करिब दुई दशक अघि परिवारका गर्जो टार्न झापाका गामिण क्षेत्रबाट दूध सङ्कलन गरेर साइकलमा पश्चिम बङ्गालको सिलगुढीसम्म पुर्याउँदा घनश्याम चिमरिया (६३) ले कुनै दिन उद्योगी बन्छु भन्ने सोचेका थिएनन् । मासिक १२ सय रुपैयाँ तलबमा प्रत्येक दिन विहान साइकलमा १ सय २० लिटर दूध लिएर ४१ किलो मिटर लामो बाटो पूरा गर्दै सिलगुढीसम्म दूध पुर्याउनु उनको नियमित कर्म थियो ।
उनले दैनिक ४० रुपैयाँको जागिरमा एकोहोरो ४१ किलो मिटर साइकल यात्रा गरे । ३ वर्षसम्म जागिरेका रुपमा दूध बोकेपछि उनलाई आफँै व्यवसाय गर्ने सोच आयो । ०५२ सालमा ग्रामीण विकास बैङ्कबाट कर्जा लिएर गाई–भैँसी पाल्न सुरु गरे । गाउँको दूध पनि सङ्कलन गरेर उनी निर्वाहमुखी दूध व्यवसायमा लागे ।
०५८ सालसम्म भारतका विभिन्न बजारमा पुर्याएर दूध बेच्ने गरेका घनश्यामलाई चिन्नेहरूले पनि ग्वाला भन्थे, घृणाको दृष्टिले हेर्थे । तर, घनश्यामलाई त्यो बेला गरिएको घृणा अहिले सम्मानमा परिणत हुन थालेको छ । उस बेलाका ग्वाला घनश्याम चिमरिया अहिले प्रसिद्ध दुग्ध व्यवसायी बनेका छन् । उनले निजी लगानीमा पूर्वकै ठुलो डेरी उद्योग सञ्चालन गरेका छन् ।
घनश्यामले सञ्चालन गरेको पञ्चामृत डेरी उद्योगले अहिले दैनिक सात हजार लिटर दूध विव्रmी गर्छ । ०६३ सालमा दर्ता भएको डेरीमा अहिलेसम्ममा साडेचार करोड रुपैयाँ भन्दा बढी लगानी भएको छ । डेरीले आफ्नो ब्राण्ड स्थापित गर्दै सेवा र परिकार बढाउँदै लगेको छ ।
झापा धाइजनमा प्रशोधन कारखाना रहेको डेरीले झापाका विभिन्न बजारदेखि सिरहा–सप्तरीसम्म सेवा सञ्चालन गरेको छ । उद्योगले दूध, दही, घ्यू, छुर्पीको अलवा गत भदौदेखि रसवरी, लालमन, पेँडा, गुदपाक, रसमलाई, खुवा लगायतका मिठाई र आइसव्रिmम पनि बनाउन सुरु गरेको छ । उद्योगले इलाममा ६० लाख रुपैयाँको लागतमा दूध चिस्यान केन्द्र पनि सञ्चालन गरेको छ । डेरी उद्योगमा अहिले ४० जनाभन्दा बढी कर्मचारी कार्यरत् छन् । १२ घण्टा उद्योगमा काम गर्ने कर्मचारीले मासिक २० हजार रुपैयाँ तलब पाउँछन् । कर्मचारीको जीवन बीमा उद्योगले नै गरिदिएको उद्योगका प्रबन्ध निर्देशक योगेन्द्र चिमरियाले बताए ।
‘हामीले कर्मचारीलाई सेवा–सुविधा दिन कञ्जुस्याइँ गरेका छैनौँ’, उनले भने, ‘हामीले कठोर परिश्रम गरेर उद्योग चलाएका छौँ, हामी कर्मचारी मजदुरको भावनाको जहिल्यै कदर गर्छौं ।’ छोरा–छोरी पढाउन र दैनिक गर्जो टार्न दूध व्यवसाय सुरु गरेका घनश्यामले आजको अवस्थाको कल्पना समेत गरेका थिएनन् रे ! उनी भन्छन्, ‘मैले लामो समय साइकलमा दूध बोक्दा यो अवस्था सम्म आइपुग्छु भन्ने सोचेको थिइनँ ।’
परिवारले साथ दिए किसानले पत्याए उसबेलाका ग्वाला अहिलेका प्रसिद्ध उद्योगी घनश्यामले विगतलाई सम्झँदैन भने, ‘सुरुका दिन सम्झँदा अहिले पनि कहाली लाग्छ, तर सङ्घर्षपछि व्यवसायले सफलता पाएकोमा सन्तुष्ट छु ।’ निजी लगानीमा सञ्चालित डेरी उद्योगमध्ये पूर्व क्षेत्रमा अग्रस्थानमा रहेको उनको डेरी उद्योगमा परिवारका सबै सदस्य आबद्ध छन् ।
घनश्यामका चार जना छोराले उद्योगको अलग–अलग जिम्मेवारी सम्हालेका छन् । छोराहरूको साथले नै हिजोको सानो व्यवसाय आज उद्योगमा परिणत भएको घनश्याम बताउँछन् । उनका जेठा छोरा राजनले प्रशोधन कारखाना हेर्छन् । माइला केशवले बजार हेर्छन् । उद्योगको प्रबन्ध निर्देशक साइँला छोरा योगेन्द्र छन् भने कान्छा सुमनको जिम्मेवारीमा भारतीय बजार रहेको छ ।
सुरुका दिनमा राजन, केशव, योगन्द्र, सुमन सबैले साइकलमा दूध बोके । तर, उनीहरूको कडा मेहेनत र परिश्रमले आज उनीहरुसँग आधा दर्जनभन्दा बढी पिकअप भेन छन् । उनीहरु चारै जना चालक पनि हुन् । गाडीमा चालक नहुँदा उनीहरू आफैँ दूध ढुवानी गर्छन् । ‘हामी सबैजना सबै काममा दक्ष छौँ’, उद्योगका बजार व्यवस्थापक केशव चिमरिया भन्छन्, ‘कामले काम सिकाउँछ, हामी भावी पुस्ताले सम्हाल्ने गरी प्रविधि अनुसार डेरीलाई रुपान्तरण गर्दै लैजाने योजनामा छौँ ।’
सुरुमा आपूmले क्याम्पस पढ्दा दूध बोक्ने गरेको स्मरण गर्दै केशवले भने, ‘त्यो बेला हामीलाई हेर्ने दृष्टिकोण फरक थियो, सबैले ग्वाला भन्थे, घृणाको दृष्टिकोणले हेर्थे, तर आज त्यो घृणा इज्जतमा परिणत भएको छ ।’ पर्ख र हेरको अवस्थाबाट आफूहरु अघि बढेको उनले बताए । भने, ‘बुवाले अर्काको दूध बोक्न थालेपछि सुरु भएको हाम्रो व्यवसाय यो अवस्थामा आयो, अब प्रविधि अनुसार बढाउँदै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।’
घनश्यामको परिवार भाग्यमा भन्दा श्रममा विश्वास गर्छ । उनको यात्रामा छोराहरूले सुरुवात देखिनै पूर्ण रुपमा साथ दिए । ०५१ सालदेखि विहान धुलाबारी क्याम्पस पढेर दिउँसो बुवाले भेला गरेको दूध सिलगुढीसम्म पुर्याउने गरेको स्मरण गर्दै राजनले भने, ‘बाबु छोराले दैनिक ४५० लिटर सम्म दूध भारतीय बजारमा पुर्यायौँ ।’ ०५१ सालबाट साइकलमा दूध बोक्न थालेका राजन अहिले पनि गाउँगाउँबाट आफैँ दूध सङ्कलन गर्छन् । उनी भन्छन्, ‘हिजो कडाश्रम गरेको व्यक्ति सुविधा भोगी हुँदा शारीरिक अस्वस्थ्य भएको महसुस हुँदो रहेछ, सकुञ्जेल दूध बोक्छु ।’ आज पनि श्रम सङ्घर्ष गर्नुपर्छ भन्ने राजनको मानसिकतामा कुनै कमी आएको छैन ।
यत्रो उद्योग छ, तपाईं आपैmँ साइकलमा दूध बोक्नु हुन्छ ? भन्ने मेची खबरको जिज्ञासामा उनले भने, ‘हामीले साइकलमा दूध बोकेरै पञ्चामृत डेरी उद्योग सञ्चालन गरेका छौँ, मलाई दूध बोक्न कुनै अप्ठ्यारो लाग्दैन ।’
प्रशोधन कारखानाको जिम्मेवारीमा रहेका उनी बिहान सबेरै दूध सङ्कनलमा जान्छन् र फर्केपछि कारखानाको जिम्मेवारी बहन गर्छन् । अहिलेको अवस्थालाई उनी परिश्रम, सङ्घर्ष र निरन्तरताको उपज मान्छन् । राजन नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य पनि हुन् । दूधको मूल्यमा एकरुपता नहुनु र बजारमा उतार–चढाव हुनुले दूध व्यवसायमा कहिलेकाहीँ समस्या आउने गरेको उनको बुझाइ छ ।
पञ्चामृत डेरी उद्योगले विर्तामोड क्षेत्रमा मात्रै दैनिक २५ सय लिटर दूध विव्रmी गर्ने गरेको छ । ‘तिन वटा गाडीमा बिहान ४ बजेदेखि दूध लगायत दुग्धजन्य पदार्थ ढुवानी गर्छौं’, केशवले भने, ‘बजार बढेसँगै सेवालाई चुस्त बनाउने हाम्रो प्रयत्न जारी छ ।’ उद्योगले दैनिक दुई हजार लिटर दूध भारतीय बजारमा पठाउने गरेको छ । उद्योगका प्रबन्ध निर्देशक योगेन्द्र चिमरिया भारतीय बजारमा दूध पठाउँदा प्रतिलिटर चार रुपैयाँ घाटा हुने बताउँछन् । ‘सुरु गर्दाको क्षणलाई सम्झेर पनि हामीले भारतीय बजारमा दूध पठाइरहेका छौँ’, उनले भने ।