पक्षघातका रोगी क्षितिजलाई न अपाङ्ग भत्ता न ह्वील चियर – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

पक्षघातका रोगी क्षितिजलाई न अपाङ्ग भत्ता न ह्वील चियर

झापा, १७ साउन (रासस) । मेचीनगर नगरपालिका वडा नम्बर–३ दोकान डाँडाका पक्षघातका रोगी १६ बर्षीय क्षितिज राईको दैनिकी ह्वील चियर अभावमा मुढामा बसेर वित्ने गरेको छ ।

विहान उज्यालो भएसँगै हजुरआमाले घरको सिुकुवामा मुढामा राखिदिएपछि साँझ नपरेसम्म उनको सम्पूर्ण समय त्यही वित्ने गरेको हो । उमेर १६ बर्ष भए पनि उनी हेर्दा चार÷पाँच बर्षका देखिन्छन् । मुखबाट २४ सै घण्टा र्याल चुहिरहन्छ । राम्रोसँग टाउको ठाडो नहुने उनको बोली समेत आउँदैन । उनको हात खुट्टा पनि चल्दैनन् ।

जन्मिएको सात महिनामै उनलाई छाडेर हिंडेका बाबुको हालसम्म अत्तोपत्तो छैन । आमा रोजगारीको सिलसिलामा कतारमा छिन् । उनलाई मावलकी हजुरआमाले हेरचाह गर्दै आएकी छिन् । ६७ बर्षीया हजुरआमा चन्द्रमाया सुब्बाले भनिन्, ‘जन्मिदा साढे चार किलोको थियो मेरो नाति । सात महिनाको हुँदा निमोनिया भयो भन्दै डाक्टरले सुई हानिदिँदा नातिको यो हालत भयो ।’

उनलाई नातिलाई के भएको हो भन्ने पनि पत्तो छैन । पक्षघात भएका नातिलाई स्याहार्दै १६ बर्ष विताउनुभएकी चन्द्रमाया भन्छिन्, ‘ह्वील चियरसम्म पाए पनि बाहिर भित्र गराउन सजिलो हुने थियो । कति दिन मुढालाई उल्टाएर नातिलाई राख्नु ।’ ठूलो प्लाष्टिकको डोरीले बुनेको मुढालाई उल्टाएर उनलाई बर्षौदेखि राखिदै आएको छ ।

क्षितिजलाई अपाङ भएको कार्डका लागि वडाले सिफारिस नदिँदा समस्या भएको हजुरबुबा कुमार लिम्बूले बताए । ‘धेरैपटक वडाध्यक्षलाई भन्यौ’, उनले भने, ‘खै चासो नै दिनुभएन । कहाँ जाने कसलाई भन्ने ।’ अपाङ्गता भएको कार्ड समेत बने पनि सरकारले दिने सुविधाले उनलाई राहत पुग्ने बाहुनडाँगी जेसीजका कार्यकारिणी उपाध्यक्ष देबु बानियाँले बताए ।

पटकपटक जनप्रतिनिधि र अपाङ्गताको क्षेत्रमा काम गर्नेहरुलाई कार्ड र ह्वील चियरका लागि अनुनय विनय गर्दा समेत बेवास्ता गरेको बानियाँको आरोप छ । अपाङ्ग समन्वय समिति मेचीनगरका सदस्य गंगा सङ्ग्रौलाले उनका बारेमा जानकारी लिएर हालसम्म कोही पनि नगरपालिका नआएको बताए ।

वडाले सिफारिस गरेको कागजात र डाक्टरले चेकजाँच गरेर छुट्याइदिएको अपाङ्गताको वर्गको आधारमा भत्ता वितरण गरिने जानकारी दिँदै उनले भने, ‘१६ बर्षभन्दा सानो उमेर भएमा अनिवार्य जन्मदर्ता र त्यो भन्दा माथिको उमेर भएमा सिफारिस गर्दा अनिवार्य नागरिकता चाहिन्छ ।’ दुवै नभएका कारण उनी भत्ताबाट बन्चित बन्न पुगेको भए बुझेर समन्वय गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: