मेचीनगरमा ‘कोरोना अस्पताल’ बनाउन जनस्तरबाटै प्रस्ताव - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

मेचीनगरमा ‘कोरोना अस्पताल’ बनाउन जनस्तरबाटै प्रस्ताव

मेचीनगर, १७ जेठ । झापामा कोरोना अस्पतालको आवश्यकता बढिरहेको बेला मेचीनगरको धुलाबारीमा त्यस्तो अस्पताल बनाउन सकिने सम्भावना देखिएको स्थानीय सामाजिक अगुवा बिजय डालमियाले लोकतन्त्र पोस्टसँग बताएका छन् ।

मेची उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष डालमियाले धुलावारीको मेची आम्दा अस्पतालको जग्गामा कोरोना अस्पताल बनाउने भए स्थानीयले सहयोग गर्ने बताए ।

हाल झापामा १०० बेडको कोरोना अस्पताल बनाउने भनी प्रदेश नं. १ सरकारले निर्णय गरिसकेको छ ।

तर प्रदेशले भद्रपुरको मेची अञ्चल अस्पतालको नयाँ भवनमा बनाउन प्रारम्भिक तयारी गरेपछि स्थानीयले विरोध जनाएका छन् । विरोधपछि काम अघि बढेको छैन ।

‘हामीले पूर्वी नाकामा रहेको कारण मेचीनगरमा कोरोनाका विरामी राख्न आइसोलेसन बेडसहितको अस्पताल चाहिन्छ भनेर सुरुदेखि नै मेचीनगर नगरपालिकालाई घच्घच्याइरहेका छौं,’

‘भद्रपुरमा विरोध भएको हो भने मेचीनगरमा ल्याए हामी स्वागत मात्र होइन, सहयोग पनि गर्नेछौं’–डालमियाले भनेका छन् ।

मेची आम्दा अस्पतालको मूल भवन पछाडि २ बिगाहा जग्गा खाली छ । सो जग्गामा एक सातामा भूकम्प प्रतिरोधी नयाँ भवन बनाउन सकिने र त्यहाँ कोरोना अस्पताल सञ्चालन गर्न सकिने उनको तर्क छ ।

डालमिया कोरोना महामारीमा पीडित भएकाहरुलाई सहयोग गर्न गठित मेची अभियानका संयोजक समेत हुन् । उनले लकडाउन सुरु भएदेखि नै आम्दामा आइसोलेसन अस्पताल सञ्चालन गरिनु पर्ने आवाज उठाउँदै आएका छन् ।

‘हामीले पूर्वी नाकामा रहेको कारण मेचीनगरमा कोरोनाका विरामी राख्न आइसोलेसन बेडसहितको अस्पताल चाहिन्छ भनेर सुरुदेखि नै मेचीनगर नगरपालिकालाई घच्घच्याइरहेका छौं,’ मेची अभियानका संयोजक डालमिया भन्छन्–‘अब त झापामा कोरोना विरामीको सङ्ख्या १०७ पुगिसक्यो, कोरोना अस्प्ताल नबनाई सुखै छैन ।’

धरानमा लगिएका झापाका २७ जना कोरोना विरामीलाई रातभर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाहिरै राखेको र अहिले विहान मात्र सामाजिक विकास मन्त्री जीवन घिमिरे आफै पुगेर ती विरामीलाई भर्ना गराएका छन् ।

अहिले भएका अस्पताल विरामीले भरिभराउ भइसकेको जनाउँदै अभियन्ता डालमियाले झापामा कोरोना अस्पताल बनाउनुको विकल्प नभएको बताए । मेचीनगरमा अस्पताल बनाउन सकिने सम्भावनाका बारेमा गम्भीरतापूर्वक सोच्न उनले प्रदेश सरकारलाई आग्रह समेत गरेका छन् ।

‘आम्दाको अहिलेको भवनमा अरु विरामी जाँच गर्दा भइहाल्छ, खाली रहेको २ बिगाहा जग्गामा नयाँ भवन एक हप्तामै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाउन सकिन्छ,’ उनी भन्छन्–‘चाइनाले बुहानमा ७ दिनमा १००० बेडको कोरोना अस्पताल बनाउन सक्यो भने हामी त्यही अवधिमा १०० बेडको भवन बनाउन नसक्ने कुरै आउँदैन ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: