के हामीले प्रश्न पनि गर्न नपाउने ? - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

के हामीले प्रश्न पनि गर्न नपाउने ?

मेचीनगर, १४ जेठ । मेची अञ्चल अस्पताल भद्रपुरको नयाँ भवनमा कोभिड अस्पताल बनाउने कि अन्यत्रै लैजाने वहस झापामा चलिरहेको छ । यो बेला अस्पताल नजिक घर भएकी मेची बहुमुखी क्याम्पसकी पूर्व प्रमुख टीका प्याकुरेलले स्थानीयवासी र सम्बेदनशील स्वास्थ्य सेवाहरु सङ्क्रमणको कति जोखिममा छन् भन्ने विषयमा नयाँ अस्पताल बनाउनु अघि विज्ञहरुले अध्ययन गर्नु पर्ने बताएकी छन् ।

‘कोभिड अस्पताल चाहिँदैन, बनाउनुहुँदैन भनेर हामीले कहिल्यै भनेका छैनौं,’ अस्पतालको नयाँ भवनबाट ५० मिटरको दूरीमा घर भएकी पूर्व क्याम्पस प्रमुख प्याकुरेलले लोकतन्त्र पोस्टसँगको कुराकानीमा भनिन्–‘यत्रो सम्बेदनशील विषयमा निर्णय लिइँदा प्रभावित क्षेत्रका बासिन्दा र सरोकारवालाहरुसँग परामर्श नगरिदा हामीलाई दुःख लागेको छ ।’

मेडिकल कलेज बन्छ भन्ने खबर सुन्दै आएका स्थानीय वासिन्दालाई एक्कासी कोभिड अस्पताल बन्ने अरे सुन्दा झस्का परेको सुनाउँदै उनले कोभिड अस्पताल बनेपछि वरपरका सयौं घरपरिवार, मेची अञ्चल अस्पतालको नियमित उपचार सेवा, पोषण गृहको सेवा र रेडक्रसको रक्तसञ्चार सेवामा नकारात्मक प्रभाव पर्छ कि पर्दैन भनेर स्थानीयवासीलाई आश्वस्त तुल्याउन विज्ञहरुका तर्फबाट कुनै धारणा अहिलेसम्म नआएको गुनासो व्यक्त गरिन् ।

अस्पतालको नयाँ भवन ।

चार तला बन्नु पर्ने गरी ठेक्का लगाइएको मेची अञ्चल अस्पतालको नयाँ भवन हाल दुई तला पनि निर्माण कार्य नसकिएको हुँदा कोभिडलाई अधुरो भवन हस्तान्तरण गरिनु उचित हुने कि नहुने विषयमा समेत ध्यान नगएको उनको धारणा छ ।

नयाँ भवन अधुरो मात्र नभएर कुनै घेराबेरा समेत नभएको अवस्थामा कसरी त्यहाँ कोभिड अस्पताल उपयुक्त हुन्छ भन्ने उनको प्रश्न छ ।

कोरोना भाइरस जाँच्ने पीसीआर मेसिन राख्न प्रयोगशाला तोकिएको स्वास्थ्य कार्यालयको तालिम केन्द्रमा समेत कम्पाउन्ड वाल नभएको उनले जानकारी दिइन् । बर्खाका बेला बगेर आउने भेलले कोभिड अस्पताल क्षेत्रको फोहोरमैला मूल सडक र गाउँसम्म सजिलै ल्याउने उनले बताइन् ।

‘यस्ता विभिन्न सवालहरुको बारेमा स्थानीयवासीलाई आश्वस्त तुल्याइनु पर्नेमा कुरै बुझेका छैनन् भनेर आक्षेप लगाइनु राम्रो होइन,’ प्रभावित क्षेत्रकी नागरिक अगुवा प्याकुरेल भन्छिन्–‘कोभिड अस्पताल बन्ने र त्यसबाट सबैले लाभान्वित हुन पाउने कुरामा सकारात्मक नै छौं, तर सङ्क्रमण फैलिन्छ कि फैलिदैन भनेर के हामीले प्रश्न पनि गर्न नपाउने ?’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: