कृषिमा जुट्दै क्षितिज नाट्य समुहका कलाकार

मेचीनगर, ८ भदौ । क्षितिज नाट्य समुह झापाका कलाकार यतिबेला सामुहिक कृषि तथा फलफूल खेती व्यवसायमा जुटेका छन् ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण कलाकारिता क्षेत्र समेत प्रभावित भएपछि उनीहरु कृषिकर्ममा जुटेका हुन् ।

बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधीन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर परिसरमा क्षितिज नाट्य समुहले सामुहिक धानखेती, अग्र्यानिक सागसब्जी तथा ड्रागनफ्रुट खेती र व्यवसायिक सयपत्री फूल खेती गरिरहेको समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण अभियानका अभियन्ता रंगकर्मी माधव कल्पितले बताए ।

बिर्तामोड–१ का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र उनकै ६ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर दुई करोड रुपैयाँको लागतमा क्षितिज नाट्य समूह झापाको अगुवाईमा प्रदेश नं.१ कै ऐतिहासिक धरोहरका रुपमा निर्माणाधीन झापा नाटक घरको निर्माण कार्य रोकिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारणबाट आर्थिक अभाव भएर केही समयका लागि स्थगन हुन पुगेपछि क्षितिज नाट्य समुह झापाका कलाकारहरु व्यवसायिक कृषि कर्ममा जुटेको उनले वताए ।

लकडाउनका कारण अहिलेको अबस्थामा आम समुदायलाई मनोरञ्जन भन्दा पनि सिर्जनात्मक कर्मको आवश्यकता भएकाले लकडाउनलाई अवसरको रुपमा सदुपयोग गर्दै समाजमा सिर्जनात्मक उदाहरण प्रस्तुत गर्ने उद्देश्यले व्यवसायिक सामुहिक कृषिकर्ममा जुटेको समुहकी उपाध्यक्ष तथा कलाकार सुजना खतिवडाले बताइन् ।

बिर्तामोडको हनुमान सेन्ट्रलमा इलाम कोशेली भण्डार नामक अग्र्यानिक व्यवसाय समेत सञ्चालन गरिरहेकी उपाध्यक्ष खतिवडाले लकडाउनलाई मानसिक त्रासको रुपमा नलिएर अवसरको रुपमा सदुपयोग गर्दै कृषि कर्म गरे आत्मनिर्भर हुनुका साथै शरीर स्वस्थ भएर कोरोना भाइरस जस्ता महामारीबाट बच्न सकिने दावी गरिन् ।

समुहले झापा नाटक घर परिसरको १० कठ्ठा जग्गामा धान खेती, दुई कठ्ठामा ड्रागनफ्रुट खेती, दुई कठ्ठामा सयपत्री फूल खेती र सहारा नेपालको सहकार्यमा निर्मित एकथान टनेलमा सागसब्जी तथा बेर्ना उत्पादन गरिरहेको समुहका केन्द्रीय अध्यक्ष कल्पितले जानकारी दिए ।

समुहले अमेगा तीन र एन्टिअक्सिडेन्ट जस्ता दुर्लभ तत्व भएको घरका करेसावारी तथा बरण्डामा नै गमलामा उत्पादन गर्न सकिने ड्रागनफ्रुट खेतीेलाई दुई कठ्ठा जग्गामा लगाएर यसै वर्षबाट व्यावसायिक रुपमा ड्रागनफ्रुटको खेतीे शुरु गरिएको छ ।

ड्रागनफ्रुट, एबोकाडो, किवी लगायतका फलफुलका बिरुवा समेत बिक्री गर्दै आएको समूहका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीले बताए ।
समुन्द्र सतहबाट १२ सय मिटरसम्मको उचाइमा लगाउन सकिने ड्रागनफ्रुटको खेती बिशेषतः अरेवियन र खाडी मुलुकहरुको मरुभूमि र सुख्खा ठाउँमा गरिने भए पनि नेपालको हावापानीमा समेत यसको खेती हुन थालेपछि समूहले ब्यावसायिक रुपमा नै यसको खेतीमा लागेको कल्पित बताउँछन् ।

झापा नाटक घर परिसरमा रहेको डेमोबाट हाल कृषक तथा संघ–संस्थाहरुले ड्रागनफ्रुटको बिरुवा लैजाने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: