‘बुवा पैसा कमाउनतिर लाग्नु भएन’

  प्रकाशित मिति
५ असार २०७३, आईतवार २३:२७


debendra 1बहुदलीय प्रजातन्त्र वहालीको आन्दोलनमा होमिएका साहसी, जनप्रिय एवम् निष्ठावान राजनीतिज्ञ द्रोणाचार्य क्षेत्री पञ्चायती शासनको कठोर अवधिमा समेत कम्युनिस्ट उम्मेदवार बनेर विधायिका सदस्य (रापंस) निर्वाचित भएका थिए । । प्रखर वक्ता क्षेत्रीले जेल र नेलको समेत पर्वाह नगरी राष्ट्रिय पञ्चायतको सदस्य रहँदा सदनभित्रै राजतन्त्र खारेज गर्न र बहुदलीय लोकतन्त्र वहालीको माग गरेका थिए । उनी तत्कालीन झापा क्षेत्र नं. १ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित भएका थिए । २०५० साल असार ६ गते उनको उपचारकै क्रममा भारतको दिल्लीमा निधन भएको थियो ।  पत्रकार र साहित्यकार समेत रहेका द्रोणाचार्यले बामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानलाई झापाले कदापि विर्सन सक्दैन । द्रोणाचार्यसँग राजनीतिक अभियानमा सानो छँदादेखि नै साथसाथै हिँड्ने गरेका उनका कान्छा छोरा देबेन्द्र आचार्य अनेरास्ववियु र नेकपा एमालेको विभिन्न तहमा रहेर राजनीतिमा सक्रिय छन् । देबेन्द्रसँग प्रधान सम्पादक मोहन काजीले लिएको अन्तरवार्ता प्रस्तुत छ–

बुवासँग विताएका क्षणहरूलाई कसरी सम्झनु हुन्छ ?
– बुबा बित्दा म सानो थिएँ । उहाँ राजनीतिज्ञ भएका कारण खासै घरमा बस्नु हुन्न थियो । त्यसकारण हामीले बुबासँग त्यस्तो स्मरणीय हुने खालका कुनै पनि क्षणको अनुभव गर्न सकेनौं ।

द्रोणाचार्यले बेलैमा उपचार पाउनु भएन भनिन्छ, त्यस्तो हो ?
– हामी त्यसो भन्दैनौँ । किनभने मलाई थाहा छ मेरो बुबाको निधन दिल्लीको अल इन्डिया मेडिकल इन्स्टिच्यूटमा भएको हो । बुबालाई उपचार गर्न त्यहाँ पुर्याउने हाम्रो परिवारको आर्थिक हैसियत थिएन । नेकपा एमाले पार्टीको पहलमा तत्कालीन सरकारले उहाँलाई उपचारका लागि त्यहाँ पुर्याएको हो ।

बुवा छउन्जेल तपाइँहरूको परिवार भद्रपुर हस्पिटल चोकको भुइँतले काठको सानो घरमा डेरा बसेको थियो नि ? आफ्नै घर थिएन ?
– त्यतिबेला हामीलाई खाना लगाउन गाह्रो थियो । हाम्रो आर्थिक अवस्था अत्यन्तै नाजुक थियो । बुबा राजनीति गर्ने भएकै कारण उहाँ परिवारलाई भन्दा पार्टीलाई समय दिनुहुन्थ्यो । उहाँ पैसा कमाउनतिर लाग्नु भएन । देश र जनताका लागि निरन्तर राजनीतिमा लाग्नु भयो । धन्न आमाको प्राथमिक विद्यालयको भए पनि जागिर थियो । त्यसैले दुःख गरेर हाम्रो पढाई र घर खर्च धानेको थियो । आफ्नो जग्गा जमिन भद्रपुरमा थिएन । गाउँमा थियो तर त्यहाँ गएर खेतीपाती गर्ने मान्छे नहुँदा त्यहाँको आम्दानी आएको थाहा छैन । त्यसकारण पनि हामी डेरामा नै बसेका थियौँ ।

debendra 3

परिवारको आर्थिक अवस्था बलियो बनाउन उहाँले पदमा छँदा केही गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन ?
–कहिले त्यस्तो लागेन । सायद बुबाले परिवारका लागि पैसा कमाउन लाग्नु भएको भए हामीलाई त सुखै हुने थियो होला । तर, देश र जनताका लागि केही गर्न सक्नु हुने थिएन र आज दोणाचार्य क्षेत्रीको यो पहिचान रहने थिएन । र, जनपक्षीय माननीयको हैसियतमा उहाँहरूले पञ्चतायत विरुद्ध सङ्घर्ष÷आवाज नउठाएको भए नेकपा एमाले यो स्थितिसम्म आउने थिएन । बुबासँगै राजनीति गर्ने उहाँका समकक्षीहरू ओझेल परेका छन् । किनभने उनीहरूले राजनीतिका नाममा पैसा मात्र कमाए । उहाँ वित्दा म कक्षा नौँ पढ्थेँ । त्यस्तै १४–१५ बर्षको थिएँ होला । साँच्चै भन्नु पर्दा बुबाको शव झापाको कनकाईमा दाहसंस्कार गरेर फर्केको दिन हाम्रा घरमा भात खाने चामल समेत थिएन ।

तपाइँ कान्छो छोरालाई राजनीतिमा ल्याउन उहाँ चाहनु हुन्थ्यो भन्ने सुनिएको थियो । किन तपाइँ सक्रिय राजनीतिमा आउनु भएन ?
–म पछिल्लो समयमा मात्र हो अलि निस्व्रिmय जस्तो भएको । म मेची क्याम्पस पढ्दा स्वतन्त्र विद्यार्थी यूनियनको सहसचिव, सचिव हुँदै अनेरास्वियूको उपाध्यक्षसम्म भएको हुँ । सायद बुबाको नशा–नशामा राजनीति बहेको हुँदा छोरो पनि राजनीतिमा आओस् भन्ने चाहना थियो होला, त्यो स्वाभाविक पनि हो । तर पारिवारिक स्थिति सुदृढ गर्नुपर्ने हुँदा पनि मैले सव्रिmय राजनीति गर्न सकिन ।

 

आमाले सांसदको उम्मेदवार बन्न अस्वीकार गर्नु भएको थियो । किन होला ? कि राजनीति मन नपरेर हो ?
–आर्थिक कारण हो । किनभने त्यो बेला हाम्रो आर्थिक स्थिति अत्यन्तै नाजुक थियो । आमाले सांसदको उम्मेद्वार बन्दा खाइपाइ रहेको जागिर छोड्नु पर्ने थियो । राजनीतिबाट आर्थिक रुपमा केही हुँदैन भन्ने आमाले बुबाबाट थाहा पाइसक्नु भएको थियो । उहाँको काँधमा हामी तीन जना छोराछोरीको लालनपालनको जिम्मेवारी थियो । त्यसकारण राजनीतिप्रति उहाँको मन भए पनि आर्थिक अवस्थाका कारण सांसद बन्ने मन नगरेको हामीसँग भन्नुहुन्थ्यो ।

बुवाको पालाको एमाले र अहिलेको एमाले कस्तो लाग्छ ?
–पार्टी उस्तै छ । समयसँगै नेताको जीवनशैली बद्लिएको छ । बुबाको पालोमा नेताहरू साइकल चढेर हिँड्थे । मोटरसाइकल चढ्ने त एकाध नेता मात्रै हुन्थे । तर आज सबै कार्यकर्तादेखि नेताको सुविधा सम्पन्न गाडी छन् । आर्थिक रुपमा मजबुत छन् । पार्टी उस्तै लाग्छ तर पात्रमा चाहिँ ठूलो परिवर्तन आएको हो ।

वुवाहरूले जे लक्ष्य प्राप्तिका लागि दुःखकष्ट सहेर, ज्यानको जोखिम मोलेर राजनीति गर्नु भयो । के अहिले सत्तामा उहाँकै पार्टी पटकपटक पुग्दा ती लक्ष्य पूरा भए ?
–केही भएको छैन भन्न पनि हामीले मिल्दैन । धेरै भएको छ । किनभने आजसम्म नेकपा एमालेले बहुमतको सरकार चलाउन पाएको छैन । तर जब जब नेकपा एमाले सत्तामा पुग्छ केही न केही नयाँ काम गरेको हामीले अनुभूति गरेका छौंँ । कम्तीमा एकपटक एमालेले बहुमतको सरकार गठन गरेर काम गर्न पाए पक्कै बुबाको सपना पूरा हुने खालका काम गर्ने थियो जस्तो लाग्छ ।

एमाले झापाको कार्यालयमा द्रोणाचार्यको फोटोसम्म देखिदैन । पार्टीले उहाँको योगदानलाई कत्तिको सम्झिए जस्तो लाग्छ ? कि कुनै गुनासो छ ?
–नेकपा एमाले यस मानेमा चुकेको छ । किनभने परिवारले पटकपटक पार्टीसँग उहाँको स्मृतिमा एउटा प्रतिमा स्थापनाका लागि माग गर्यौँ तर त्यसको सुनुवाई भएन । परिवारको गुनासो त्यसकारण छ ।

प्रधानमन्त्री बनेका बेला मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल र केपी ओली कसैले तपाइँहरूलाई बोलाएर ‘के चाहना छ ?’ भनेर सोध्नु भएको छ ?
–एउटा बुबाको झापामा प्रतिमा बनाउन माग गर्दा समेत वास्ता नगर्नेहरूले परिवारलाई त किन सम्झन्थे र ? पार्टी, देश र जनताको लागि भोकभोकै बसेर सङ्घर्ष गर्र्न द्रोणाचार्य क्षेत्रीलाई नै नसम्झिने नेताले परिवारलाई सम्झेर उनीहरूको चाहना बुझ्ने त कुरै भएन नि !

भर्खरै झापामा उहाँको नाममा प्रतिष्ठान बन्यो । प्रेस चौतारी झापाले स्मृति पुरस्कार नै स्थापना गरेको छ । प्रतिष्ठान र पुरस्कार कोषमा परिवारको तर्फबाट केही सहयोग गर्ने मनसाय छ ?
यो खुशीको कुरा हो । परिवारलाई पनि थाहा छ । बुबाको नाममा तत्कालीन समयमा लीला उदासी, चुडामणि रेग्मी, शिरो सान्दाई, रोमणि भट्टराई लगायतका केही व्यक्तित्वहरूले एउटा स्मृति ग्रन्थ निकालिदिनु भएको थियो । उहाँहरूलाई हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ । किनभने पार्टीले केही नगरे पनि उहाँहरूले त्यो बेला स्मृतिग्रन्थ भए पनि निकालेर बुबालाई जीवन्त राख्न खोज्नु भएको छ । त्यतिबेला हामीलाई पनि ठूलो राहत भएको थियो । त्यही ग्रन्थ बेचेर २०–२५ हजार रुपैयाँ परिवारले चलाएका थियौँ । त्यो वापत त्यही बनेको प्रतिष्ठानमा १ लाख परिवारको तर्फबाट दिने निर्णय गरेका छौँ । साथै द्रोणाचार्य स्मृति भवनमा बुबाको प्रतिमा पनि बनाउने सोच पनि बनाउँदैछौँ ।

अर्को प्रेस चौतारी झापा त्यसै पनि धन्यवादको पात्र बनेको छ । बुबाको स्मृतिमा पुरस्कार नै स्थापना गरेर उहाँलाई जीवन्त राख्ने पहल गरेको छ । त्यसलाई पनि सहयोग गर्ने सोचाइमा छौँ । परिवारमा छलफल भइरहेको छ । आमा झापामै हुनुहुन्छ । हामी यसो गाँस वाँसको व्यवस्था गर्न काठमाडौँमा छौँ । हामी पारिवारिक सल्लाह गरेर जे जति सक्छौँ त्यसमा सहयोग गर्छौं ।

मैले सोध्न बिर्सेको र तपाइँलाई भन्नै मन लागेको केही थियो कि ?
हाम्रो चाहना भनेको अब आउने तीन वटा निर्वाचनमा नेकपा एमालेलाई जनताले विश्वास गरेर मतदात गरुन् । जसले नेकपा एमाले एक नम्बरको पार्टी हुनेछ । अनि मात्र पार्टीले लिएको लक्ष्य अनुरुपको काम गर्न सक्नेछ । हाम्रो परिवार पनि अब यसका लागि जुट्न तयार छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: