जनताप्रति उत्तरदायी बनेन स्थानीय सरकार

                                     पवित्रा न्यौपाने

मेचीनगर नगरपालिका वडा नम्बर ९ र १० मा यतिबेला स्थानीय सरकारले लकडाउन घोषणा गरेको छ । धुलाबारीका एक जना १५ बर्षीय किशोरमा कोरोना संक्रमण देखिएको र समुदायलाई सुरक्षित बनाउने उद्देश्यले लकडाउन घोषणा गरेको भन्ने जनप्रतिनिधिहरुको निस्कर्ष छ । तर हामी स्थानीयवासी यो लकडाउनसँग आजित भइसकेका छौं । व्यापार व्यवसाय चौपट्टै भएको छ । यस्तो बेला पीसीआर टेस्टको दायरा बढाउनु पर्ने हो । लकडाउन गरेर जनमानसमा त्रास फैल्याउनु उचित हुँदैन ।

उद्योग, कलकारखानामा हुनेखाने मान्छे काम गर्न आउँदैन । विहान बेलुकाको खाद्यय जो गर्नका लागि उनीहरु सुरक्षा नीति अप्नाएर काम गरिरहेका छन् । तर स्थानीय सरकार दिनदहाडै उद्योग, कलकारखानामा प्रहरी पठाएर बन्द गर्न निर्देशन दिन्छ । बन्द गर्ने निर्देशन होइन सरकारले तोकेका मापदण्ड अनुसार मजदूरलाई तलब दिएको छ कि छैन, स्वास्थ्य सामाग्री राखिएको छ कि छैन भनेर अनुगमन गर्न जरुरी छ । लामो समय थला परेर भर्खरै सञ्चालनमा आएको व्यवसाय स्थानीय सरकार बन्द गर्न निर्देशन दिन्छ भने त्यहाँ कार्यरत मजदूरको रोजीरोटीको पनि व्यवस्था उसैले गर्न सक्नुपर्छ ।

स्थानीय सरकारका जनप्रतिनिधिले सञ्चालन गरेका व्यापार व्यवसायमा भारतीय नागरिक आएर धमाधम काम गरिरहेका छन् भन्ने सूचनाहरु यही नगरपालिकाभित्र आउन थालेको छ । के पहुँच हुनेले जे गर्दा पनि हुने, अनि सर्वसाधारणले चलाएको उद्योग धन्दामा सेनिटाइजर, मास्क, साबुन पानीको व्यवस्थासहित सामाजिक दुरी कायम गरेर काम गर्न पनि नपाइने ? उद्योग धन्दा होइन जनप्रतिनिधिले सक्छन् भने साप्ताहिक रुपमा लाग्ने हाट बजारको भीड नियन्त्रण गरुन् । तरकारी र किराना पसलमा लागेको भीडमा उनीहरुको ध्यान जाओस् । भारतबाट मजदुर ल्याएर काम गर्न बन्द गरियोस् । स्वदेशमै हजारौं बेरोजगार युवा युवती छन् ।

उद्योगी व्यवसायीको मात्र होइन, त्यहाँ कार्यरत मजदुरहरुको पनि पीसीआर टेस्ट गराउन पहल गर्नुपर्छ । कनकाई नगरपालिकामा भर्खर मात्र सर्वसाधारणको पहलमा पीसीआर टेस्ट गर्ने उपकरण जडान भइसकेको छ । सक्छ भने नगरपालिकाले पनि मेचीनगरमा एउटा पीसीआर मेसिन राख्ने पहल गरोस् हामी सबैको सहयोग रहनेछ । यस्ता काममा चाहिँ ध्यान नदिने अनि थला परिसकेका व्यवसायलाई बन्द गर्न प्रहरी पठाउने ? जनताले जनप्रतिनिधिलाई सधैका लागि अधिकार दिएर पठाएका होइनन् । हेक्का रहोस् पाँच बर्षका लागि मात्र भन्ने । यस्तो महामारीको समयमा जनताप्रति उत्तरदायी बन्न सकेनौं भने जनताले भविष्यमा राम्रो पाठ सिकाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: