मेचीनगरको बजेट १ अर्व ६७ करोड ९९ लाख – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

मेचीनगरको बजेट १ अर्व ६७ करोड ९९ लाख

।। अर्जुन कार्की ।।

मेचीनगर । मेचीनगरको आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि १ अर्व ६७ करोड ९९ लाख रुपैयाँको बजेट आएको छ ।

विहीबार छैठौँ नगरसभामा मेचीनगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले नीति तथा कार्यक्रमसहितको उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाको यसवर्षको बजेट गतवर्षको तुलनामा २५ करोड बृद्वि भएको छ । अघिल्लो वर्ष २७ करोडले बजेट बृद्वि भएको थियो ।

नगरपालिकाले गतवर्ष २०७६÷७७ को १ अर्व ४२ करोड ८८ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ को १ अर्व १४ करोड ९३ लाख ६९ हजार ४ सय १५ रुपैयाँको बजेट थियो ।

देशकै ठूलो र झापाकै सबै भन्दाबढी बजेट विनियोजन गर्दै आएको मेचीनगरले आगामी आर्थिक वर्षका लागि अघिल्लो र गतवर्षको तुलनामा यसवर्ष बजेट आकास पतालको फरक पारेको छ ।

क्षेत्रगत प्रस्तावित अनुमानित बजेट खर्च १ अर्व २० करोड ६७ ला रुपैयाँ छ भने भौतिक पूर्वाधार तर्फको बजेट ४७ करोड ३२ लाख रुपैयाँ छुट्टाइएको छ ।

यसवर्ष संघिय सरकारले आठ वटा शिर्षकमा बजेट घटाएको छ भने दुई वटा शिर्षकमा बजेट बढाएको देखिन्छ ।

शर्सत अनुदानमा सामाजिक सुरक्षा भत्ता बाहेक यसवर्ष ४६ करोड ६० लाख छ भने गतवर्ष ३२ करोड मात्र वजेटमा छुट्टाईएको थियो ।

त्यस्तै संघिय र प्रदेशको नगरपालिकाले चलाउने आन्तरिक बाडफाडको बजेट भने यसपटक ८ करोड भन्दाबढीले घटेर आएको छ ।

कोभिड–१९ को महामारी समेतलाई मध्येनजर गरेर स्वास्थ्य, शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राखेर बजेटको तयारी गरिएको उपप्रमुख  उप्रेतीले जानकारी दिइन् ।

बजेट तर्जुमा समितिकी संयोजक समेत रहेकी उपप्रमुख उप्रेतीले असार १० गते नीति तथा कार्यक्रमबाट बजेटको सिलिङ प्रस्तुत गर्न पाइनन् ।
नगरपालिकाको आन्तरिक समस्याले गर्दा नीति तथा कार्यक्रम प्रस्तुत गर्न ढिलाइ भएको थियो ।

उनले संविधान अनुसार असार १० देखि २५ गते भित्र बजेट घोषणा गर्न मिल्ने भएकोले विहीबार मात्र नगर सभामार्फत बजेट सार्वजनिक गर्ने अवसर पाइन् ।

गतवर्षको तुलनामा यसवर्ष संघिय र प्रदेश सरकारको नगरपालिकाले बाडफाड गर्ने करिव ८ करोड भन्दाबढी बजेट घटेको उनको भनाई छ ।

केन्द्र र प्रदेश सरकारको शर्सत अनुदानको ६० करोड सहयोग भने बढेर आएको छ । यसपटक बजेटमा पूर्वाधार लगायतका विकास निर्माणका काममा खर्च कटौती भएको छ । यसपटक नगरपालिकाले आन्तरिक तर्फ ७४ करोडबढीको बजेट चलाउन पाउने छ ।

आगामी वर्षका लागि नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २४ करोड ६७ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजस्व वाँडफाटको १४ करोड ४८ लाख ४० हजार, १ नम्बर प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ८८ लाख ८६ हजार, १ नम्बर प्रदेश सरकारबाट प्राप्त हुने राजस्व वाँडफाडको १ करोड ७५ लाख ९६ हजार रुपैयाँ, मालपोत रजिष्ट्रेशनबाट ३ करोड, सडक बोर्ड नेपालबाट ५० लाख छ ।

विहीबार नगरसभाको सभापतित्व नगरप्रमुख विमल आचार्यले गरेका थिए ।

नगरसभामा आर्थिक समितिका ंसंयोजक सुदय पनेरु, विधायन समितिकी संयोजक कुसुम चौधरी, सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक विन्द्रा प्रसाई, पूर्वाधार विकास समितिका संयोजक कृष्ण कनाल, वन तथा वातावरण समितिका संयोजक टिकाराम मंग्रातीले, सामाजिक विकास समितिका संयोजक नविन बरालले, न्यायिक समितिका सदस्य छठबहादुर राई, राजश्व परामर्श समितिका सदस्य सचिव चक्रपाणि खनालले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङले गरेका थिए ।

बुधबार नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा शुरु भएको नगरसभाको प्रमुख आतिथ्यता प्रदेश नम्बर १ का सभा सदस्य श्रीप्रसाद मैनालीले गरेका थिए । उपप्रमुख उप्रेतीले नगरसभामा निती तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उक्त निती तथा कार्यक्रम बुधबारै पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: