लेबनानमा ३ लाखमा बेचिएँकी झापाकी चेलीको व्यथा

  प्रकाशित मिति
८ आश्विन २०७७, बिहीबार १७:३८


मेचीनगर, ८ असोज । २१ महिनाअघि भारतहुँदै रोजगारीका लागि लेबनान पुगेकी झापाकी सबिता क्षेत्री (नाम परिवर्तन) कोरोनाका कारण रोजगारी गुमाएपछि यसै साता स्वदेश फर्किइन् ।

सबिता लेबनानबाट उद्धार उडानमार्फत नेपाल आएकी हुन् । लेबनानमा रहँदा आफूले धेरै दुःख पाएको उनी बताउँछिन् । लेबनानमा रोजगारीका क्रममा भोगेको पीडा कहिल्यै बिर्सन नसक्ने सबिता बताउँछिन् । त्यहाँ रहँदा १७ महिना बाहिरको वातावरण कस्तो हुन्छ भनेर देख्न समेत नपाएको उनी सम्झिन्छन् ।

विदेशमा मालामाल पैसा कमाउन सकिने सपना देखाएर नेपालबाट एजेन्ट र म्यानपावरले उनलाई विदेश पठाएका हुन् । एजेन्टमार्फत खासगरी घरेलु कामदारका रुपमा विदेशमा महिलाहरु हिंसाको शिकार हुने गरेका छन् । सबिता पनि यो नियतीबाट बच्न सकिनन् ।

विदेश पठाइएकामध्ये म आफूलाई बेचिएकी महिला भन्न चाहन्छुु, सबिताले भावुक हुँदै भनिन्, ‘परिश्रम गरेर केही पैसा कमाउँला भनेर लेबनान गएकी थिएँ, मलाई के थाहा, त्यहाँ पुगेर मैले १७ महिना नारकीय जीवन गुजार्नु पर्नेछ ।, उनका अनुसार लेबनानमा प्रायजसो पुरुषले घरमा महिला कामदार राखेर यौन हिंसा गर्ने रहेछन् ।

म यस्तै पुरुषको घरमा काम गरेर आएकी हुँ’, उनले भनिन, ‘रोजगारी दिएको छु भन्ने व्यक्तिले मलाई सिर्फ ‘सेक्स’का लागि काममा राखेको रहेछ । रोजगारी त बहाना मात्र थियो ।’

यसरी काममा राखिएका महिला कामदारलाई पाहुना आउँदा सत्कारका रुपमा समेत प्रयोग गरिने सबिता बताउँछिन् ।

लेबनानमा सबिता तरकारी र फलफूल बेच्ने व्यापारीको घरमा काम गर्थिन् । घरमा मामा र भान्जा बस्छन् । महिला कामदार राख्ने घरमा प्राय पुरुष मात्र हुन्छन् । व्यापारका लागि मामा राति बजार जान्थे भने भान्जा दिउँसो ।

दिउँसो भन्जा र राति मामाले मेरो शारीरिक शोषण गरे’, उनले भनिन्, पैसा तिरेर ल्याएकाले जसरी, जसका लागि प्रयोग गरे पनि हुने उनीहरु सोच्थे । नेपालका मात्र नभएर गरिब मुलुकका धेरै महिला कामदार लेबनानमा यसैगरी फसेका सबिताको भनाइ छ ।

३ लाखमा बेचिएँ

सबितालाई लागेको थियो ‘विदेशमा सम्मानपूर्वक काम गर्न पाउने छु, उनीहरु पक्कै सभ्य छन् । उनलाई थाहा थिएन, नेपाली एजेन्टले नै उनलाई बेचेकाले विदेशीबाट यत्रो ठूलो अपेक्षा गर्नु बेकार छ । लेबनान पुगेपछि पो थाहा पाएँ मलाई तीन लाख रुपँयौमा एजेन्टले बेचेको रहेछ, उनी भक्कानिइन् ।

त्यहाँ उनका लागि हरेक दिन ज्यादै कस्टकर रह्यो । त्यहाँबाट उम्किन कुनै विकल्प नपाउँदा उनले १७ महिनासम्म जे भोगिन्, त्यो वास्तवमै कहालीलाग्दो छ । उनले सुनाइन्, ‘साहुले रक्सी खुवाएर उसका अगाडि नाङगै उभ्याउँथ्यो, मन लागे लुछ्न आउँथ्यो । कहिलेकाहीँ साथीसमेत बोलाएर यौन सम्बन्ध राख्न बाध्य पाथ्र्यो ।’

घरेलु कामदारका रुपमा गएका महिला यसैगरी रक्सीको लतमा पर्ने गरेको उनको भनाइ छ । घरमा परिवारसँग कुरा गर्नका लागि उनले सातामा जम्मा १० मिनेटको समय पाउँथिन् । यसअघि रोजगारीका लागि कुवेत जाँदा पनि यस्तै समस्या झेल्नु परेको उनले बताइन् । कुवेतमा पनि शारीरिक शोषणमा परेँ । एजेन्टले लेबनान राम्रो हुन्छ भनेपछि कुवेतबाट फर्किने वित्तिकै लेबनान गएकी हुँ ।

कुवेतभन्दा अगाडि उनले टर्कीमा काम गरेकी थिइन् । त्यहाँ काम अप्ठेरो र कमाइ कम भएपछि उनी नेपाल फर्केर झापाको खुदुनाबारीमा तरकारी र फलफूलको व्यापार गर्न थालिन् ।

व्यापारका क्रममा मानिसहरुसँग बोल्दा परिवार र समाजले विभिन्न पुरुषसँग अनैतिक सम्बन्धको आरोप लगाउन थाले । अनि विदेशिन बाध्य भएँ, उनले भनिन् ।

उनका श्रीमान् तत्कालीन माओवादीको शसस्त्र युद्धमा होमिएका थिए । इलाममा सैन्य कारबाहीमा श्रीमान् मारिएपछि सबिताको काँधमा दुई छोराको सम्पूर्ण दायित्व आइलाग्यो । गाउँघरमा एकल महिला भएर बाँच्न निकै कठिन कुरा रहेछ, उनले भनिन्, छोरा पढाउनकै लागि जस्तोसुकै पीडा भोग्न तयार भएँ ।

त्यसैले उनी आफूले भोग्नुपरेका दुःख निष्फिक्री सुनाउँछिन् । यद्यपि, छोराको इज्जतका लागि भन्दै उनले आफ्नो असली पहिचान खुलाउन मानिनन् । मलाई पाँचथरका पाण्डव लिम्बूले १ लाख ५० हजार लिएर लेबनान पठाएका थिए । उनले मलाई क्यान्टिनको काम हो भनेका थिए ।

तस्करी गरिन्छन् महिला

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या वार्षिक रुपमा बृद्धि हुँदै गएको छ । संख्यासँगै समस्या पनि बढ्दो छ । प्रलोभनकै भरमा विदेशिएका महिलाले निकै दुःख पाउने गरेका छन् । साथमा कागजात नहुँदा त्यहाँ पुगेर अलपत्र पर्नेको संख्या पनि कम छैन ।

तस्करहरुले भारत हुँदै मलेसिया, अफ्रिका, युरोप र युद्धग्रस्त देशका लागि नेपाली महिलाहरुको तस्करी गर्ने गरेका छन् । नेपाली महिला भारत, चीन र बंगलादेशको बाटो हुँदै रोजगारीका नाममा विभिन्न देश पु¥याइने गरेका राष्ट्रिय मानवअधिकार आयोगको विभिन्न अध्ययनले औँल्याएका छन् ।

सरकारले रोजगारीका नाममा बढ्दो मानव तस्करी नियन्त्रण गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

विभिन्न देशमा बसेका मानव तस्करले नेपालमा एजेन्ट राखेर महिलाको तस्करी गर्दै आएका छन् । नेपालबाट रोजगारी लगायत विभिन्न बहानामा वार्षिक १७ हजार महिला तस्करी भइरहेको प्रहरीको अध्ययनले देखाउँछ ।

(शिलापत्र)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज