सुस्ताएको व्यापार जगाउने अवसर

  प्रकाशित मिति
१७ फाल्गुन २०७३, मंगलवार ११:००


bdr 4 bdr 2 bdr 6

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा पहिलोपल्ट आयोजना गरिएको महोत्सवको व्यवस्थापन असाध्यै राम्रो पाइएको छ ।
झापा उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा फागुन १२ देखि २१ गतेसम्म भद्रपुरको झापा चोकमा पूर्वाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सञ्चालन भइरहेको छ ।

महोत्सवमा स्टल सेटिङ, सवारी पार्किङ, सरसफाई, सुरक्षा, सुविधा र मनोञ्जनमूलक कार्यक्रमको प्रबन्ध अत्यन्त व्यवस्थित रुपमा गरिएको छ ।

भद्रपुरको मुख्य बजारभन्दा केही टाढा रहेको भए पनि महोत्सवस्थलको आकर्षक स्वागतद्वारले आगन्तुकलाई पहिलो नजरमा नै लोभ्याउँछ । स्वागतद्वार अत्यन्त कलात्मक रहेको छ ।

महोत्सवस्थलको पश्चिमपट्टिको खाली स्थानमा मोटरसाइकल र कारको सशुल्क पार्किङ स्थल तोकिएको छ । व्यवस्थित ढङ्गले निर्माण गरिएको पार्किङ स्थलमा राखिएका हरेक सवारी साधनलाई कडा पहरा दिने र ट्याग लगाइदिने व्यवस्था आयोजकले गरेका छन् ।

आगन्तुकलाई प्रवेशद्वारमा महिला र पुरुष दुवै वर्गका सुरक्षागार्डले मुस्कानसहित स्वागत गर्ने छन् भने महोत्सवस्थलमा प्रविष्ट गरिसके पछि भित्रको माहौल रमणीय छ ।

महोत्सवस्थलमा पस्दापस्दै पहिलो लहरमा अटोमोवायल्सका स्टलहरुले अवलोकन कर्ताहरुको ध्यान खिच्ने छ । किनकि त्यहाँ अत्याधुनिक मोडेलका कारदेखि कृषिमा काम लाग्ने ट्याक्टर, धान रोप्ने मेशिन र निर्माणमा काम लाग्ने स्काभेटर (भ्याकु)सम्मको प्रदर्शनी त्यहाँ छ ।

दुई लहरमा लस्करै राखिएका स्टल फराकिला र व्यवस्थित छन् । हरेक स्टलमा आफ्नै व्यानरले पसलको विशेषता र परिचय झल्काउँछ भने त्यहाँ बसेका प्रबर्धकहरुले विभिन्न उपाय गरेर आलोकनकर्ताको ध्यान तान्ने गरेका छन् ।

सहारा अटोमोवायल्सले अशोक लिल्यान्डका यातायातका साधनहरु आफ्नो अलग्गै स्टलमा राखेको छ भने होन्डा, बजाज लगायतका कम्पनीले मोटरसाइकलका लेटेस्ट मोडलहरु विक्रीमा राखेका छन् । पहिलो पाइला सहकारीले कृषि यान्त्रिकीकरणका सामान स्टलमा सजाएको छ ।

‘आउनुहोस्, टिकाउ र आकर्षक मोडलका व्यागहरु किन्नुहोस्’–काठमाडौँको न्यूरोडबाट लेडिज व्यागको स्टल लिएर आएका आरएम कलेक्सनका प्रोपाइटर माधव नेपाल ग्राहकलाई लोभ्याउँदै यस्तो भनिरहेका भेटिन्छन्् ।

उनको पसलमा लेडिजका व्याग किन्नेको निकै घुइँचो लाग्ने गरेको छ भने नजिकै रहेको इच्छा इम्पेक्समा लेडिज तथा जेन्सका कपडा किन्नेहरुको उस्तै भीड देखिन्छ ।

विर्तामोडको मेगा कम्प्लेक्समा होलसेल पसल भएका इच्छा इम्पेक्सका सञ्चालक राजु पोखरेल महोत्सवबाट आफ्नो सामानको प्रबर्धन गर्न ठूलो सघाउ पुगेको बताउँछन् ।

महोत्सवमा ओमसाइ पाथिभरा हस्पिटलको निःशुल्क स्वास्थ्य उपचार सेवा रहेको छ भने विराटनगर, पोखरा, धरान, विर्तामोड र इलामसम्मका विभिन्न स्टल राखिएका छन् ।

पूर्वाञ्चललाई समेट्ने गरी महोत्सवको आयोजना गरिए पनि अन्यत्र क्षेत्र र छिमेकी भारत तथा बङ्गलादेशका सामानले यहाँ अवलोकनकर्ताहरुको ध्यान मनग्ये तानिरहेका मात्र छैनन्, व्यापार पनि उत्तिकै गरिरहेका छन् ।

काठमाडौँको ग्लोव इन्टरनेशनलले भद्रपुरको ओमसाई पाथिभरा ट्र«ेडर्समार्फत बङ्गलादेशको जुस, बिस्कुट, केक लगायतका उपभोग्य वस्तुको राम्रो मार्केटिङ र सेलिङ गरिरहेको छ ।

पेयपदार्थको उत्पादनमा बङ्गलादेशले आफ्नो ख्याति अरबियन मुलुकमा समेत फिजाइसकेको अवस्थामा नजिकको छिमेकी नेपालमा समेत अब महत्वपूर्ण स्थान ओगट्न प्रयास गरिरहेको बङ्गलादेशबाट आएका प्रबर्धक मेहदी हसन बताउँछन् ।

स्वदेशी हस्तकलाका सामान बेचिरहेको भद्रपुरको शाक्यमुनि हस्तकला केन्द्रले अवलोकनकर्ताको मनग्ये साथ पाएको छ । हस्तकला स्टलमा बाँस र काठबाट निर्मित १४ सयदेखि ८ हजार रुपैयाँसम्मका लोभलाग्दा सामान बेच्न राखिएको सञ्चालक गीता शाक्य बताउँछिन् ।

भारतबाट आएको एउटा स्टलमा जुस बनाउने मिक्चरले यसपटक निकै व्यापार गरेको अनुमान गरिएको छ । २ हजार रुपैयाँमा पाइने सो मिक्चरले जस्तोसुकै फलफुलको पनि केही क्षणमै रस निकालिदिन्छ ।

होन्डाको नाभी स्कुटीले यसपटकको महोत्सवमा उधुम मचाइरहेको छ । हेरु हेरु र कुदाउ कुदाउ लाग्ने नयाँ मोडलको यो स्कुटीको दाम १ लाख ५४ हजार ९ सय रुपैयाँ रहेको बताइएको छ ।

अवलोकनकर्तामध्ये कतिपयले स्टलमै पुगेर वाइक खरिद गर्ने गरेका छन् । ज्यामिरगढी–३ की सलिना पौडेलले १२५ सीसीको एक्टीभा स्कुटर सोमवार महोत्सवस्थलमै नगदमा खरिद गरिन् ।

‘हेरेँ, राम्रो लाग्यो, अनि किनेँ’, स्कुटर खरिदकर्ता सलिनाले भनिन् । एप्रिला लगायतका अन्य ब्रान्डका बाइक पनि स्टलमा राखिएका छन् ।

महोत्सवमा दिनहुँ राष्ट्रिय कलाकारको आकर्षक प्रस्तुति रहने गरेको छ । सोमवार गायक शिव परियारले दर्शक तताए भने मङ्गलवार राजा राजेन्द्र र कालीप्रसाद बाँस्कोटा आउँदै छन् । हरेक दिन अपरान्ह २ देखि साँझ ८ बजेसम्म कलाकारहरुको प्रस्तुति रहने गरेको आयोजक झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कज शर्मा बताउँछन् ।

दिउँसो २ बजेसम्म महोत्सवस्थलमा प्रवेश निःशुल्क गरिएको छ भने त्यसपछि प्रवेश शुल्क लाग्ने व्यवस्था गरिएको सङ्घका उद्योग सचिव अजय साहेवाला बताउँछन् ।

बालवालिकाका लागि मनोञ्जनका लागि रोटे पिङ, रेल, झोलुङ्गो लगायतका विभिन्न खेल तमासा त्यहाँ उपलब्ध रहेको छ ।
खानाका लागि जस्तोसुकै प्रकारका खाना, पेय तथा खाजाको प्रबन्ध भएका दर्जनौँ स्टलहरु महोत्सवस्थलमा रहेका छन् ।
‘पहिलोपल्ट आयोजना भएको कारण के होला कसो होला भन्ने लागेको थियो’, आयोजक सङ्घका अध्यक्ष राजु पनेरु भन्छन्–‘तर अहिले अन्यत्र बर्षौदेखि हुने गरेको भन्दा भद्रपुरको महोत्सव व्यवस्थित भएको प्रतिक्रिया पाउँदा खुशी लागेको छ ।’

गौरवमय इतिहास बोकेको मुलुककै पुरानो नगरको रुपमा परिचित भद्रपुरको सुस्ताएको व्यापारलाई जगाउन महोत्सवले ठूलो टेवा पुर्याएको झापा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष उमेश डालमिया बताउँछन् ।

स्थानीय तथा पूर्वाञ्चल क्षेत्रको निर्यातजन्य व्यवसायको प्रबर्धन र पर्यटनस्थलको पहिचान उजागर गर्नु नै महोत्सवको उद्देश्य भएको जनाउँदै सङ्घका अध्यक्ष पनेरु पहिलो महोत्सवप्रति बढेको आकर्षणले आयोजक निकै उत्साहित भएको बताए ।
एक सय स्टल रहेको भद्रपुरको इतिहासकै पहिलो महोत्सवले भद्रपुरको आर्थिक सबलतालाई फेरि एकपटक दुनियाँसामू चिनाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: