‘पर्यटन बोर्ड नै भ्रष्टहरूको अखडा’

  प्रकाशित मिति
२ भाद्र २०७३, बिहीबार १५:३५


SL371792

जुझारू सामाजिक कार्यकर्ताको पहिचान बनाएका झापा मेचीनगर–१० काँकरभिट्टाका शङ्कर भट्टराई शिक्षा र पर्यटनको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । ट्राभल्स एसोसिएसन झापाका अध्यक्ष उनी आसाम डाउनटाउन विश्व विद्यालयका नेपाल प्रमुख समेत हुन् । पर्यटन र शिक्षाको विषयमा केन्द्रित रहेर उनीसँग लोकतन्त्र पोस्टले गरेको कुराकानी ः 

ट्राभल्स एशोसिएसन झापाको नेतृत्वमा आएपछि कसरी अघि बढ्ने योजना बनाउनु भएको छ ?
आगामी ३ वर्षका लागि हामीले प्रष्ट खाका तयार पारेका छौँ । पर्यटन व्यवसायीलाई एउटै छानामुनि ल्याउनका लागि पहल थालिएको छ । सबैभन्दा पहिलो सङ्घलाई संस्थागत गर्नु छ । व्यवसायीको हितमा कार्यक्रम ल्याएका छौँ । झापा भरिका पर्यटन व्यवसायीलाई एकीकृत गरेर अघि बढ्नु छ । झापालाई पर्यटक बस्न योग्य र आकर्षक बनाउनु नै हाम्रो प्राथमिक कार्य हो ।

व्यवसायीका समस्या चाहिँ के–के रहेछन् ?
झापाका ट्राभल्स व्यवसायीका समस्या धेरै छन् । पूर्वी नाकाबाट भित्रिएका पर्यटकलाई एकदिन पनि रोकेर राख्न सकिएको छैन । एकदिन मात्रै पर्यटकलाई राख्न सकिए आर्थिक सवलीकरणमा सहयोग पुग्छ । व्यवसायीलाई पनि आर्थिक रुपमा सहजता आउँछ । तर, झापाका पर्यटकीय स्थलको प्रचार छैन । भौतिक पूर्वाधारको निर्माण भएको पनि छैन । दोस्रो, सुबिधायुक्त यातायातका साधनको उचित व्यवस्था छैन । तेस्रो, सुरक्षा निकायबाटै अनावश्यक दिक्दारी झेल्नु परिरहेको छ । भद्रपुरस्थित विमानस्थल जाने बाटोको बेहाल छ । सुरक्षा कमजोरी अर्को समस्या हो । सीमा नाका र विमानस्थलमा एउटै पनि एक्सरे मेसिन छैन । पर्यटकको झोला खोलेर, सामान फिजाएर चेकजाँच हुन्छ । त्यस कारण पनि यो बाटो प्रयोग गर्न पर्यटक मन पराउँदैनन् । भद्रपुर विमानस्थलमा चाँडै एक्सरे मेसिन भित्र्याउन पहल र तयारीमा छौँ । अर्को, रात्रिकालिन उडानका लागि प्रविधि र विमानमा इन्धन भर्ने व्यवस्था गर्न पहल भइरहेको छ ।

पर्यटकीय पूर्वाधारको विकासमा सरकारले पनि त केही गरिरहेको होला नि ?
सरकारले सबै काम गरिदिन्छ भन्ने छैन । सयमा २५ प्रतिशत काम मात्रै राज्य पक्षबाट हुन्छ । बाँकी त हामी आफैले गर्ने हो । काँकरभिट्टाबाट उत्तर तर्फ रहेको पातालगङ्गालाई मात्रै पनि प्रचार गरियो भने त्यहाँ पर्यटक जान्छन् । सुरुवात हामीले नै गर्नु पर्छ । जमिनमुनिबाट पानी आउँछ अचम्म छ । पर्यटकका लागि यो नौलो कुरा हो । सरकारले गरेन, राज्य आएन भनेर गुनासो मात्रै गर्यौ भने घाटा हामीलाई नै भयो । तल्लोस्तरबाटै थाल्नु पर्छ । हामी आफ्नो खर्चमा मुलुकका पर्यटकीयस्थलको प्रचार गर्छौ । राज्यलाई कर तिर्छौ । तर, अहिलेसम्म भएका सरकारी पहल पर्याप्त छैनन् । सरकारले यातायात, विद्युुत, सडक र अन्य भौतिक पूर्वाधारको विकास गर्नु पर्छ ।

पर्यटन संस्कृतिको विकास नहुनुको कारण के हो ?
काठमाडौं, पोखरा र चितवन मात्रै पर्यटकीय स्थल हुन् भन्ने हाम्रो मानसिकता छ । तर, उपत्यकाबाट बाहिर धेरै राम्रो पर्यटकीयस्थल छन् । इलामको सन्दकपुर, कन्याम, श्रीअन्तु आदि पर्यटकीय स्थल हुन् । तर, यातायात, विद्युत आदि पूर्वाधार नहुँदा अप्ठ्यारो परिरहेको छ । सबैभन्दा पहिले राज्यले यातायातकै व्यवस्था गर्नु पर्छ । झापाका किच्चकवध, केचनाकबल, अर्जुनधारा, सुखानीपार्क, विराटपोखर आदिलाई व्यवस्थित गर्नु पर्छ । राज्यबाटै पर्यटकीय स्थलको विकासमा योजना ल्याइनु पर्छ । त्यसमा हामी साथ दिन्छौँ । पर्यटन संस्कृतिको निर्माण गर्न नसक्नु राज्यपक्षको गैरजिम्मेवारीको परिणाम हो ।

पर्यटन कार्यालय र पर्यटन व्यवसायीबीच कसरी समन्वय भइरहेको छ ?
सत्य बोल्नु पर्दा, पर्यटन कार्यालय काँकरभिट्टा आफैमा सक्रिय छैन । कार्यालय चाहिँ छ । त्योभन्दा बढी त्यहाँबाट आशा नगरे हुन्छ । सरकारले पर्यटन बोर्ड पनि गठन गरेको छ । तर, पर्यटन बोर्डमाथि पनि व्यवसायीको विश्वास छैन । त्यो गफ गर्ने अखडा, राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचार गर्ने केन्द्र भएको छ । पर्यटन बोर्डका कार्यकारी निर्देशकहरूलाई पनि हामीले भेटेका छौँ । तर, उहाँहरूले गरेका प्रतिवद्धता एउटै पनि कार्यान्वयन भएको छैन । पर्यटन बोर्ड र कार्यालय अपडेट छैन । सरकारले ल्याएका पर्यटनसँग सम्बन्धित कार्यक्रम, व्यवसायीले पाउने सेवा सुबिधा आदिका बारेमा कुनै किसिमको समन्वय छैन । हामीलाई बताइदिनु पर्यो नि । कार्यक्रम गराएर जानकारी दिएपछि मात्रै समन्वय हुन सक्छ । सरकारी योजना नभए पनि मैले केही प्रस्ताव गरेको छु । पर्यटन बोर्डले हाम्रो प्रस्ताव कार्यान्वयन गर्यो भने मात्रै विश्वास बन्छ । सहकार्य हुन्छ ।
पर्यटन क्षेत्रको विकासमा आएको बजेट कहाँ–कहाँ खर्च गर्ने भनेर त सरोकारवाला बीच समन्वय हुन्छ होला नि !
पर्यटन कार्यालयले यस्तो महत्वपूर्ण विषयमा कुनै छलफल गर्दैन । यहाँसम्म कि, पर्यटनसँग सम्बन्धित सम्मेलन वा प्रदर्शनी हुँदा पनि पर्यटन व्यवसायीले स्थान पाउँदैनन् । हामीले देशको प्रचार गर्छौ भन्दा सानो ठाउँसम्म पनि पर्यटन बोर्ड उपलब्ध गराएन । हामीलाई त्यो फोरमसम्म पुर्याउँदा देशकै हित थियो । हामी पर्यटक ल्याउँछौँ भन्दा पनि पाउँदैनौँ । नेपालका लागि छुट्याइएको स्टल बोर्डका पदाधिकारी कर्मचारीले लाखौँ रुपैयाँमा बेच्छन् । त्यसैले यस्ता विकृति नियन्त्रण गर्नु पर्छ । पर्यटन कार्यालय र बोर्डका कर्मचारीले जागीर जोगाउनेदेखि बाहेकको काम केही गरेको छैन ।

झापाका पर्यटकीय क्षेत्रको विकासमा के के पहल भइरहेका छन् ?
झापामा धेरै पर्यटकीय स्थल छन् । विराट क्षेत्र पर्यटन प्रवर्धन तथा विकास समितिमा भवेश श्रेष्ठ हुनुहुन्थ्यो । श्रेष्ठ अध्यक्ष भइन्जेल छलफल भए, काम पनि भए । केही काम हामीले गरेका थियौँ । वेबसाइट तयार भयो । हाम्रो क्षेत्रका पर्यटकीय स्थलका बारेमा त्यहाँ उल्लेख छ । कृष्णथुम्की, केचना, किच्चकबध, पातालगङ्गा, कनकाई, दोमुखा जस्ता क्षेत्र चिनाउन हामी सफल भएका छौँ । अब विस्तृत कार्ययोजना बन्दै छ । धेरै राम्रा कामको सुरुवात हुन्छ ।

झापामा पर्यटन व्यवसायप्रतिको आकर्षण कस्तो छ ?
झापामा १ सयभन्दा धेरै पर्यटन व्यवसायीको दर्ता देखिन्छ । तर, हामीसँग ८६ जना पर्यटन व्यवसायी रजिस्टर्ड हुनुहुन्छ । दमक, बिर्तामोडमा हामीले व्यवसायीकै लागि कार्यक्रम गर्यौ । भद्रपुर र काँकरभिट्टामा पनि कार्यक्रम गर्दैछौँ । यो छाता सङ्गठनमा सबै व्यवसायीलाई ल्याउने जमर्को भइरहेको छ ।

ट्राभल्स एन्ड टुर्सको दर्ता व्यावसायिक सङ्गठनमा त हुन्छ । तर, पर्यटन कार्यालयमा चाहिँ दर्ता गरिदैन नि, किन ?
पर्यटन कार्यालयमा दर्ता गर्नु पर्छ । घरेलु कार्यालय र कम्पनी रजिस्टारको कार्यालयबाट अनुमति लिएर काम गर्ने व्यवसायीहरू पनि हुनु हुन्छ । तर, व्यवसायीलाई पर्यटन कार्यालयमा पनि ट्राभल्स दर्ता गर्नु पर्छ भन्ने जानकारी नै थिएन । हामीले सङ्घको पहलमा दर्ता गर्नु पर्छ भन्ने सन्देश दिएका छौँ । पर्यटन कार्यालयमा दर्ता गर्न खर्चिलो पनि छ । र, झन्झटिलो पनि छ । हामीकहाँ सानो लगानीमा पर्यटन व्यवसायमा संलग्न हुनु हुन्छ । पर्यटन कार्यालयमा ३ लाखको बैङ्क ग्यारेन्टी चाहिन्छ । धितो चाहिन्छ । पर्यटन कार्यालयमा जान सबै व्यवसायी इच्छुक हुनु हुन्छ । तर, किन आवश्यक छ बैङ्क ग्यारेन्टी ? पटक–पटक अनुगमन गरियो । हामी लिन्छौँ ग्यारेन्टी । व्यवसायीमाथि यस्तो ज्यादती आवश्यक छैन ।

तपाईहरूले यो विषयमा कुरा उठाउनु भएको छैन होला नि त ?
हामीले पटक–पटक जानकारी गराएका छौँ । तर, उसलाई क्याविनेटको निर्णय भनिएको छ । यदि यो व्यवस्था हटाइए एक महिनाभित्र सबै व्यवसायी पर्यटन कार्यालयमा दर्ताका लागि आउँछौँ ।

पूर्वी नाकाबाट भित्रिने पर्यटकहरूलाई व्यवसायीले तानातान गर्ने प्रवृत्ति छ । व्यवसायीको काम चाहिँ पर्यटक तान्ने, पैसा कमाउने मात्रै हो ?
स्वभावैले नेपाली भनेको अतिथिको स्वागत र सत्कार गर्ने जाति हो । नेपालीहरूले अतिथिहरूलाई राम्रो व्यवहार गर्छन् भन्ने सन्देश विश्वभरि नै छ । तर, व्यवसायी पनि सबै राम्रा हुन्छन् भन्ने छैन । हामीमाझ पनि गलत मनसायका कोही व्यक्ति होलान् । तर, उनीहरूलाई पर्यटन कार्यालयले हस्पिटालिटीका विषयमा तालिम दिनु पर्यो । व्यवसायीको बोलिचाली र व्यवहारमा सुधार गर्नका लागि काम त गर्नु पर्यो नि । त्यो प्रति उहाँहरूलाई ज्ञान छैन । हामी चाँडै तालिमको आयोजना गर्दै छौँ । त्यसपछि सुधार आउँछ । झापाका सबै पर्यटन व्यवसायी जिम्मेवार हुनुहुन्छ । एउटाको गल्तीले सबैलाई गलत तरिकाले हेर्नु उचित हुँदैन ।

शिक्षा र पर्यटनबीच के–कस्तो सम्बन्ध छ ?
शिक्षा र पर्यटनबीच अन्योन्याश्रित सम्बन्ध छ । शिक्षाकै माध्यमबाट पर्यटक केन्द्रलाई परिचित गराउन सकिन्छ । गाउँ–गाउँसम्म पर्यटन शिक्षाको विस्तार गर्नु पर्छ । पर्यटनसम्बन्धी शैक्षिक चेतना जगाउनु पर्छ । प्राविधिक शिक्षा दिनु पर्छ । तब मात्रै पर्यटनको महत्व ज्ञात हुन्छ । पर्यटन क्षेत्रमा शैक्षिक जनशक्तिको संलग्नता रह्यो भने अझै राम्रो हुन्छ ।

शिक्षा क्षेत्रमा पनि लाग्नु भएको हो ?
हो, पर्यटन र शिक्षा एकअर्काका परिपूरक हुन् । शिक्षाप्रतिको मेरो झुकाव पनि हो । पछिल्लो समय विभिन्न विश्वविद्यालयसँग नेपालमा पढाई नहुने पाठ्यक्रम हामीले भित्र्याएका छौँ । सम्झौता भएको छ । आसाम डाउन टाउन विश्वविद्यालयको नेपाल संयोजकको जिम्मेवारीमा छु । आसाम डाउन टाउन विश्वविद्यालयलाई पर्यटनसम्बन्धी शिक्षा सञ्चालन गर्न आग्रह गरेका छौँ । त्यहाँको प्रविधिलाई नेपालमा ल्याउन सकिन्छ ।

आसाम डाउन टाउन विश्वविद्यालय कस्तो विश्व विद्यालय हो ?
आसाम डाउन टाउन विश्वविद्यालयले विश्वस्तरीय शिक्षा प्रदान गर्छ । पछिल्लो समय नेपाली विद्यार्थीको शैक्षिक गन्तव्यको आकर्षक केन्द्र बनेको छ । प्राविधिक शिक्षाका लागि सबैभन्दा उत्तम विकल्प हो ।

नेपाली विद्यार्थीलाई के कस्तो सुबिधा दिइएको छ ?
त्रिभूवन विश्वविद्यालयसँग शैक्षिक सम्झौता गरिसकेको छ । नेपाली विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति हुन्छ । वातावरण पनि मिल्छ । सस्तो, सुलभ र उच्च प्रविधिमा पढाई हुन्छ । मेरिट बेसमा छात्रबृत्ति दिइने व्यवस्था छ ।

व्यवसायी साथीहरूलाई तपाईको आग्रह के छ ?
सबैको साथ पाएकै छु । हामीले ल्याउने कार्यक्रम सफल पार्न यस्तै साथको निरन्तरताको कामना गर्दछु । एसोसिएसनका निवर्तमान अध्यक्ष नीरबहादुर कार्की नेत्र तथा पदाधिकारी साथीहरूले मलाई धेरै सहयोग गर्नु भएको छ । म उहाँहरूलाई विशेष धन्यवाद दिन्छु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: