सन्थाल पूजा पहिलोपल्ट ‘मदिरामुक्त’ (फोटो फिचर)

मेचीनगर । मेचीनगर–१५ मा सन्थाल समुदायले गाउँमा शान्ति, पितृ उद्धार र प्राकृतिक विपत्तिबाट जोगिनका लागि परम्परागत रुपमा करम पूजा गरेका छन् । पूजालाई पहिलोपल्ट मदिरामुक्त तुल्याइएको आयोजकको भनाई छ ।

मोरङ जिल्लाबाट आएका सन्थाल पुजारीले गाउँको माझमा निर्माण गरिएको पूजास्थलमा शनिवार विहान दियो बाली मन्त्र जपेपछि सुरु भएको करम पूजाको प्रदेश नं. १ का सांसद गोपाल बुढाथोकीले व्यानर खोलेर विधिवत् उद्घाटन गरेका थिए ।

उद्घाटनमा मेचीनगरका नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती र मेचीनगर–१५ का वडाध्यक्ष राजन भट्टराई लगायतको उपस्थिति थियो ।

शुक्रवारदेखि निराहार ब्रत बसेका सन्थाल समुदायले शनिवार पूजा सकेर नदीमा नुहाएपछि मात्र खानपिन गरेका छन्। पुजारी लक्ष्मण शरणले करम पूजामा माछामासु र मदिरा नचलाइएको बताए । पूजामा ढोल बजाउँदै सिठी फुकेर नाचगान गरिएको थियो ।

प्रायः सन्थाल संस्कारका कार्यमा मदिरा र मासु चलाउने चलन छ । सन्थालहरु मदिरामा लठ्ठिएर आर्थिक पाटोमा कमजोर बनेको हुँदा अब पूजाआजामा मदमासु नचलाउन प्रोत्साहित गर्न थालिएको सन्थाल पूजारी शरण बताउँछन् ।

करम पूजाको आयोजक मेचीनगर–१५ भिन्डीवस्तीका माझीहाडाम् कमलेश मर्डी हुन् । उनले मेची नदीले सन्थाल वस्ती बगाउन लागेको, गाउँमा आत्महत्या लगायतका अकाल मृत्युका घटना बढेको र अशान्ति झै–झगडा बढ्न थालेको हुँदा शान्तिका लागि परम्परागत करम पूजाको आयोजना गरिएको बताए ।

करम पूजा सकेपछि सन्थाल समुदायका ब्रतालुले खिचडी खाएका छन् । माछामासु र मदिरा नचलाइने पूर्व जानकारी दिएकाले पूजामा सहभागीको समेत सङ्ख्या सोचेभन्दा कम भएको सन्थाल अगुवा एवम् माझीहाडाम् मर्डी बताउँछन् ।

उद्घाटन अवसरमा बोल्दै प्रदेश सांसद गोपाल बुढाथोकीले सन्थाल समुदायमा मदिराको अनियन्त्रित सेवनले समुदायकै आर्थिक, सामाजिक र स्वास्थ्य अवस्था नाजुक भएको बताए । राज्यले सन्थाल समुदायमा मदिराको लत छुटाएर बालवालिकालाई शिक्षामा र वयस्कहरुलाई शिपमूलक तालिममा प्रोत्साहित गर्नुपर्ने उनको धारणा छ ।

मेचीनगरका प्रमुख विमल आचार्यले आफ्नो तलबभत्ताको १४ हजार रुपैयाँको चेक विपन्न सन्थाल समुदायका चार परिवारको स्वास्थ्य विमा गराउनका लागि कार्यक्रममै हस्तान्तरण गरेका छन् ।

नगरप्रमुख आचार्यले सन्थाल संस्कृति संरक्षणका लागि बाजागाजा किन्न नगरपालिकाले सहयोग पुर्याउने र यसैवर्ष मेचीपारिको गाउँ एवम् ज्यामिरगढी मावि जोड्न निन्दा र मेची नदीमा झोलुङ्गे पुल बनाइने आश्वासन दिए ।

नगरकी उपप्रमुख मीना उप्रेतीले मादक पदार्थको अत्याधिक प्रचलनले सन्थाल समुदायलाई अघि बढ्न बाधा पुर्याइरहेको धारणा राख्दै सो समुदायको चेतना र भौतिक विकासका लागि नगरपालिकाले बजेट विनियोजन गर्ने बताइन् ।

वडाध्यक्ष राजन भट्टराईले वडाको बजेटबाट सन्थाल समुदायको फुसको छानोमा टिन लगाउने व्यवस्था मिलाइने जानकारी दिदै ट्याक्टरका श्रम गराउनको साटो आफ्ना छोराछोरीलाई स्कुल पठाउन आग्रह गरे ।

सन्थाल समुदायबाट स्नातक अध्यययनरत् सोहन मुर्मुले सन्थाल जातिलाई शिक्षा र रोजगारी दिलाउने कार्यमा राज्यको ध्यान नपुगेको गुनासो गर्दै स्नातकोत्तर तहसम्म उनीहरुलाई शिक्षा निःशुल्क हुनुपर्ने माग गरे ।

आयोजक माझीहाडाम् कमलेश मर्डीको अध्यक्षता र स्थानइि जनप्रतिनिधि नेत्र दाहालको सञ्चालनमा भएको कार्यक्रममा गरामनीकी सन्थाल अगुवा महिला शान्ति मर्डीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् ।

अध्यक्ष कमलेश मर्डीले सन्थाल बस्ती रहेको भिन्डीबस्तीलाई विकासका दृष्टिले पछाडि पारिएको गुनासो गर्दै स्कुल जानका लागि निन्दा नदीमा झोलुङ्गे पुलको माग गरे । उनले सन्थाल समुदायलाई स्थानीय वडापालिका, नगरपालिका र प्रदेश सरकारले वेवास्ता गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: