प्रचण्ड अब एकल अध्यक्ष, ओली पुरै कार्यकाल प्रधानमन्त्री ः गजुरेल – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

प्रचण्ड अब एकल अध्यक्ष, ओली पुरै कार्यकाल प्रधानमन्त्री ः गजुरेल

मेचीनगर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेलले पार्टीभित्र दुई अध्यक्ष जरुरी नरहेको बताएका छन् ।

गजुरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष र केपी शर्मा ओली प्रधानमन्त्री हुनुपर्ने पक्षमा आफू रहेको बताए ।

‘अहिलेको आवश्यकता एउटा अध्यक्ष हुने र अर्को प्रधानमन्त्री हुने हो । यसले पार्टीको स्थायी समाधान हुन्छ,’ उनले भने,‘छिटोभन्दा छिटो महाधिवेशन गर्नुपर्छ । सीमाको समस्या समाधान लगायतका काम भइरहेको अवस्थामा सरकारको नेतृत्व वर्तमान प्रधानमन्त्रीले र पार्टीको नेतृत्व प्रचण्डले गर्दा राम्रो हुन्छ भन्ने मेरो धारणा हो ।’

उनले पार्टीमा दुई अध्यक्ष हुँदा समस्या भएकाले एउटै अध्यक्ष हुनुपर्ने समेत बताए ।

‘हिजोको अवस्थामा दुई अध्यक्ष आवश्यक थियो तर अहिले त्यसले समस्या पैदा गरेको छ । दुई अध्यक्ष भएपछि हरेक कुरा सोध्न पर्ने हुने रहेछ । थोरै असन्तुष्टि हुँदा पनि समस्या हुने रहेछ,’ उनले भने,‘त्यसो गर्दा एक(अर्काको आवश्यकता महशुस हुन्छ नत्र एक–अर्काको आवश्यकता पनि महशुस भएन । एउटा बेरोजगारजस्तो अर्को व्यस्तमात्रै भइरहने अवस्था छ ।’

कुराकानीका मुख्य बुँदा ः

–दुई अध्यक्षको भूमिकालाई सुनिश्चित गर्ने पार्टी र सरकारका कामलाई व्यवस्थित गर्ने र त्यसको समन्वयलाई प्रभावकारी बनाउने निष्कर्षसहित अहिले जारी स्थायी समिति बैठक सकिन्छ ।

–प्रचण्डलाई कार्यकारी बनाउँदा पनि समस्याको हल भएन । प्रधानमन्त्री छोड्दा राम्रो सन्देश पनि नजाने भएकाले अहिलेको सन्दर्भमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड हुँदा राम्रो हुने रहेछ ।

–अब पूर्वएमाले र पूर्वमाओवादी भन्ने छैन । पार्टी अन्तरघुलन भइसकेको छ । त्यसैले दुई–दुई अध्यक्ष चाहिन्न भन्ने हो ।

–कागजमा जे लेखे पनि दुई अध्यक्ष भइरहँदा यस्तै हुन्छ। उहाँहरूको स्वभावले पनि यस्तै छ । दुबैको वर्चस्व कायम गर्ने स्वभाव छ । एउटा अध्यक्ष, अर्को प्रधानमन्त्री भएपछि सहकार्य हुन्छ ।

–अहिले सहमति ठ्याक्कै भइसकेको छैन । उहाँहरूको बीचमा विकल्पबारे छलफल भएको होला । उहाँहरुले बाहिर ल्याउनुभएको छैन । पार्टी र सरकारको सम्बन्ध अनि दुई अध्यक्षको भूमिकामै सहमतिको प्रयास भइरहेको छ । कार्यविभाजन मुख्य कुरा हो ।

–एकथरिले दुबै पदबाट राजीनामा दिने भनेका छन् भने अर्कोथरिले दुबैबाट दिन हुन्न भनेका छन् । त्यही भएर विकल्पबारे छलफल भएकोजस्तो मलाई लाग्छ ।

–पार्टीमा गुट मौलाएको छ । गुट मौलायो भने इमान्दार पाखा लाग्दै जान्छन् । गुटले गलत मान्छेलाई संरक्षण गर्छ ।

–पार्टीभित्र बनेका समिकरणले पनि समस्या परिरहेको छ । समिकरण नबनाउन मैले पहिला पनि सुझाव दिएको हो । हिजो दुई जना बसेर समाधान खोज्न सक्नुहुन्थ्यो । अहिले आफ्ना समिकरणमा छलफल गर्नुप¥यो । समिकरण बनेको कारणले अप्ठेरो भएको छ ।

–यसलाई धेरै लम्ब्याउन हुँदैन । एकातिर बजेट कार्यान्वयन गर्ने बेला भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दो छ । अर्थतन्त्र डामाडोल छ, अनि सीमाको समस्या र बाढी पहिरोसँग जुध्न पर्ने भएकाले बैठक सक्नुपर्छ ।

–एउटाले पार्टी र अर्कोले सरकार भन्नेमा विमति छजस्तो मलाई लाग्दैन । तर यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा विमति छ । यसैको वरिपरि सहमति हुने हो अन्त गएर हुँदैन ।
करिब–करिब पार्टी फुटिसकेको थियो । अब त्यो दुर्घटना टरेको छ ।

(सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: