कोरोना कहर : एक लाख २२ हजार घर फर्किए, सबैभन्दा बढी युएईबाट

  प्रकाशित मिति
११ कार्तिक २०७७, मंगलवार ११:३९


झापा, ११ कार्तिक । विदेशबाट सोचेभन्दा कम नेपाली कोरोनाकालमा स्वदेश फर्किएका छन् ।

चैतमा लकडाउन सुरु हुँदै गर्दा विदेशबाट ४० लाख नेपाली घर फर्किने र तिनलाई व्यवस्थापन गर्न मुस्किल हुने अनुमान गरिएको थियो ।

तर सरकारी तथ्यांकले हवाई उडानमार्फत १ लाख २२ हजार नेपाली यस अवधिमा स्वदेश फर्किएको देखाएको छ ।

हुन त यो तथ्यांकमा स्थलमार्गबाट फर्किएकालाई जोडिएको छैन । स्थलमार्गबाट आउनेहरु निकै धेरै छन् र तिमध्ये कतिपयको रेकर्ड नै नराखिएको हुनसक्छ ।

धेरै नेपाली घर नआउनुको अर्को कारण उडान बन्द भएर पनि हो । सबै देशले बाह्य उडान बन्द वा कडाइ गरेका छन् ।

विदेशमा रोजगारी गुमाउने र स्वेच्छाले नेपालीहरु घर फर्केका हुन् । विदेशमा कोरोनाको कहर सामना गर्नेहरु उतै बसेका छन् । धेरै नेपालीको रोजगारी गुमेको पनि छैन र पढ्न गएकाहरु कलेज खुल्ला भनेर उतै बसेका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबारसम्मको तथ्यांकअनुसार १ लाख २२ हजार ५६३ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका हुन् ।

सरकारले विदेशमा रोजगारी गुमाएका तथा नेपाल आउनै पर्नेहरुलाई नेपाल आउन दिने गरेको छ ।

कोरोनाका कारण सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि सुरुमा समस्यामा परेका नेपालीलाई चार्टर उडानमार्फत स्वदेश ल्याएको थियो भने पछिल्लो समय नियमित उडान समेत स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइएको छ ।

हालसम्म ३२ मुलुकबाट नेपाली फर्किएका छन् भने फर्किनेमध्ये धेरै खाडी मुलुक र मलेसियाबाट रहेका छन् ।

विदेशबाट फर्किनेहरुमा प्रदेश नं. १ दोस्रो स्थानमा छ ।

समितिका अनुसार अहिलेसम्ममा प्रदेश नं. १ का १५ हजार ८३२ जना फर्केका छन् । पहिलो नम्बरमा बागमती प्रदेश छ । जहाँ १८ हजार ८६९ जना फर्केका छन् ।

कुनै पनि प्रदेश नखुलाइकन ४८ हजार ४६ जना स्वदेश फर्केका छन् ।

मुलुकका आधारमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई)बाट ३५ हजार ४१७ जना नेपाली फर्केका छन् ।

कतारबाट २२ हजार ५९४ जना, मलेसियाबाट १७ हजार ९२४ जना, साउदी अरबबाट १७ हजार १६० जना, कुवेतबाट ९ हजार ९२३ जना र जापानबाट ३ हजार ५४१ जना नेपाली घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज