असार पन्ध्रमा दही–चिउरा

  प्रकाशित मिति
१५ असार २०७३, बुधबार १२:०१


matrika
प्रत्येक वर्षको असार १५ गते नयाँ वर्षको पहिलो चाडको रुपमा पनि लिन सकिन्छ । किसानहरुले खेतबारीमा काम गर्दा त्यो दिनको खाजालाई नै पर्वको रुपमा लिने गरेको पाइन्छ । प्रत्येक किसानले घर–घरमा खाजा खाँदा दही–चिउरा नै खाने चलन हाम्रा पूर्खाहरुका पालादेखि नै चलेर आएको हो । हामीले यस दिनलाई एकदिने पर्वको रुपमा मात्र महत्व दिएर मनाउने गर्दै आएका छौँ ।
हुन त दही–चिउरा अरुबेला पनि खाने गरिन्छ । दसैँमा पनि फुलपातीदेखि पूर्णिमाका दिनसम्मनै दही–चिउरा खाइन्छ तर असार पन्द्रको जस्तो त्यति बेलाको दही चिउराले त्यस्तो महत्वको नाम पाउदैन । हाम्रा बाबुबाजे वा पूर्खाहरुका पालामा धेरै–धेरै खेती गर्ने चलन थियो । ठूलो परिवार । दुई–तिन हल गोरु । घरमा दुहुना गाई–भैँसी अनि खेतीपाती, मेलापात गर्दा पर्म मिलाएर गर्ने चलनले गर्दा धेरै काम गर्नेहरुको बिचमा यो असार १५ मा विशेष महत्व हुन्थ्यो । आफ्नै ढिकीमा कुटेको धानका चिउरा, घरमै जमाएको दही अनि बिहानभरि खेतमा खटेर काम गरेर भोकाएका बेला धेरै साथीहरु गोरु जोत्ने, बीऊ काढ्ने, दाँदे लाउने, बाहुसे फ्याउरी लाउने, रोप्ने रोपारहरुको बिचमा हाँसी खुसीका साथ दही–चिउरा खाने चलन थियो ।

भोकको बेला भेटेको लहरे दही, अट्टे धानको चिउरा, धरानबाट लगेको चिनी लगाएर मुछेर खाएको दही–चिउरा यी सबै कुरा मिल्न आएकाले गर्दा यो असार १५ र दही–चिउरा आजसम्मै धेरै मिठो पर्वको रुपमा चल्दै आएको छ । तर, आजभोलि त आफ्ना पितृका श्राद्धका दिन डोकाले बिरालो छोपेर श्राद्ध गर्ने चलन छ । यो असार १५ पनि त्यस्तै हँुदै जाँदैछ । पहिले–पहिले अलि ठूला, साहु, महाजनहरुको रोपाइमा बेठी लगाएर नौमती बाजाका साथ रोपाई गर्ने चलन पनि थियो । नौमती बाजा बजिरहन्थ्ये, रोपार अनि बाहुसे गर्ने, दाँदे लगाउने, बीऊ ओसार्ने सनै र दमाहाको तालमा खुसीसाथ दही–चिउरा खाएर दोहोरी गाउँदै मेलो चलाइन्थ्यो, कति बेला भयो थाहै नहुने गरी दिन बितेर घर फिर्ने बेला हुन्थ्यो ।

१. असार पन्द्र यो पर्व आउँछ सबैले मनाउँछन्
खेतमा जाने सबैलाई खाजा दही–चिउरा बनाउँछन् ।
लै लै दही चिउरा बनाउँछन् ।
२. पर्मपात गरी मेलो चलन हुन्छ है
असार पन्द्र यो दिन छुट्टै रमाइलो हुन्छ है
लै लै रमाइलो हुन्छ है ……
३. रोपाइँ गर्ने पर्म मिलाउछन् दोहोरी गीत गाउँछन्
असारे गीत यसरी गाउँछन् रमाइलो मनाउछन्
लै लै रमाइलो मनाउँछन्
४. यो सालको पन्द्र यहाँ मनाउदै आयौँ कहाँ पुगिन्छ
जहाँ पुगे पनि ए कान्छा दाजु यो दिनलाई सम्झिन्छ
लै लै यो दिनलाई सम्झिन्छ
५. त्यसो नभन हे ठूली बहिनी यही ठाउमा बसैँला
अर्को साल फेरी यसै नै गरी मेला पात जुटौँला
लै लै मेला पातमा जुटौला
६. छोरीको जातले छोड्नु नै पर्ने जन्मेको आफ्नो गाउँ
काहाँ पुगिन्छ थाहा हुँदैन बिल्कुलै नौलो ठाउँ
लै लै बिल्कुलै नौलो ठाँउ
७. जहाँ जान्छेउ, तिमी यो मिठो स्वर भुल्दैनौँ कसैले
गइ हाल्यौँ भने आउने साल पन्द्र सम्झिन्छौँ सबैले
लै लै सम्झिन्छौँ…
८. यस्तै गित गाउँदै रमाइलो गर्दै यो पर्व मनाउने
दही छैन भने खोजेर ल्याउने चिउरा बनाउने
लै लै दही चिउरा खुवाउने…

यसरी नै असार १५ को छुट्टै रमाइलो हुन्थ्यो अहिले त्योे सबै टाहारी खेतहरु त्यो दिनलाई सम्झेर कति न्यास्रो मान्दैछन् होला । एक साल एक जनाले रोप्छ, अर्को साल अर्को आउँछ । पहाड खेतबारीमा काम गर्ने जनशक्ति एकदमै कम हुँदै गएको बझिन्छ । सबै खेतबारी छोडेर मधेस झर्ने व्रmम बढ्दो छ । एउटा सिङ्गै वडामा चार÷पाँच हल गोरु चलाउने खेती गर्ने मानिसको बसोबास छ । कहीू–कही धान खेती मासेर अलैँची लगाएको छ । तिनै खेतमा खालमा पहिले–पहिले बज्ने नौमती बाजा अहिले शुभ–विवाहमा पनि कमै मात्र बजेको सुन्न पाइन्छ । त्यो रोपाइँमा दोहोरी गीत गाउने युवा÷युवती बर्सेनि इजरायल, साउदी, कतार, दुबही, कुवेत, मलेसिया लगायतका विभिन्न मुलुकमा रोजगारी गर्ने व्रmममा भवनको काम गर्दा गिटी र सिमेन्ट मिलाएर दही–चिउरा मुछेझै घरका वालहरुमा लगाउँदैछन् । कति बेला खानु दही–चिउरा, कहिले हो असार १५, कता गाउने असारे गीत, यहाँ खेत बारीमा काम गर्ने ? हरेकका घर–घरमा बुढाबुढी आमाबुबाहरु मात्र छन् ।

यो असार १५ मा आधा किलो बजारबाट किनेर ल्यायो अनि बिहान–बिहानै बुढाबुढी दुई पट्टी बस्यो गनगन गर्यो, एकछिन सुकसुक गर्यो पुरानो रमाइलो यही पर्व सम्झियो । पहाडी समाजमा यसैगरी मनाइँदैछ होला । थोरै आफ्नो जग्गा र अरु अधिया–ठेक्कामा लिएर, गोरु पालेर, हिउँदे–बर्खे बाली खेती गर्नेको सङ्ख्या अत्यन्तै न्यून हुँदै गएको छ । किसानहरु आफ्ना छोराछोरीलाई खेतमा काम गर्न, हिलो आलीमा जान, गोबर सोर्न, घाँस काट्न लगाउँदैनन् । बोर्डिङ स्कुल, कलेज गएर आउने खाजा खाने अनि टिउसन जाने हो कि होमवर्क कति छ होमवर्कमा पनि डेडी–ममीले नै गहिरो गरी खट्नु पर्ने हँुदै गएको छ ।

गाईगोरु पालेर खेती गर्ने भैँसी पालेर दुध, दही, चिउरा घरमै बनाइने त्यो असार १५ अहिले रहेन । खेतिकिसानी गर्ने सबै शक्ति विदेश तिरै पलायन भएको छ । अनि यहाँ धान दुई बाली लगाउने ठाँउहरुमा रुख, बिरुवा लगाउने, कतै खेतमा सुपारी खेती । त्यो पनि व्रmमशः घट्दै गएरको छ । धेरैजसो खेतहरुमा ओल्लो छेउदेखि पल्लो छेउसम्म कार्जे पूजाहरुमा गुरुजीहरुले चामलको पिठोको रेखी हालेजस्तो गिटी, रोडा, बालुवाको रेखी बनेको छ । खेतमा चार÷पाँच हल गोरु, पन्द्र÷बीस जना काम गर्ने, रोप्ने रोपारहरुका बीचमा मनाइने असार पन्द्रको दही–चिउराका ठाउँमा अब नक्साल बजारबाट किनेर ल्याएको चिउरा, दुध डेरीमा हिटरमा तताएको दुधको दही जमाएर फ्रिज भन्ने ठेकीबाट राखेको दहीले लिएको छ । अनि हामी खानेहरु चाहिँ कसैको सुगर– चिनी खानु नहुने, कोही ग्यास्ट्रिक– चिउरा नहुने, दम–प्रेसरले फ्रिज भन्ने ठेकीको चिसो दही खान नहुने, थाइराइटले यी कुनै खान नहुने ।

खेतबारीमा काम गर्नेहरुले त दही–चिउरा, भुटेको मकै आरामले बिनाअसर खाइरहेकै होलान् । यी सारा रोग त्यहाँको कुटो, कोदालो, हलो, दाँदेले Çयाउरी लगाएर कहाँ पुर्याउँदो रहेछ । अझ पहिले पहिले त एक माना ढिकीमा कुटेको काँचा चामल र एक पावा सिलाम काचै खाजाका रुपमा खाने गर्दथे अरे ! त्यो सयमा मलामी जाँदा दही चामल खाजा बाढ्ने चलन पनि थियो अरे ! तिनै पूर्खाहरुका सन्तान हामी भुटेका चिउरा खान पनि पेट दुख्न थालिसकेको छ ।
मधेसमा यो असार १५ को चाड सम्झनामा मात्र रहँदै जाने देखिन्छ । गोरुराँगा लगाएर खेत जोत्ने धेरै रोपाहार, बाहुसे पटाहा लाउने सबै हटेर ट्याक्टर लगाएर जोत्ने र हिलो मिलाएर दिनभर रोपाइ हुन थालेको छ ।

अलि पहिला–पहिला यही मधेसमा खेतहरुमा लार काट्ने भनेर पराल काटेर गोरुगडामा ओसारेर घरकटेरा छाउने परालको टाटी लगाउने बाख्रा हराउने पराल हुन्थ्यो । त्यही पराल खेतमा कुहिएर प्रसस्त उब्जनी हुने गर्दथ्यो । हिउँदे बर्खे २ बाली धन कमाई गर्ने चलन थियो । प्रत्येक घरघरमा हल गोरु, गाईभैँसी, खसीबाख्रा पाइन्थ्यो । हाल ती हाएर एउटा वडा भरिमा अलि गतिला राँगागोरुका जम्मा चार÷पाँच हल पाउन छोडिसकेको छ ।

आज असार पन्द्र भनिन्छ, थोरै दही–चिउरा लगाएर दुई÷चार चम्चा खाएर यो पर्वको याद गरिन्छ । अब यहाँदेखि पछि–पछिका दिनहरुमा धेरै मानिसहरुलाई निम्तो गरेर काहीँकाहीू कार्यव्रmम नै गरी पुरानो यादमा अक्षय तृतीयमा सातु र पानी बाँडे जस्तै असार पन्द्रमा पनि सम्झना गर्ने चलन आउला, आसार पन्द्र अनि दही–चिउराको सम्झनामा नगरिएला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: