नेतालाई लागेन नियम, राप्रपा पनि उस्तै

मुख्यमन्त्रीलाई चाहिएन मास्क, कृषि मन्त्री र संविधानसभा सदस्यको चिउडोमा ।

झापा, ३१ साउन । झापामा मास्क नलगाई हिँडेको भेटिएमा सर्वसाधारणले प्रहरीलाई एक सय रुपैयाँ जरिवाना तिर्नु पर्ने नियम छ ।

तर यो नियम नेताहरुलाई लगाइएको छैन । झापाकै अर्जुनधारा नगरपालिकाका विभिन्न कार्यक्रममा मुख्यमन्त्री शेरधन राई विहीबार मास्क नलगाई सहभागी भए । यसका कारण उनी मिडियामा आलोचित भए, तर दण्डित भएनन् ।

सानालाई ऐन, ठूलाबडालाई चैन भन्ने उखान समेत झापामै चरितार्थ भइरहेको छ । सरकार धेरै भीड नगर्नु र ठूला सभा नगर्नु भन्छ । तर उपप्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कमल र शिवसताक्षीमा शुक्रवार कार्यकर्ता भेलामा सयौंलाई पार्टी प्रवेश गराए ।

पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला अतिथि रहेको कमल गाउँपालिकामा आयोजित कांग्रेसको पार्टी प्रवेश कार्यक्रम ।

सवाल पार्टी प्रवेशको मात्र थिएन, त्यहाँ भीडमा धेरैले मास्क लगाए तापनि सामाजिक दूरीको पुरै वेवास्ता गरिएको थियो । भेला र भीड नगर्ने नियमले कांग्रेसलाई छोएन ।

कम्युनिस्ट र कांग्रेस पछि मास्क र सामाजिक दूरीको सार्वजनिक वेवास्ता गर्ने लाइनमा झापाको राप्रपा पनि उभिएको छ ।

राप्रपाले भन्यो बैठक, गर्यो आमभेला ।

हल्दिबारीमा शनिवार राप्रपाको ३ नं. क्षेत्रीय समितिको विस्तारिक बैठक आयोजना गरिएको थियो । बैठक के भन्नु, खासमा त्यो बैठक एउटा गतिलै आमभेला थियो । सरकारले २५ जनाभन्दा बढी भेला भएर कुनै कार्यक्रम नगर्नु भनेर जारी गरेको निर्देशन त्यहाँ लागू भएन ।

विस्तारित भेला भनिएको कार्यक्रममा धमाधम पार्टी प्रवेशको कार्यक्रम राखियो । बोलाउँदै पार्टीको सदस्यता रसिद थमाउने कार्य धुमधामका साथ गरियो । भेलाका सहभागीले सामाजिक दूरीको पुरै वेवास्ता गरेका थिए ।

चिउडोमा मास्क लगाएर पार्टी प्रवेश गराउँदै राप्रपाका जिल्ला सचिव ओझा ।

सबैभन्दा रोचक कुरा त के थियो भने रसिद थमाउने अतिथि एवम् राप्रपा झापाका सचिव केशवप्रसाद ओझा र हल्दिबारीका गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले चिउडोमा मास्क लगाएका थिए । राप्रपाकै दावी अनुसार त्यस कार्यक्रममा २४ जनाभन्दा बढीलाई पार्टी प्रवेश गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: