिटेड झापाको उपाध्यक्षमा रही तरकारी उत्पादकहरूलाई एकताबद्ध गर्ने पक्षमा पनि कार्य गरिरहनु भएको छ । नमुना तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लि. शान्तिनगर–६, झापाको स्थापना कालदेखि अहिलेसम्म लगभग १२ बर्षसम्म नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । शान्तिनगर क्षेत्रमा करिव ६ देखि ७ वटा कृषि सहकारी संस्थाहरू चेतनकै सर सल्लाहमा सञ्चालनमा छन् ।

शान्तिनगर गाविस भरिनै तरकारी उत्पादन क्षेत्र विस्तार भई तरकारी उत्पादन करिडर बनेको छ । जसबाट ४ हजार घरपरिवारले ६ सय हेक्टरमा तरकारी खेती गर्दै आएका छन् । शान्तिनगर गाविस क्षेत्रमा ब्यावसायिक तरकारी उत्पादन कार्यमा संलग्न किसानकोे जीवन यापन पद्धतिनै नयाँ भएको अवस्था छ । युवा कृषि उद्यमी चेतन पौडेलकै प्रेरणा र अगुवाइमा यो कार्य भइरहेको छ ।

कृषि प्रविधि प्रसार र युवा लक्षित अनुदान कार्यक्रमहरू जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गरिरहेको प्रति उहाँ सन्तुष्टी ब्यक्त गर्नु हुन्छ । १२ बर्ष अघिको आफ्नो अवस्थालाई बिचार गर्दा र गाउँ घरलाई सम्झँदा आफु लगायत त्यस क्षेत्रका किसानहरूले ठूलो सफलता हात पारेको र आफु पनि सन्तुष्ट रहेको बताउनुहुन्छ उहाँ ।

औपचारिक शिक्षालाई सोचेको ठाउँसम्म पु¥याउन नसकेको त्यतिबेलाको आर्थिक अभावलाई सम्झँदा उहाँ निकै भावुक हुनुहुन्छ ।

अनुभव तथा भ्रमणः
कृषि विकास कार्यालय झापाले प्रदान गरेका विभिन्न तालिमहरू जस्तैः एकदिने, तीनदिने, सातदिने छोटो र लामो अवधिका तालिम प्राप्त हुनुहुन्छ उहाँ । विभिन्न जिल्लामा रहेका कृषि अनुसन्धान केन्द्र तथा फार्महरूको स्थलगत भ्रमण गरी वातावरण तथा वन सम्बन्धी ज्ञान पनि छ । त्यस्तै विभिन्न सङ्घ संस्थाहरूबाट दिइएका तालिम आदिमा संलग्न हुनुहुन्छ । प्राङ्गारिक मल तथा विषादीको उत्पादन बारे उहाँ अरु कृषकहरूलाई तालिम दिने तथा आफुले गरेको प्रयोग वारे सिकाउनु हुन्छ ।

पुरस्कार एवंं सम्मानः
विभिन्न तरकारी वाली प्रतियोगिताबाट चेतन पौडेल पुरस्कृत हुनुभएको छ । कृषकलाई प्रोत्साहन गर्न मुलुकमा पहिलो पटक २०७१ सालमा स्थापना भएको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट (जिल्ला स्तर) मा नगद १० हजार एवम् प्रमाण–पत्र सहित चेतन पौडेल पुरस्कृत हुनु भयो । तीन जना उत्कृष्ट कृषकलाई जिल्ला स्तरमा पुरस्कृत गर्ने कार्यविधि नेपाल सरकारले ब्यवस्था गरेको छ । अन्य विभिन्न सङ्घ÷संस्थाहरूले पनि कृषक उद्यमी चेतन पौडेललाई पुरस्कृत एवम् सम्मानित गरेका छन् ।

भावी योजनाः
पढे लेखेकाले खेती गर्नु हुन्न भन्ने आम नेपालीको दरिद्र सोच प्रति उहाँ निकै चिन्तित हुनुहुन्छ । पढेर चै खेती गर्ने हो खै बुझेका नेपालीले ?–उहाँ प्रश्न गर्नुहुन्छ । बैदेशिक रोजगारीले क्षणिक लाभ भए पनि घर फिरेपछि भने उमेरमै मान्छे काम बिहिन भई बरालिने कुलतमा लाग्ने खतरनाक अवस्था आउने उहाँको तर्क छ । दीगो विकास तथा जैविक विविधताका लागि कृषकहरूलाई प्राङ्गारिक खेती तर्फ आकर्षित गर्दै लैजानु पूर्व आफैबाट काम सुरु गर्नु भएको छ उहाँले । तरकारी उत्पादनका साथै ५ हजार बोटविरुवा लगाई निजी वन दर्ता गराई काम सुरु गर्नु भएको छ । झापा र इलामका चुरेक्षेत्रका घर–घरमा कृषकहरूलाई टिक, जाई, पाउलिनिया, खमारी आदि जातका रुख लगाउन सल्लाह दिनुहुन्छ उहाँ । अदुवा, कागती, अम्लिसो जस्ता नगदेवाली र ठाउँ अनुसार माहुरी पालनलाई समेत जोड दिनु पर्ने उहाँको सल्लाह छ । विषादीको बढ्दो प्रयोगलाई घटाउन प्राङ्गारिक तरकारी खेती अभियान सुरु गर्नु भएको छ उहाँले ।
चेतन पौडेलले तरकारी उत्पादनमा गर्नु भएको सफलता राष्ट्रकै लागि एक उदाहरणीय रहेको प्रतित हुन्छ । उहाँका भविष्यका योजनाहरू सफल हुन सकुन् । धेरै–धेरै शुभ–कामना ।
(लेखक जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक हुन् ।)
फोन नं. ः ९८४२६३७८५५

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: