कोरोना कहरमा पनि भानु सहकारीको मुनाफा ५६ लाख

मेचीनगर, २१ भदौ । कोरोनाको सङ्कटकालमा समेत मेचीनगरको भानु बहुमुखी सहकारी संस्थाले लक्ष्यभन्दा बढी मुनाफा प्राप्त गरेको छ ।

आव २०७६/०७७ मा सो सहकारीले ५६ लाख ५११ रुपैयाँ मुनाफा गरेको व्यवस्थापक चन्दा सिटौलाले बताइन् ।

सो अवधिमा संंस्थाले ४९ लाख रुपैयाँ मुनाफाको लक्ष्य निर्धारण गरेको थियो ।

कोभिड -१९ को विश्वव्यापी महामारीका कारण नेपालमा गत चैत ११ देखि लकडाउन सुरु भएको थियो । त्यसयता असार मसान्तसम्मको चार महिना कोरोना सङ्कटकालबाट मुलुक गुज्रिएको थियो । जो अझै जारी छ ।

मेचीनगर–१० धुलावारीमा प्रधान कार्यालय रहेको सो सहकारी लकडाउन सुरु भएको एक सातापछि नै नियमित कामकाजमा फर्किएको थियो ।

संस्थाले सो अवधिमा ३० लाख ५३ हजार शेयर थप गरेर कूल शेयरपूँजी १ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ ।

यसैगरी, यही अवधिमा सहकारीले २४ करोड १ लाख ६० हजार ९०२ रुपैयाँ निक्षेप सङ्कलन, २१ करोड ३३ लाख ३० हजार ६७५ रुपैयाँ निक्षेप फिर्ता, ७ करोड ७१ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी र ६ करोड ३८ लाख ४९ हजार २७६ रुपैयाँ कर्जा असुली गरेको व्यवस्थापक सिटौलाले जानकारी दिएकी छन् ।

२०५७ साल साउन ३२ गते २७ जनाले एक लाख ३५ हजार शेयर रकम जम्मा गरी स्थापना भएको भानु सहकारीले सदस्यहरुको हित र सुविधाका लागि विभिन्न कल्याणकारी कार्यहरु गर्दै आएको छ । हाल संस्थामा २२ सय महिलासहित ४३ सय शेयर सदस्य रहेका छन् ।

संस्थाका सबै कर्मचारी र सञ्चालक समितिका सदस्यहरुको कोरोना बिमा गरिएको, राहत कोषका लागि मेचीनगर नगरपालिकालाई ५१ हजार रुपैयाँ सहयोग गरिएको, पीसीआर मेसिन खरिद गर्नका लागि जिल्ला सहकारी सङ्घलाई २५ हजार रुपैयाँ प्रदान गरिएको, ब्रेन ट्युमरको उपचारका लागि सागर खड्कालाई १० हजार रुपैयाँ दिइएको र आगलागी पीडित देबीमाया प्रधानलाई १५ हजार रुपैयाँ राहत सहयोग दिइएको सहकारीका अध्यक्ष गोपाल चुडालले जानकारी दिए ।

अध्यक्ष चुडालका अनुसार कोरोनाबाट जोगिएर कामकाज गर्नका लागि कार्यालयलाई व्यवस्थित गरिएको, सेवाग्राहीका लागि साबुनपानी हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क अनिवार्य गर्ने प्रक्रिया अपनाइएको बताए ।

सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सावधानी अपनाएर संस्थाले नियमित बैठकहरु सम्पन्न गरिरहेको र यही भदौभित्र वार्षिक वजेट समेत तर्जुमा गर्ने उनले बताएका छन् । नगरपालिकाले तत्काल साधारणसभा नगर्न निर्देशन जारी गरेको र सरकारले नै साधारणसभाको म्याद पुस मसान्तसम्म थपेको कारण तत्काल वार्षिक साधारणसभा नगरिएको उनले स्पष्ट पारे ।

२०६४ सालदेखि कर्मचारीहरुलाई सञ्चयकोष र उपदान सुविधा प्रदान गर्दै आएको भानु सहकारीले चालू आर्थिक वर्षमा आफ्नै भवन निर्माण गर्ने लक्ष्य निर्धारण गरेकोमा कोरोना सङ्कटका कारण पूरा हुन सकेन । कोरोना मत्थर भएपछि धुलावारीको राजमार्ग नजिकै रहेको आफ्नो जग्गामा संस्थाले भवन निर्माण सुरु गर्ने अध्यक्ष चुडालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: