माधव पक्षको शंका ः बालुवाटारमा फेरि चोचोमोचो – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

माधव पक्षको शंका ः बालुवाटारमा फेरि चोचोमोचो

मेचीनगर । सत्ता पक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्षनेताहरुबीच विश्वासको कतिसम्म संकट छ भन्ने ज्वलन्त उदाहरण आइतबारको एउटै ‘अफवाह’ पर्याप्त बन्यो ।

नेकपाभित्र फैलिएको शंकाको डढेलो सोमबार साँझसम्म पनि निभेको छैन । अझै यो शंकाको लपेटोले प्रचण्ड र माधव नेपाल पक्षलाई समेत छोएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ–आफ्ना समूहका पाँच जना नेतासहित बालुवाटारमा छलफलमा बसेका थिए ।

छलफलका क्रममा संकट समाधानको सूत्र पहिल्याउन दुवैतर्फका दुई–दुईजना नेताहरुलाई अनौपचारिक जिम्मा दिइएको समाचार बाहिर आयो । एक प्रकारले कार्यदल नै बनेको खबर बालुवाटारबाट बाहिरियो ।

आइतबारको छलफलमा दुई अध्यक्ष आ–आफ्नै अडानमा थिए । तर, अब थप असमझदारी नबढाउने भन्दै दोस्रो तहका नेताहरुले एक्लाएक्लै कुरा गर्न ओली र प्रचण्डलाई सुझाव दिएका थिए ।

तर, माधव नेपाल पक्षको सहभागिता बिनै कार्यदल बनेको भन्दै माधव नेपाल पक्षका नेताहरु सशंकित भए । कार्यदल बनेको समाचारले प्रचण्ड–माधव समूहमा आशंका जन्मियो । ओली र प्रचण्डले फेरि चोचोमोचो मिलाएको भन्दै नेपाल पक्षका नेताहरु आक्रोशित बने ।

महासचिव बिष्णु पौडेलले दुई अध्यक्षबीच वार्ता सकारात्मक ढंगले अघि बढेको भन्दै कुनै पनि कार्यदल नबनेको स्पष्ट पारेका थिए । प्रचण्डले पनि माधव नेपालसहितका नेताहरुसँग कार्यदल नबनेको बताएका थिए ।

तर, नेपाल समूहका नेताहरुले त्यसलाई पत्याएनन् । किनभने, अघोषित कार्यदल बनेको खबर बालुवाटारबाटै बाहिरिएको थियो ।

कार्यदलको प्रचारबाट शुरु भएको विश्वासको संकट आइतबार साँझसम्म अझ चर्कियो । यहीवीचमा दुवै अध्यक्षबीच अनौपचारिक समझदारी बनेको भन्दै कथित पाँच बुँदे सम्झौता नै सार्वजनिक भयो । उक्त बेवारिसे सम्झौता कतिपय चिनिएकै नेकपा–कार्यकर्ताले सामाजिक सञ्जालमा राखे ।

त्यसपछि माधव नेपाल पक्ष प्रचण्डसँग झनै सशंकित भयो । नेपाल पक्षधर कतिपय कार्यकर्ताले पनि प्रचण्डले ओलीसँग चोचोमोचो मिलाएर माधव नेपाललाई फेरि धोका दिन लागेको भन्दै सामाजिक सञ्जालबाटै असन्तुष्टि जनाए । यद्यपि सो प्रचारलाई प्रचण्डको सचिवालयले खारेज गरेर विज्ञप्ति नै निकाल्नु प¥यो ।

अघोषित कार्यदलका सदस्य भनिएका विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्माको गृहकार्य सोमबार पनि चलेको बुझिएको छ । कथित कार्यदलका चारमध्ये एक नेतालाई हामीले सोध्यौं, तपाईहरु कार्यदल बनेको छैन भन्नुहुन्छ, तर आज पनि चार जनावीच छलफल भएको हो ?

ती नेताले सञ्चारकर्मीसँग भने, ‘यो कुनै कार्यदल हैन, तर हामीले आज सामान्य छलफलचाहिँ ग¥यौं ।’

यी परिघटनाहरु दुई उदाहरण मात्र हुन्, जसले नेकपाका शीर्षनेताहरु एक अर्काप्रति विश्वास गर्नै नसक्ने अवस्थामा पुगेका छन् भन्ने देखाउँछ । केपी ओलीविरुद्ध एक ठाउँमा उभिएका प्रचण्ड र माधव नेपालबीचमै पनि विश्वासको संकट देखा परेको छ भन्ने उदाहरण आइतबारका यी घटनाक्रम हुन् ।

सोमबार के भयो ?

यसैवीच सोमबार पनि बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डले एक्लाएक्लै कुराकानी गरे । स्थायी कमिटीको बैठक बुधबार सम्मलाई स्थगन गरियो । दुई अध्यक्षवीच के कस्तो कुराकानी भयो भन्नेबारे माधव नेपाल पक्षलाई जानकारी दिइएको छैन ।

ओली र प्रचण्डको छलफलपछि खुमलटारमा ६ जना सचिवालयका नेताहरु पुनः छलफल गर्ने भनिएको थियो, तर प्रचण्डले त्यसमा रुची नदेखाएको माधव नेपाल पक्षका नेताहरु बताउँछन् । तर, प्रचण्ड पक्षका नेताचाहिँ ६ भाइको बैठक पूर्वनिर्धारित नरहेको र त्यसैरी पटक–पटक बस्नु उपयुक्त पनि नहुने बताउँछन् ।

उच्च सूत्रका अनुसार सोमबार बालुवाटारमा भएको दुई अध्यक्षवीचको छलफल ‘राम्रो मुढ’मा भएको थियो । प्रधानमन्त्री ओलीमा पनि आफूलाई बहुमतले हटाउँछ कि भन्ने डर हटेका कारण उनी ‘रिल्याक्स मुढ’ मा देखिएको स्रोतले बतायो । तर, उनी आजसम्म पनि प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्ने पक्षमा भने देखिएका छैनन् ।

भोलि मंगलबार पनि दुबै अध्यक्ष पुन बस्ने गरी छुटेका र दुबै नेताहरुको अडान यथावतै रहेको स्रोतले बतायो ।

के पाक्दैछ भित्र–बाहिर ?

आइतबार सहयोगी नेताहरुसहित छलफलमा बसेका ओली र प्रचण्ड सोमवार एक्ला एक्लै बसे । बिहान ११ बजे निर्धारित स्थायी कमिटी बैठक पुनः दुई दिन पर सार्ने निर्णय सहमतिमै भए पनि अरु कुनै सहमति भएको छैन ।

दुवै अध्यक्ष आ–आफ्ना पूर्ववत् अडानमा रहेका दुवैतिरका नेताहरुबीच अधिकतम सहमतिको खाका बनाउने प्रयास भने भइरहेको छ ।

अहिलेसम्म केपी ओली मंसिर ४ गतेको समझदारीमा फर्किने बाहेक अन्य कुनै विकल्पमा तयार भएका छैनन् । मंसिरको ४ को सहमति अनुसार पार्टीको सम्पूर्ण बागडोर प्रचण्डले सम्हाल्ने र ओली सरकार सञ्चालनमा मात्रै केन्द्रित हुने प्रस्ताव ओली पक्षको छ ।

यद्यपि प्रचण्डले आलोपालोको पूर्वसहमति अनुसार ओलीलाई प्रधानमन्त्री पद छाड्न दबाब दिएकाले मंसिर ४ को समझदारीमै कुरा मिल्ने अवस्था अहिलेसम्म आइसकेको छैन ।

प्रचण्डले ओलीलाई तत्कालै दुईमध्ये एक पद छाड्न वा जेठ २ को समझदारीमा फर्किन आग्रह गरेका छन् । जेठ २ को समझदारी भनेको आलोपालो प्रधानमन्त्री हो । तर, ओली भने जेठ २ को समझदारी मंसिर ४ मै टुंगिसकेकाले अरु विषयमा मात्र छलफल गर्ने पक्षमा छन् ।

प्रधानमन्त्री र अध्यक्ष दुवै पद ओलीले नछाड्ने र छाड्नुपर्ने कारण पनि नभएको संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन् । नेम्वाङले भने, ‘केपी ओली र प्रचण्डमध्ये कुनै एकजनालाई हटाउन खोज्ने हो भने त्यही विन्दुबाट पार्टी एकता भंग हुन्छ ।

हामीले महाधिवेशन सम्मलाई संक्रमणकाल भनेका छौं, यहाँ दुई अध्यक्षको सहमति बाहेक हामीसँग अरु बैधानिक बाटो छैन । अर्को बाटो जान खोजियो भने दुर्घटना हुन्छ । मैले दुवै अध्यक्षलाई यो कुरा भनेको छु ।’

तर, ओलीले दुवै पद नछाड्ने हो भने अरु विषयमा समझदारीको अर्थ नहुने माधव नेपाल पक्षधर नेताहरु बताउँछन् । पार्टीको बैठकमा नबस्ने, बैठकका निर्णय नमान्ने धम्की दिने र आफ्नो प्रतिकुल निर्णय भए पार्टी फुटाउने धम्की दिने कुरा अश्वीकार्य हुने नेपाल पक्षका नेताहरुको भनाई छ ।

प्रधानमन्त्री र अध्यक्ष दुबै नछाड्ने अडान यथावत्

प्रधानमन्त्री ओलीले दुवै पद छाड्ने बाहेक अन्य विषयमा समझदारी गर्न सकिने उनी पक्षधर नेताहरुले बताएका छन् । प्रचण्ड र माधव नेपालसहितको समझदारीमा मन्त्रिपरिषद पुनर्गठन गर्ने, कतिपय प्रदेशका मुख्यमन्त्रीहरु हेरफेर गर्ने, पार्टीका नेताहरुको जिम्मेवारी फेरबदल गर्ने र सरकार सञ्चालनमा ओलीको कार्यशैली फेर्नेजस्ता कुरामा समझदारी गरेर जान सकिने ओली निकट एक नेताले बताए ।

अहिले समझदारीको प्रयास पनि यसकै वरिपरि रहेर भइरहेको नेकपा स्रोतले जनाएको छ । यस्तो आशयको प्रस्ताव यसअघि योगेश भट्टराईले पनि दुवै पक्षलाई राखेका थिए ।

दुई अध्यक्षबीच हुने समझदारीलाई पार्टीमा छलफल गराउने बाहेक अन्य बाटोबाट जाँदा पार्टी फुट्ने भएकाले मध्यमार्गी नेताहरुले वैकल्पि उपाय सुझाएका हुन् ।

तीमध्येका एक नेता भन्छन–कम्युनिस्ट पार्टीमा बिचार र सिद्धान्तको बहस हुनुपर्नेमा अहिले हामीबीच पार्टीको निर्णय मान्ने कि नमान्ने भन्ने विषयमा विवाद छ ।

यस्तो पार्टीमा कुनै बहुमतले अन्यथा निर्णय गर्दा पार्टी बिभाजन मात्र हुने भए त केही थिएन यो संविधान नै नरहने खतरा छ र मुलुक नै संकटमा पर्ने अवस्था देखिँदैछ ।

प्रधानमन्त्री तथा पहिलो बरियताका अध्यक्ष ओलीले दुवै पदबाट हट्न अर्को पक्षले दिएको दबाव अस्वीकार गरिसकेका छन् । पछिल्लो समय एक पद छाड्न प्रचण्डले गरेको आग्रह पनि ओलीले खारेज गरेका छन् ।

प्रचण्डले आफूसँग समझदारी नगरी माधव नेपाल पक्षसँग मिलेर संख्याका आधारमा आफूलाई हटाउन खोजे त्यहि विन्दुबाट पार्टी फुट्ने उनले भनिसकेका छन् ।

त्यसो भए समाधान चाहिँ के त ? यो प्रश्नको जवाफ कसैसँग छैन । यसपटक पनि ओलीलाई पार्टी निर्णय मान्न बाध्य नपारिने हो भने उनी झन् स्वेच्छाचारी हुने र पार्टी प्रणाली नै समाप्त हुने डर माधव नेपाल पक्षको छ । तर, ओलीको सहमतिबिना हुने कुनै पनि निर्णयले पार्टी फुट्ने डर पनि अर्कोतिर छ ।

त्यही भएर सहमति भएपछिमात्र बैठक राख्ने भन्दै पटक–पटक स्थायी कमिटी बैठक सारिएको छ । केन्द्रीय सदस्यहरुले स्थायी कमिटीको सानो घेराबाट होइन, केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने भन्दै बैठक मागेर हस्ताक्षर अभियान चलाइरहेका छन् । तर, अहिलेको नेकपाको संकट पार्टीका बैठकहरुले गर्ने एकपक्षीय निर्णयबाट समाधान हुनेखालको छैन ।

प्रधानमन्त्री ओली पार्टीका बहुसंख्यक नेताहरुको दबावपछि पनि पद छाड्न तयार नभएपछि पार्टी जोगाउन मध्यमार्गी सम्झौता गर्ने वा विभाजन स्वीकार गर्ने ? दुईमध्ये एक बाटो रोज्नुपर्ने बाध्यतामा नेकपा नेताहरु पुगेका छन् ।

पार्टी एकता जोगाउन भए पनि कुनै न कुनै सम्झौतामा पुगेर नेकपाको अहिलेको संकटको अस्थायी समाधान निस्कने अनुमान ओली पक्षका नेताहरुले लगाएका छन् ।

माधव पक्ष भन्छ– चोचोमोचो स्वीकार्य हुँदैन

माधव नेपाल पक्षले दुई अध्यक्षबीचको चोचोमोचो मात्र स्वीकार्य नहुने चेतावनी दिएको छ ।

दुई अध्यक्षले गोप्य कोठामा समझदारी गर्ने र त्यसलाई पार्टीको बैठकमा ल्याएर अनुमोदन गर्ने कुरा स्वीकार्य नहुने नेपाल निकट एक स्थायी कमिटी सदस्यले बताए ।

जे छलफल हुने हो, बैठकमै हुनुपर्ने र बैठकले गर्ने निर्णय नै सबैका लागि मान्य हुनुपर्ने नेपाल पक्षको अडान छ । यो कुरा प्रचण्डलाई पनि भनिएको ती नेताले बताए ।

यसैवीच, मध्यमार्गी नेताहरुले ओली र प्रचण्डको समझदारीमा माधव नेपालसहितका बरिष्ठ नेताहरुलाई पनि सहभागी गराएर पार्टीलाई विभाजनबाट जोगाउन दबाव दिइरहेका छन् ।

तर, प्रधानमन्त्री ओलीले माधव नेपाललाई छलफलमा राख्न नमानेको प्रचण्ड पक्षका एक नेताले बताए ।

सोमबार दिउँसो घनश्याम भुसाल र योगेश भट्टराईले यसबारेमा ईश्वर पोखरेलसँग पनि छलफल गरेका थिए । (अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: