हात्तीको सातो उडाउने बन्दुकको बढ्यो प्रयोग

  प्रकाशित मिति
२ आश्विन २०७७, शुक्रबार १२:०२


झापा, २ असोज । झापामा जङ्गली हात्ती धपाउन क्याल्सियम कार्वाइड प्रयोग गरेर पड्काइने घरेलु बन्दुकको प्रयोग बढेको छ । गाउँतिर पसेको जङ्गली हात्ती सातो उड्नेगरी यो बन्दुक पड् किएपछि सुँढ उचाल्दै जङ्गलतिर भाग्ने गर्छ ।

गोली र बारुद प्रयोग नहुने यो प्रविधिको सस्तो र सजिलो बन्दुकले भयङ्कर आवाज मात्र निकाल्ने भएको हुँदा जंगली हात्तीको आतंक खेप्दै आएका स्थानीय समुदायमा यसको प्रयोग बढेको हो ।

भद्रपुर–२ का अनिल प्रधान र विर्तामोड–६ का रोहित लिम्बुले हात्ती धपाउने नयाँ प्रविधिको घरेलु बन्दुकको निर्माण गर्दै आएका छन् । जिल्ला बन कार्यालय झापाले समेत यसको प्रयोग गर्दै आएको छ ।

युट्युबबाट विभिन्न प्राविधिक ज्ञान लिएर स्थानीय रुपमा उपलब्ध सामग्री प्रयोग गरी निर्माण गरिएको सो बन्दुकको आवाज सुनेर जङ्गली हात्ती डराएर भाग्ने बन्दुकका निर्माणकर्ता रोहित लिम्बुको दावी छ ।

प्लास्टिकको ठूलो आकारको पाइप, क्याल्सियम कार्वाइड, सुपरग्लु, फलामको काँटीलगायतका सामग्रीले निर्मित बन्दुकबाट निस्कने आवाजले हात्ती र बन्दुक पड्काउने व्यक्तिलाई शारीरिक क्षति नहुने जिल्ला बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

वडाका जनप्रतिनिधि, सामुदायिक बनका पदाधिकारी र पत्रकारहरुको उपस्थितिमा निर्माणकर्ता लिम्बुले बन्दुकको परीक्षण गरेर देखाए ।

निचाझोडा जंगलबाट स्थानीय शेर्मा टोलमा हात्ती आएका बेला सोही बन्दुक पड्काएर हात्तीलाई सफलतापूर्वक जङ्गल धपाइएको उनले जानकारी दिए ।
बन्दुकको निर्माणमा खासै धेरै खर्च नहुने निर्माताहरुको भनाई छ । भद्रपुरका अनिल प्रधानले रु. ४ हजारमा एउटा बन्दुक बनाउन सकिने बताए । विर्तामोडका रोहित लिम्बुले त्योभन्दा सस्तोमा निर्माण गर्न सकिने दावी गरेका छन् ।

जिल्ला बन कार्यालय झापाले हात्ती धपाउन यस्तो प्रविधिको बन्दुकको प्रयोग गर्दै आएको र हात्तीपीडित समुदायलाई यसको प्रयोगमा प्रोत्साहित गर्दै आएको कार्यालयका प्रमुख घिमिरेले बताए । पश्चिम नेपालतिर बाँदर धपाउन धेरै पहिलेदेखि यस्तो प्रविधिको सफल प्रयोग हुँदै आएको उनको भनाई छ ।

जङ्गली हात्तीको आतङ्क खेप्दै आएका भद्रपुर, हल्दिबारी, विर्तामोडलगायतका क्षेत्रमा हात्ती धपाउन कतिपय वडा कार्यालय र सामुदायिक बन कार्यालयको सहकार्यमा बन्दुक निर्माण गरी टोलहरुमा बाड्न थालिएको छ ।

झापामा भारतबाट आउने हुलका हुल जङ्गली हात्ती र स्थानीय बनमा डुलिरहने एक दर्जन जङ्गली हात्तीले स्थानीयबासीलाई बर्षौदेखि प्रताडित गर्दै आएको छ ।

हात्ती धपाउन टुङ, सुरुङ, हात्तीबार, मौरीपालन, सौर्य विद्युतीय घेराबेरा, ड्रोनलगायतका विभिन्न उपायको प्रयोग हुँदै आएको छ । तीमध्ये सौर्य विद्युतीय घेराबेरा सबैभन्दा प्रभावी सावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
error: content is protected if you want please contact Admin
error: content is protected if you want please contact Admin