रिडर्स कला साहित्य र सार्वजनिक क्षेत्र

  प्रकाशित मिति
२७ माघ २०७३, बिहीबार १९:३७


आसन्न कला साहित्य उत्सवको तेस्रो संस्करणको जोडतोडका साथ तयारी हुँदैछ । तयारीका लागि युवाहरु जोशका साथ खटेका छन् । सोसल मिडियामा भएको प्रचारप्रसार हेर्दा लाग्छ यसपालि पहिलाभन्दा अन्य थप इभेन्टहरु पनि पस्किइनेछ । इच्छुक झापाली साहित्यका पारखीहरु साथै अन्य समुदाय समेत यसबाट लाभान्वित हुनेछन् । साथै अन्तिम दिनमा सङ्गीतको रसास्वादन हुने नै छ । पोखरामा हरेक वर्ष साहित्य उत्सवको आयोजना भएको छ । काठमाण्डौँबाट लामो दूरीमा भएर पनि हरेक दुई वर्षमा काँकरभिट्टामा कार्यक्रम आयोजना गर्नु प्रशंसनीय छ ।

यसपालि किताब बोकेको बससमेत झापा आइपुगेको छ । एकपाटोमा पुस्तक बोकेको अर्को पाटोमा अमेरिकन झण्डा टाँसिएको बसको दर्शन पनि गरियो । विद्यार्थीहरुले पुस्तक हेरिरहेको पनि देखियो । नेपाल सरकारको पुस्तकालयमा भूकम्पपछि बोरामा राखिएका पुस्तकहरु धमिराले खाइसकेको सुनिएको अवस्थामा कितावका लागि अमेरिकनहरुले गरेको लगानी हाम्रा लागि प्रेरणा भए त राम्रै होला भन्ने लाग्यो । आफैलाई प्रश्न सोधेँ– ‘के हामी साँच्चि नै यति गरिब भयौँ ?’ १० हजार माथिका मोबाइल बोकेकै छौँ । खानपिन, मनोरञ्जन, यातायात आकर्षक नै छ । तर, हाम्रा पुस्तकालयमा कहिलेसम्म विदेशी दातृ संस्थाका लोगो अङ्कित किताव देख्नु पर्ने हो ? अनि अमेरिकन झण्डा टाँसिएको बसको किताव हेरेर हामी किन मख्ख पर्नु पर्ने ?

समाजले सकारात्मक परिवर्तनको जुन गति समात्नु पर्ने हो त्यो गति समात्न नसकिरहेको अवस्थामा विशेषत पढेलेखेका युवा लक्षित यो कार्यक्रम हुनु आफैमा महत्वपूर्ण छ । नेपालमा राजनीतिक क्रान्तिहरु धेरै पटक भए पनि बौद्धिक क्रान्ति नभएको अवस्था र हरेक परिवर्तन पश्चात संस्था निर्माण र प्रणाली प्रवर्धनमा पढेलेखेका वुद्धिजीवी र वौद्धिक भनिएकाहरुको भूमिका आशलाग्दो नभएको अवस्थमा यस्ता कार्यक्रमहरुले केही मात्रामा भए पनि समाज परिवर्तनका लागि सकारात्मक भूमिका खेल्न चुकेकाहरुलाई महसुस गराउने छ ।

कला साहित्य उत्सवको लोगो (1)

जर्गन ह्यावरसमारको सार्वजनिक क्षेत्र र १९२३ को फेव्रुअरी २३ मा जर्मनीको फ्रेन्कफर्टमा स्थापना भएको फ्रेन्कफर्ट स्कुल अथवा आलोचनात्मक सिद्धान्तको वारेमा सम्झना गर्ने हो भने यस्ता क्रियाकलापहरु सार्वजनिक क्षेत्रको महत्व स्थापित गर्न सहयोगी हुनेछन् । यसले आलोचनात्मक चेत पैदा गर्दछ । आलोचनात्क सिद्धान्तले सामाजिक घटनाहरुको सतही नभई वैज्ञानिक अध्ययन हुनुपर्नेमा जोड दिने गर्दछ । सार्वजनिक क्षेत्रमा हुने युक्तिसङ्गत वहसले मात्र परिवर्तन र मुक्ति सम्भव हुनेमा विश्वास गरिन्छ । जर्गन ह्यावरमासले १८ औँ शताव्दीमा नै सार्वजनिक क्षेत्रको उदय भएको र सार्वजनिक विवाद समाधानको लागि क्लव, क्याफे, जर्नल र पत्रपत्रिका जस्ता मञ्चहरुको स्थापना भएको उल्लेख गरेका छन् । उनले सार्वजनिक क्षेत्रमा हुने सञ्चारात्मक कार्यले नै हेपाइ वा प्रभाववाट मुक्ति दिलाउन सम्भव हुने वताएका छन् । ‘जीवन संसारका तिनवटा घटकहरु संस्कृति, समाज र व्यक्तित्वले समाजको क्रमैसँग साँस्कृतिक पुनः उत्पादन, सामाजिक एकता र व्यक्तित्व निर्माणको लागि आवश्यकता पूरा गर्दछन् । यस्ता तिनवटा आयाम जहाँ सञ्चारात्मक कार्य गरिन्छ, त्यहाँ वुझाइमा पुग्ने समन्वयात्मक अन्तरक्रिया र सामाजिकीकरण जस्ता कुराहरु समावेश हुन्छन् ।’ समाजमा हुने बहस र अन्तरक्रियाले समाज सवल हुन्छ, मानिसका आस्था र विचारमा निखार ल्याउँछ, के ठिक र वेठिक छुट्याउन सक्ने चेतना प्रदान गर्दछ । आशा छ क्रमशः हाम्रो सार्वजनिक क्षेत्र सक्षम हुनेछ ।

हरेक शनिवार अध्ययनशील युवाहरुको जमघट हुने गरेको छ । यसबिचमा वहस प्रशस्त चलेका छन् । वेलावेलामा विशिष्ट व्यक्तिहरु बोलाई विषयगत सम्भाषण समेत आयोजना गरिएका छन् । कार्यक्रम त भएका छन् तर अपेक्षा गरिएको परिणाम प्राप्त भएको छ या छैन यसको बारेमा पनि सार्वजनिक वहस नै गर्न आवश्यक त छैन ? हुन त समाज परिवर्तन हुन पक्कै पनि समय लाग्दछ । तर पनि केही छाँट देखिनु पर्ने हो । तर, समाज पनि त आफ्नै खालको छ । टोपी दिवसमा दौरा सुरुवाल लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने वित्तिकै राष्ट्रवादी भइन्छ भन्ने चेत छ । लेखक वौद्धिकहरु आलोचनात्मक र वैज्ञानिक चेत राख्नु पर्नेमा खुलेआम दलका कार्यकर्ता भएका छन् र गुण र दोषका आधारमा होइन, खुलेआम आफू आवद्ध दलको पक्षमा भजन गाउँछन् । पत्रकारहरु लाजै नभए जस्तो म फलानु दलको भातृ सङ्गठन हुँ भन्छन् । दलको सदस्य हुनु, विचार राख्नु अन्यथा लिन हुँदैन तर दलको कार्यकर्ता भए पनि गुण र दोषका आधारमा विश्लेषण गर्न नसकिने हुँदैन । सार्वजनिक क्षेत्रको महत्व साँघुरिदै जाने हो भने सकारात्मक परिवर्तनको अपेक्षा नगरे हुन्छ । यस्ता अवरोध चिर्नका लागि पनि यस्ता कार्यक्रमहरुको निरन्तर आयोजनाको खाँचो छ ।

वहस र अध्ययन अन्योन्याश्रित छन् । जति अध्ययन त्यति नै विनाको विचारमा निखार आउने हो । सामाजिक जीवन जीउनका लागि अध्ययन आवश्यक हुने कुरा हरेक व्यक्तिले समयमा थाहा पाउन सक्यो भने उसको लागि ठुलो उपलव्धी हुनेछ । बजारमा उपलव्ध अध्ययन सामाग्रीबाट उपयुक्त सामाग्रीको छनोट अर्को महत्वपूर्ण पाटो हो । पत्रकार किशोर नेपालले एक प्रसङ्गमा भनेका थिए कि लेखकहरु पाठकको रुचि परिवेश हेरेर पुस्तक लेख्ने गर्छन् र प्रकाशकले समेत त्यही सेन्टिमेन्टका आधारमा पुस्तक प्रकाशन गर्छन् । माग अनुसार आपूर्ति गर्नेले मात्र वजारमा टिक्न सक्छ । तर, लेखकले वजार मात्र हेर्ने होइन, पाठकको ध्यान र विचार परिवर्तन गर्नेतर्फ पनि ध्यान दिए राम्रो हुन्थ्यो । अनि पाठकले रुचि देखाएर मात्र पनि हुँदो रहेनछ । पुस्तकको मूल्य पनि पाठकका लागि ठुलो बोझ हुने रहेछ ।

सूचना र सञ्चारमा आएको परिवर्तनले आम मानिसलाई इन्टरनेटको पहुँच बढाएको छ । हिजोका दिनहरुको अध्ययन र सिर्जना अनि आज सम्झदा कहाली लाग्दछ । त्यो अवस्थामा समेत अध्ययनहरु भएका थिए, अनुसन्धान भएका थिए वर्षौँ लगाएर अनुसन्धान हुन्थ्यो । आज सूचना सञ्चारमा आएको क्रान्तिले अध्ययन र अनुसन्धानमा थप निखार ल्याउनुपर्नेमा सञ्चारको दुरुपयोग गरी वौद्धिक चोरीले वैधानिकता पाउने खतरा छ । विश्व विद्यालयका प्राध्यापकहरु खुलेआमा थेसिस विक्रेता भएको पत्रपत्रिकाका मुख्य समाचार भएका छन् । अध्ययन अनुसन्धानको महत्व विश्वविद्यालयका विद्यार्थी र प्राज्ञहरुलाई नै थाहा नभए जस्तो छ । झापामा हरेक वर्ष गरिने सामाजिक अनुसन्धानका लागि कुनै निकायले एक पैसा पनि छुट्याउँदैनन् मात्र होइन, सरकारी कार्यालयहरु आफूसँग भएका तथ्याङ्कहरु समेत दिँदैनन् । अध्ययन अनुसन्धानको महत्व हुन्थ्यो भने तमाम सामाजिक समस्याहरुको बारेमा विद्यार्थी परिचालन गर्न सकिन्थ्यो । एउट जिल्ला विकास समितिले १ लाख मात्र छुट्याउने हो भने ५ विषयमा अनुसन्धान गर्न सकिन्थ्यो । स्थानीय निकाय जति बाटोमा गिटी हाल्नमा, प्राध्यापक र विद्यार्थी पुराना थेसिस खरिद विक्रीमा व्यस्त भएपछि अध्ययन न अनुन्सधान सबै बेकार भएको छ । डिग्री त प्राप्त भइरहेका छन् तर परिणाम केही छैन । त्यसैले यस्ता कार्यक्रमले यिनीहरुमा चेत पैदा गर्नेछ भन्ने आशा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: