उनलाई पुलिस मन पर्दैनथ्यो

  प्रकाशित मिति
१५ असार २०७३, बुधबार १२:२१


bigyan 3
विज्ञानराज शर्मा भन्ने वित्तिकै नेपाल प्रहरीको एआइजी अर्थात एउटा पावरफुल सरकारी मान्छेको चित्र आउँछ । उनी पावरमा छन्, तर पावरको दुरुपयोग गर्ने स्वभाव उनमा देखिदैन । अधिकांश उच्च तहका प्रहरीमा पदीय रवाफ र चुरीफुरी देखिन्छ । विज्ञानराज एउटा अनौठा प्रहरी एआइजी हुन् जो अहिले पनि आफुलाई सिपाही झैँ सम्झन्छन् र दिनरात असल प्रहरी कसरी बन्ने र बनाउने ध्याउन्नमा लागेको देखिन्छन् ।

अरुभन्दा भिन्न सोच र व्यवहारले नै विज्ञानराज प्रहरीभित्र मात्र होइन आम मानिसमा समेत पृथक बनेका छन् । उनी अरुलाई सदाचार, शिष्टाचार र अनुशासन मात्र सिकाउँदैनन्, आफु पनि पालन गरिरहेका हुन्छन् । त्यही कारण त उनलाई हरेक विहान त्रिपुरेश्वरको खेलकुद मैदानमा फोहोरमैला सफा गरिरहेको भेटिन्छ । आफ्ना सिपाहीको फौज परिचालन गरेर पनि रङ्गशालाको फोहोर हटाउन सक्थे उनी । तर उनी खेलाडी आफैले आफ्नो मैदान सफा गर्नु पर्ने सोच राख्छन् । अरुलाई अराउँदैनन्, तर आफुबाट केही सिकुन् भनेर उनी आफै मैदानमा फोहोर बटुल्न पुग्छन् ।

विज्ञानराज काठमाडौँको एउटा मध्यमवर्गीय परिवारमा जन्मे । खानलाउनको दुःख थिएन । उनी आफ्नै इच्छाले सानैदेखि खेलकुद क्षेत्रमा होमिएका थिए । उनको रुचि फुटबलमा थियो । पेले, म्याडोना जस्ता नामहरू उनका लागि रोलमोडल थिए । त्यस्तै बन्न पाएँ हुन्थ्यो भन्ने मनमा गमिरहन्थे ।
उनी प्रहरी भनेर जति चिनिन्छन् त्यो भन्दा फुटबल खेलाडीको रुपमा चिनिएका छन् । उनले आफ्नो युवाकालमा राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । थुप्रै राष्ट्रिय प्रतियोगितामा उनले आफ्नो उत्कृष्टता देखाए भने अन्तर्राष्ट्रिय मैदानमा मुलुकको झण्डालाई जिताएरै छाडे ।

प्रहरी त पछि मात्र बनेका हुन् उनी । खेलकुदकै माध्यमबाट उनी प्रहरीमा तानिएका हुन् । उनकै भनाइ सापटी लिएर भन्ने हो भने उनी प्रहरीलाई सानैदेखि त्यति मन पराउँदैनथे । यसमा कारण छ । काठमाडौँको त्रिपुरेश्वर छेउमै उनको घर थियो र नजिकै प्रहरी थाना पनि । त्यो थानामा एक जना हाकिम थिए भुँडे टाइपको । एक नम्वर रिसाहा र पिराहा । उनको कामै मान्छे पक्डने, पिट्ने र बासिन्दालाई थर्काउने । फुटबल खेल्न रङ्गशाला र आर्मी मैदान जाँदा आउँदा विज्ञानराजले ती प्रहरी हाकिमको कर्तुत सबै थाहा पाएका थिए । कसैले मन पराउँदैनथे तिनलाई । अनि विज्ञानराजलाई पुलिस भन्ने सबै यस्तै होलान् भन्ने लागेको थियो ।

फुटवल खेल्दा कहिलेकाहिँ पुलिससँग प्रतिष्पर्धा हुन्थ्यो । त्यसबेला उनी पनि पुलिसलाई भक्कुमार गाली गर्थे । ‘ओइ पुलिसलाई लखेट लखेट’ भन्दै विज्ञानराज पनि हुटिङ गर्थे । पुलिसले कयौलाई थुन्थ्यो, पिट्थ्यो, कतिको पैसा असुल्थ्यो । यही कारण पुलिसप्रति अरुको जस्तै उनको मनमा पनि नकारात्मक धारणा बनेको थियो ।

bigyan 2
यति राम्रोसँग फुटबल खेल्थे कि विज्ञानराज, उनको कौशलको चारैतिर तारिफ हुन्थ्यो । उनी पुलिसको टोलीबाट पनि खेल्न थाले । पुलिसले उनलाई हायर गरेर खेलाउन लान्थ्यो । पढाइ र खेलाइ दुबैलाई उनले सँगसँगै अघि बढाएका थिएँ ।

बीए पास गरिसकेको बेला एक दिन रुपकराज शर्माले घरैमा आएर उनलाई भने–‘इन्सपेक्टर बन्छस् ?’ विज्ञानराजलाई रुपकराजको प्रस्ताव सुनेर रिस उठेछ । ‘बन्दिन म त्यस्तो पुलिस !’–घर छेउको मोटे इन्सपेक्टरको डरलाग्दो छवि देखेर दिग्दार भएका उनले रुपकराजको झण्डै सातो लिए । फुटबलको सिनियर खेलाडी रुपकराजले फुटबलको राम्रो सम्भावना त्यहाँ पनि हुने सम्झाएर उनलाई प्रहरीमा प्रवेश गराएका थिए ।

आज उनी नेपाल प्रहरीका एआइजी छन् । आईजीको दौडमा थुपै्र भएकाले उनको सम्भावना किटान गरिहाल्न सकिन्न । तर उनी प्रहरीबाट रिटायर्ड भएपछि पनि नेपाली खेलकुद र खासगरी नेपाली फुटबलको उनले कुशल नेतृत्व गर्नेछन् भन्ने किटानीका साथ भरोसा गर्न सकिन्छ ।

‘म आफुलाई फुटबल खेलाडी भनेरै चिनाउन रुचाउँछु’, उनी भन्छन्–‘मेरो नशा नशामा फुटबलको रगत सञ्चारित छ ।’ उनी प्रहरीको जुनसुकै तहमा रहँदा पनि फुटबलको विकासमा उनको मुख्य चासो रहन्थ्यो ।

उनले १५ वर्षको हुँदा राष्ट्रिय प्रतियोगितामा क्याप्टेनको भूमिका पाएका थिए । ‘राजाको शुभजन्मोत्सवमा प्रतियोगिता भएको थियो’, उनी आफ्नो कप्तानीको पहिलो सफलता सम्झिदै भन्छन्–‘हामीले तत्कालीन युवराजको हातबाट शिल्ड थापेका थियौँ ।’

राष्ट्रिय च्याम्पियन बनेपछि उनलाई मैदानबाटै रेडियो नेपालले अन्तरवार्ता लिएको थियो । त्यो उनको जीवनको पहिलो मिडिया अन्तरवार्ता थियो रे । त्यसपछि त उनी सेलिब्रेटी भइहाले । जता पनि उनकै चर्चा । रुपकराज शर्मा, अशोक थापा, धीरेन्द्र प्रधान, देवनारायण चौधरी उनका खेलाडी साथी थिए । त्यसपछि उनले फुटबलमा कहिल्यै पछि फर्कनु परेन । प्रहरी जीवनमा उनले फुटबललाई कहिल्यै बिर्सेनन् । उनी भन्छन् पनि–‘म पहिला स्पोर्टसमेन हुँ, त्यसपछि मात्र पुलिस ।’

खेलकुदप्रति समाज, अभिभावक र राज्यको दृष्टिकोण विस्तारै मैत्रीपूर्ण बन्दै गएको उनको अनुभव छ । सानो छँदा उनलाई पनि बुवाआमाले ‘तेरो हातखुट्टा भाँचियो भने कसले उपचार गर्छ ?’ भन्दै गाली गर्थे रे । तर जब उनी फुटबलकै माध्यमबाट चिनिए, राष्ट्रको प्रतिनिधित्व गर्न थाले, उनलाई बुवाले नै ‘ला यो राख्, खर्च गर्न चाहिन्छ होला’ भन्दै विदेश जान लाग्दा खुसुक्क गोजीभित्र डलर हालिदिन्थे रे । उनी अभिभावकमा आफ्ना छोराछोरी खेलकुदमा लागे भने विग्रिन्छन् भन्ने नकारात्मक सोच रहेको बताउँछन् र भन्छन्–‘यस्तो भ्रमलाई चिर्न सक्नु पर्छ ।’

खेलाडीलाई समाजले अब उदाहरणीय रुपमा लिन थालिसकेको उनको ठम्याइ छ । एउटा नेताको भन्दा खेलाडीलाई हेर्ने सामाजिक दृष्टि बढी सकारात्मक पाइएको उनी बताउँछन् । खेलाडी निष्पक्ष हुन्छन् भन्ने सोच बन्दै गएको छ । आम मानिसहरू विहान विहान मर्निङ वाकमा कुदिरहेको देखिनु खेलकुदकै प्रेरणा हो भन्छन् उनी ।

उनी सबै स्वस्थ रहने हो भने नर्सिङ होम र अस्पताल नै नचाहिने र स्वस्थ बन्नका लागि खेलकुद चाहिने धारणा राख्छन् । उनी यतिबेला राज्यको खेलकुद नीति निर्माणमा प्रभाव राख्न सक्ने हैसियतमा छन् । उनले प्रहरी र सेनामा भर्ती गर्दा खेलाडीका लागि आरक्षण नै छुट्याइनु पर्ने सुझाव राखेका छन् । जसरी आदिवासी, जनजाति, महिला भनेर कोटा राखिएको छ, त्यसरी नै खेलाडीलाई भाग छुट्याउन सकिने उनको धारणा छ ।

तीन दशक अघिको एउटा घटना हो । फुटबलमा उनी चम्किएको चर्चा भारतसम्म फैलिएको थियो । त्यसबेला कलकत्ताको मोहन बगान क्लवले उनलाई एक लाख भारु दिने शर्तमा अनुबन्धका लागि अफर गर्यो । तर आफ्नै मुलुकको चन्द्र र सूर्य झण्डाका लागि मात्र खेल्ने भन्दै उनले त्यो प्रस्ताव अस्वीकार गरे ।

राष्ट्रका लागि खेल्नु पर्छ भन्ने सोच छ उनमा । युएन मिसन जाने सिलसिलामा हैटी र सियरालोनमा उनलाई कयौपटक फुटबल खेलाडी हुनुको नाताले सजिलो भएको रहेछ । एकपटक मिसनका थुपै्र अफिसरसँगै उनी पनि त्यहाँका हतियारधारी विद्रोहीबाट रातभरि अनिदै घेरिएछन् । त्यसबेला भएको परिचयका आधारमा विद्रोहीले विज्ञानराजतिर औल्याउँदै भनेछन्–‘साथी तिमी मस्तले सुत केही प्रोब्लम हुँदैन ।’ त्यसरी विद्रोहीले पनि माया गर्नुको कारण उनी फुटबल खेलाडी भएर हो ।
त्यहाँका गरीवहरू भोक टार्न कन्दमुल खान्छन् तर फुटबल खेल्न छाड्दैनन् भन्ने उनले देखे । दक्षिण अफ्रिकाका एकीकरणमा नेल्सन मन्डेलाले फुटबलको सहारा लिएको उनी बताउँछन् । गोरा र कालाविच मैत्रीपूर्ण फुटबल म्याच गराएर मन्डेलाले राष्ट्रिय एकताको पहल गर्थे रे ।

नेपालमा फुटबलप्रतिको मोह असाध्य बढेर गए पनि खेल्नका लागि मैदानको पूर्वाधार पर्याप्त नभएको उनी बताउँछन् । खेलाडीका लागि राज्यका तर्फबाट हौसला नपुगेको र खेलकुदको विकासका लागि राजनीतिक क्षेत्रबाट भरपूर सहयोग नमिलेको उनको भनाई छ ।

फुटबलमा रहेको म्याच फिक्सिङलाई तोड्न नेपाल प्रहरी सफल भएको छ । म्याच फिक्सिङको जालो तोड्ने अपराध अनुसन्धानको नेतृत्व विज्ञानराजले नै गरेका थिए । उनी भन्छन्–‘जालो नतोडेको भए नवयुगहरूको युग नै सुरु हुने थिएन ।’

आजीवन फुटबलको सेवा गरिरहने अठोट बोकेका उनी खेलाडीका प्रिय छन् । नेपाल प्रहरीमा छँदा मात्र होइन, रिटायर्डपछि पनि उनले खेलकुदमा योगदान दिइरहने बताएका छन् । तर कुन हैसियत र रुपमा ? यो अहिले प्रस्ट छैन । खेलकुद बजारमा एउटा चर्चा भने चलेको छ–एन्फाको नेतृत्वमा विज्ञानराजलाई पुर्याउनु पर्छ भनेर । कतिले यसको लविङ पनि गरिरहेका छन् । असम्भव पनि लाग्दैन उनका लागि यो जिम्मेवारी । तर उनी आफैले भने अहिलेसम्म यस बारेमा मुख खोलेका छैनन् । .

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: