दमक । लखनपुर–८ मा बाबू गुमाएका ३ जना नाबालक मुसहर बालबालिका र ७७ बर्षीया बृद्धा दमक –१३ का युवा ब्यवसायी सन्दीप चापागाई २ बोरा चामल र लत्ताकपडा लिएर पुग्दा खुशीले गदगद् भए ।
विहान खाएर बेलुका के खाऔं भन्ने अवस्थामा पुगेकी बुधरानी सतार र उनका नातिनातिनाहरुलाई यति नै भए पनि ठूलो राहत भयो । किन भने उनीहरुको परिवारमा कमाएर ल्याउने र हेरचाह गर्ने कोही पनि छैन यतिबेला ।
बुधरानीका छोरा मनिलाल ऋषिदेवको गत असार ७ गते स्थानीय साहुको खेत जोत्दाजोत्दै खेतमै ज्यान गएको थियो । सानो १ बर्षे दुधे बालक, ५ वर्ष र ८ वर्षकी छोरीलाई छाडेर दलालको प्रलोभनमा आमा सनिता ऋषिदेव पनि १० दिन अघि कुवेत हिंडेकी छन् ।
यसरी परिवारम कमाएर ल्याउनेको मृत्यु भएपछि मुसहर परिवारको विचल्ली भयो । यही मौका छोपेर दलालले सनितालाई पनि राम्रो कमाई हुने आश्वासनले कुवेत लगेपछि झन् ठूलो संकटमा पर्यो मुसहर परिवार ।
बर्षातको समय विरामी नातिनातिना । साथमा एक पैसा नहुनु बुधरानीका लागि यो भन्दा संकट के नै हुन सक्छ र ? त्यही संकटमा पुगेका सन्दीपले खाद्यान्न र लत्ताकपडा सँगै उनलाई विरामी नातिनातिनाको उपचारका लागि २ हजार रुपैयाँ पनि सहयोग गरेको बताए ।
यतिबेला सतार परिवारलाई सन्दीप जस्तै सहयोगी व्यक्ति तथा संघसंस्थाको खाँचो छ । बेसहारा बनेका ८ वर्षीया सलिना ऋषिदेव, ५ वर्षीया रेसिका ऋषीदेव र उनीहरुका भाइ अन्जानलाई ७० वर्षीया हजुरआमाले संरक्षण गर्दै आएकी छन् । स्थानीय सरस्वती मावि कक्षा २ र १ मा अध्ययनरत सलिना र रेसिका बाबुको मृत्यु पश्चात विद्यालय जान छाडेका छन् ।