ल्याव हेर्न मन्त्रीहरु आए, अनुमति आएन

  प्रकाशित मिति
३० श्रावण २०७७, शुक्रबार १७:१७


झापा, ३० साउन । प्रदेश नं. १ मा कोभिड १९ को संक्रमण डरलाग्दो गतिमा बढिरहेको छ । कोभिड अस्पतालहरुमा संक्रमितलाई राख्ने ठाउँ नभएकाले सयौं विरामीहरु हाल होम आइसोलेसनमा बस्न बाध्य छन् ।

समस्या यतिमै सीमित छैन । केही दिन अघि विर्तामोड र भद्रपुरका सबै ठूला अस्पतालले पीसीआर टेस्ट नगरी विरामी भर्ना नलिने भनेपछि डुलाउँदा डुलाउँदै मेचीनगर र कनकाईका दुई बालकको उपचार अभावमा ज्यान गयो ।

परिस्थिति अझ गम्भीर कहाँनेर छ भने स्वाव संकलन भएको चारदेखि पाँच दिनपछि मात्र पीसीआर टेस्टको रिपोर्ट आउने गरेको छ । कतिपय अरु नै विरामीको उपचार नपाएर मृत्यु भइसकेपछि मात्र कोरोनाको रिपोर्ट आएका घटना पनि छन् ।

यस्तो भयावह समस्या हुँदाहुँदै दुःखको कुरा के हो भने झापाको कनकाईमा जनस्तरमा चन्दा उठाएर स्थापना गरिएको पीसीआर ल्याव भने सरकारले सञ्चालनमा लामो समयदेखि आनाकानी गरिरहेको छ ।

छिटो पीसीआर रिपोर्ट आओस् भनेर चाहने हो भने कनकाईको ल्याव पनि छिटो सञ्चालनमा आउनु पर्ने हो । तर सत्तामा बसेकाहरुले यो आवश्यकतालाई बुझेनन् ।

एकका लागि एक अभियानले एक करोड भन्दा बढी सहयोग संकलन गरेर पीसीआर किन्यो र सरकारलाई हस्तान्तरण गर्ने भनिरहेको छ । मन्त्रीहरु एकपछि अर्को निरीक्षणमा आउँछन् र भन्छन् –‘यति राम्रो ल्याव सञ्चालनमा आउनै पर्छ ।’

सबैभन्दा पहिला सामाजिक विकास मन्त्री जीवन घिमिरेले कनकाईमै आएर जनस्तरको पीसीआर ल्याव सञ्चालनका लागि आवश्यक सबै सहयोगको घोषणा गरे ।

त्यसपछि थपिए आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की । उनले एटा भर्चुअल छलफलमा बोल्दै कानूनी अड्चन भए फुकाएर पनि जनस्तरको ल्याव सञ्चालनमा ल्याउन आफु तयार रहेको बताए ।

शुक्रवार विहान ११ बजे मुख्यमन्त्री शेरधन राई नै ल्याव निरीक्षणमा आए । उनले पनि उही भाषा र आश्वासन दोहोर्याए । जनस्तरको ल्याव सञ्चालनमा ल्याउन आफु प्रतिबद्ध रहेको मुख्यमन्त्रीको भनाई थियो ।

असारमै स्थापना भएको कनकाईको ल्याव साउनदेखि सञ्चालनमा ल्याउने तयारी भइसकेको थियो । तर अहिलेसम्म सरकारी अलमलका कारण सञ्चालन हुन सकेको छैन । सबै मन्त्री, सबैजसो सांसद् र सबैजसो दलका नेता सो ल्याव छिटो सञ्चालनमा आओस् भन्ने बताउँछन् । आखिर किन सञ्चालनमा आउँदैन ? के हो बाधक ? कसले रोकिरहेको छ ? अब यो प्रश्नको जवाफ खोज्नै पर्ने भएको छ ।

मुख्यमन्त्री भन्छन् -‘एकदुई दिनमै अनुमति दिलाउँछु’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एकका लागि एक अभियानले झापाको कनकाईमा पिसिआर परीक्षण ल्याब स्थापना गरेकोमा प्रशंसा गरेका छन् ।

कनकाईस्थित समर्पण भवनमा स्थापना भइसकेको ल्याबको शुक्रवार विहान ११ बजे स्थलगत निरीक्षणपछि मुख्यमन्त्री राईले ल्याब आफूले सोचेभन्दा धेरै नै व्यवस्थित रहेको पनि बताए । ‘मैले धेरैवटा ल्याब हेरेको छु‘, मुख्यमन्त्री राईले भने, ‘तर, नागरिकले स्थापना गरेको यो ल्याब धेरै नै उत्कृष्ट र व्यवस्थित रहेछ ।’

उनले नागरिकको पहलमा सरकारलाई सहयोग गर्ने हिसाबले स्थापना गरिएको ल्याब सञ्चालनका लागि आफू गम्भीर रहेको बताए । ‘यत्तिको उत्कृष्ट ल्याब सञ्चालनमा किन आउन सकिरहेको छैन’, उनले प्रश्न गरे, ‘यो कहाँ अड्किएको रहेछ, कसले अनुमति दिनुपर्ने रहेछ म खोजी गर्छु ।’

निरीक्षणपछि भएको छलफलमा मुख्यमन्त्री राईले आजै विराटनगर पुग्नेबित्तिकै सबैभन्दा पहिला यसका बारेमा खोजीनीति गर्ने र एकदुईभित्रमा अनुमति प्राप्त प्रदान गरेर यसलाई सञ्चालन गर्ने प्रबन्ध मिलाउने कुराको वचन दिएका छन् ।

प्रदेश १ मा समुदायमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला गम्भीर बन्दै परीक्षणको दायरा बढाउनुपर्ने उनको भनाइ थियो । त्यस कारण पनि एकका लागि एकले स्थापना गरेको ल्याब चाँडै सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, कानकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललगायतले सरकारले यथाशक्य चाँडो ल्याब सञ्चालनमा ल्याउनैपर्ने बताए । कानुनी प्रावधान हेरेर ल्याब सञ्चालन गर्न ढिलो गर्न नहुने उनीहरुको तर्क थियो ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीले अभियानले पृष्टभूमि र उद्देश्यका बारेमा प्रस्ट पारेका थिए । उनले नागरिकको पवित्र भावनालाई नजरअन्दाज नगर्न आग्रह गरेका थिए । छलफलको सहजीकरण पत्रकार एकराज गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
error: content is protected if you want please contact Admin
error: content is protected if you want please contact Admin