काँकरभिट्टालाई अवसर – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

काँकरभिट्टालाई अवसर

सम्पादकीय

एसियन ग्रामीण पर्यटन महोत्सव यसपटक मुलुकको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा हुने भएको छ । माघको तेस्रो हप्तादेखि सुरु हुने महोत्सवको छैठौं संस्करण मुलुकले भ्रमण वर्ष मनाइरहेको सन्दर्भका कारण बढी महत्वपूर्ण हुन गएको छ । यो महोत्सवको विशेषता अरु महोत्सवभन्दा पृथक छ । ग्रामीण जनजीवनमा लुकेको नेपाली कला, संस्कृति, साहित्य र मौलिकतालाई विश्वसामु चिनाउन महोत्सवले भूमिका निर्वाह गर्ने अपेक्षा सबैको छ । गाउँको भेषभुषा, रहनसहन, खानपान विदेशी पाहुनाका लागि अध्ययन, खोज र नौलो विषय हुन्छ । यही मौलिकतालाई विकाउ बनाएर पर्यटन प्रबर्धन गर्न सकिनेतर्फ अब सोच्ने बेला आएको छ ।

एसियन भन्ने नामैले यो महोत्सव एसियाली मुलुकको पर्यटनसँग सामिप्यता राख्ने अनुमान गर्न सकिन्छ । तर विगतमा बाहुनडाँगीमा भएका पाँचौ संस्करणसम्मका महोत्सवहरुले पुरै एसियालाई समेट्न सकेको पाइएको थिएन । तथापि समेट्न सक्यो कि सकेन भन्ने विषयमा विवादको जरुरी छैन । किनकि हाम्रो मुलुकको पर्यटनको विकास र विस्तारका लागि हामीले एसियामात्र होइन, पुरै विश्वव्यापी सोच राख्न जरुरी छ । एसियन ग्रामीण पर्यटन महोत्सवले पूर्वोत्तर भारतको दार्जीलिङ, सिक्किम, आसाम, मेघालय, पश्चिम बङ्गाल लगायतलाई प्रतयक्ष रुपमा जोड्ने गरेको छ । जहाँबाट अनेक उद्देश्य बोकेर पर्यटकहरु नेपाल आउने गर्छन् । बङ्गाली धर्म र संस्कृति नेपालीसँग मिल्दोजुल्दो भएको हुँदा त्यहाँबाट पर्यटन भित्राउने रणनीति नेपालले बनाउन सक्नुपर्दछ । यसका लागि महोत्सवले ठूलो अवसर प्रदान गर्दै आएको छ ।

यसपटक महोत्सव नाकामै आयोजना हुने भएको हुँदा पर्यटकीय चहलपहल बढ्ने सम्भावना छ । काँकरभिट्टा सोझै भारत, भूटान र बङ्गलादेशलाई नजिकबाट नियाल्ने नेपालको आँखीझ्याल हो । काँकरभिट्टा हुने महोत्सवमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र भारतको सिक्किम प्रान्तका मुख्यमन्त्री पीएस गोले प्रमुख अतिथि बन्ने खबर आएको छ । यो अझ बढी खुशीको विषय हो । पर्यटकीय विषयमा संसारको ध्यान खिच्न यो तहको उपस्थिति सकारात्मक हुनेछ । नेपाललाई बाह्य पर्यटकहरुको आकर्षणकोकेन्द्र बनाउन पूर्वी नाका काँकरभिट्टामा हुन लागेको महोत्सव कोशेढुङ्गा सावित होस्, शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: