जागिरबाट विदा भए चाप्लुसी नरुचाउने प्रशासक खतिवडा

।। अम्बिका भण्डारी ।।
झापा, १९ भदौ । पैसा र कुर्सीभन्दा नागरिकको सेवा प्यारो ठान्ने जनप्रशासक पशुपति खतिवडाले ३१ वर्षे निजामती जागिरबाट विदा लिएका छन् ।

झापाको दमक निवासी खतिवडा अवकाश पाउँदा विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिए ।

भदौ १७ गते सेवानिवृत्त खतिवडालाई शुक्रवार नगरले संक्षिप्त कार्यक्रमका बीच विदाइसहित सम्मान गरेको छ । कार्यक्रममा विदाई गर्ने र पाउने दुबै पक्षको आँखा रसाएका थिए ।

विधि र प्रक्रियाबाट अलिकति पनि यताउती गर्न नमान्ने उनको चट्टानी अडान सोर्सफोर्स, प्रलोभन र भनसुनका भरमा सरकारी काम गर्न पल्केकाहरुका लागि रुचिकर हुँदैनथ्यो ।

ठूला नेताको सोर्स लगाउने र चिनजानको फुर्ती लडाउनेलाई नगन्ने र सामान्य नागरिकलाई सोधीखोजी गरी गरी छिटो छरितो सेवा पुर्याउने उनको बानी नै थियो ।

झापाको मेचीनगर र दमक नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत भएर सेवा गरिसकेका उनले प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकालाई देशकै उत्कृष्ट विकास सूचकांक भएको सुशासनयुक्त नगरपालिकाको रुपमा पुरस्कृत समेत गराउन सफल भएका थिए ।

सीधा र प्रष्ट बोल्ने स्वाभाव भएका उनलाई चाकरी र चाप्लुसीका हिमायतीले पटक्कै रुचाउँदैनथिए ।

कार्यालयमा आफ्नो कोठा र कुर्सी भब्य रुपमा सजाउने उनको बानी थिएन । साधारण टेबुल र कुर्सीमा बस्न रुचाउने उनले कहिल्यै कोठामा एसी (वातानुकूलित उपकरण) जोडेनन् ।

उनी आफ्नो कोठा र कुर्सीमा काम परेका बेला मात्र बस्थे । कार्यालय समयमा जहिल्यै पुग्ने उनी कार्यालयमा धेरै समय विभिन्न फाँट र शाखामा डुलेर नागरिकको काम छिटो छरितो तुल्याउन सघाउँथे ।

शुक्रवार विर्तामोड नगरपालिकाले आयोजना गरेको विदाई कार्यक्रममा असल राष्ट्रसेवक खतिवडाको सबैले खुलेर प्रशंसा गरे । वक्ताहरु निकै भावुक भएका थिए ।

विर्तामोडकी उपमेयर पवित्रा महतराले प्रमुख प्रशासकीय अधिकृत खतिवडाको प्रशासनिक नेतृत्व क्षमता र समन्वयकारी भूमिकाको सराहना गर्दै उहाँको अभाव सँधै खड्किरहने बताइन् ।

गत वर्ष नेपाल निजामती कर्मचारी संगठन झापाले खतिवडालाई स्व. प्रमोद तामाङको स्मृतिमा स्थापित उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट पुरस्कृत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: