सुन्नेभन्दा बोल्ने बढी !

 

मेचीनगर । विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने औपचारिक कार्यक्रमहरु प्रायः भद्दा बन्दै गएका छन् ।

अतिथिहरुलाई स्टेजमा बोलाउने अनि सहभागीलाई जबरजस्त सुन्न लगाउने गलत संस्कृति बढ्दै जाँदा कार्यक्रमको लोकप्रियता घट्दै गएको हो ।

आसन र भाषण संस्कृति मौलाउँदै गएको छ । सबै अतिथिहरुले बोल्नै पर्ने अनि सहभागीले बसेर सुनिदिनु पर्ने ।

जसले गर्दा हाम्रा कार्यक्रमहरु लक्षित समुदायले मन पराउन छाडेका छन् । मेचीनगरमा शुक्रवार एक वन समूहको साधारणले यस्तै नियति भोग्नु परेको छ ।

खुट्टीडाँगी सामुदायिक वन समूहको साधारण सभा तोकिएको समयभन्दा ठीक १ घण्टापछि सुरु भयो ।

कार्यक्रममा बोलाइएका अतिथिहरुलाई आसन ग्रहण गराउन झण्डै आधा घण्टा लाग्यो । यतिसम्म कि मेचीनगर प्रमुख विमल आचार्यदेखि टोल सदस्यसम्मलाई अतिथि बनाएर राखियो ।

वन समूहमा करिब तीनसय उपभोक्ता छन् । तर, वार्षिक साधारण सभामा दुखले एकसय जति उपभोक्ता भेला भएका थिए ।

कार्यक्रम सञ्चालिका समूहकी सचिव इन्दिरा नेपालले अतिथिका रुपमा बोलाइएका व्यक्तिहरुलाई क्रमशः शुभकामना मन्तव्य राख्न समय छुट्याइन् । अनि करिब दुई घण्टा निरन्तर चल्यो भाषण ।

शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि बोल्ने क्रममा सहभागी उपभोक्ताको कुर्सी प्रायः खाली थियो भने स्टेजमा अतिथिको भीड नै थियो । स्टेज भरिभराउ थियो ।

सहभागी भाषण सुनेर ‘वाक्कदिक्क’ भएर कार्यक्रमस्थलबाट क्रमशः बाहिरिए ।

एक उपभोक्ता कार्यक्रम स्थलबाट बाहिरिदै भन्दैथिए, ‘यो आसन र भाषणले हैरान नै पारिसक्यो । अतिथिहरुलाई बोल्न दिने कि हाम्रा कुरा सुन्ने हो ? कुरा बुझ्नै गाह्रो भो ।’

कुनै पनि संस्थाको साधारण सभा त्यहाँको सदस्यको कुरा सुन्ने ठाउँ पनि हो । तर, उद्घाटन सत्र लामो समय चलिरहँदा बन्द सत्रका कार्यक्रमहरु कोरम नपुगेर स्थगित हुने गरेका घटना थुप्रै भइरहेका छन् ।

जुन प्रयोजनका लागि तय गरिएको हो, त्यसको ठीक उल्टो गतिमा हिँड्दा कार्यक्रमहरु उद्देश्य र लक्ष्यहीन बन्दै गएको हो ।

औपचारिक कार्यक्रमलाई सटिक नबाउने हो भने सहभागीको उपस्थिति कमजोर बन्दै जानेछ । त्यसैले, कार्यक्रमलाई भद्दाभन्दा सटिक बनाएर सञ्चालन गर्नु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: