दुर्गा प्रसाईले भने–‘‘बीएन्डसीमा नेपालमै पहिलो मुटु प्रत्यारोपण अब टाढा छैन’’

  प्रकाशित मिति
२३ कार्तिक २०७७, आईतवार ०६:००


मोहन काजी
झापा, २३ कार्तिक । नेपालमा जति पनि हस्पिटल खुलेका छन् । जति पनि डाक्टरले मुटुको उपचार गरेका छन् । ती कुनै पनि हस्पिटल र डाक्टरले अहिलेसम्म गर्न नसकेको एउटा काम हो–मुटुको प्रत्यारोपण ।

अब झापाको बीएन्डसी हस्पिटलमै त्यो अभूतपूर्व काम हुनेगरी प्रविधि र जनशक्ति भित्राइएको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताएका छन् ।

पचास करोड रुपैयाँको लागतमा अत्याधुनिक क्याथल्याब सञ्चालनमा ल्याइएको जानकारी दिन शनिवार बीएन्डसीको भगिनी संस्था पूर्वाञ्चल क्यान्सर हस्पिटलको कन्फरेन्स हलमा आयोजित पत्रकार सम्मेलनमा हस्पिटलका सञ्चालक प्रसाईले सगौरव त्यस्तो दावी दोहोर्याए ।

‘नेपालमा अहिलेसम्म नभएको मुटुको प्रत्यारोपण म बीएन्डसी हस्पिटलमा गराउँछु भन्दा फेरि मलाई केही मान्छेहरुले पागल भन्लान्,’ स्थानीय र राष्ट्रिय मिडियामा कार्यरत दर्जनभन्दा बढी पत्रकारहरुको सामू उनले भने–‘मान्छेहरुले के भन्लान्, त्यतातर्फ म लाग्दिन । मैले बीएन्डसी हस्पिटल खोल्छु भन्दा मान्छेहरुले नपत्याएर पागल भने, जब मलाई क्यान्सर लाग्यो र उपचारपछि आएर पूर्वाञ्चल क्यान्सर हस्पिटलको शिलान्यास गरें । त्यसबेला पनि मान्छेहरुले पत्याएनन् । माफियाको आरोप लगाउन पनि बाँकी राखेनन् । मार्सी पनि भने । अब फेरि भन्दैछु- नेपालमै पहिलोपल्ट बीएन्डसीमा मुटुको प्रत्यारोपण सफल बनाएर देखाउँछु ।’

स्वास्थ्य क्षेत्रमा नपत्याइएका धेरै सपनाहरु आफुले झापामा पुरा गरेर देखाइसकेको उनले चर्चा गरे । आफु ‘सपना देखाउन मात्र होइन, सपनालाई विपनामा परिणत गराएर देखाउन जन्मेको मान्छे’ भएको उल्लेख गर्दै उनले सबै ठूला काम काठमाडौंमा मात्र हुन्छ, मोफसलमा हुँदैन भन्ने हीनभावनालाई चिरेर झापामा इतिहास रच्न आफु लागिरहेको बताए ।

बर्दिया र प्युठानको दूरुदराजबाट मात्र होइन, भारतको लखनउ, आसाम र सिक्किमबाट समेत क्यान्सरको उपचार गर्न विर्तामोड आउने गरेको उदाहरणले अब झापा मेडिकल टुरिज्मको हटस्पट हुने उनले बताए ।

धोका, हण्डर र चोट सबै सहेर आफु सामाजिक र राजनीतिक रुपमा भुक्तभोगी भइसकेको उल्लेख गर्दै प्रसाईले अब देश, जनता र समाजलाई शीरमा राखेर हिँड्ने र व्यक्तिगत कुनै स्वार्थ र लाभको आशा नगर्ने दृढ सोचका साथ अघि बढिसकेको सुनाए ।

कुरा गरेर जति चर्चामा आउँछन् दुर्गा प्रसाई, दुस्साहसी काम गरेर पनि उत्तिकै चर्चामा आउने गर्छन् । तर आजको भाषणमा उनले ठट्यौली कम, गम्भीरता ज्यादा देखाए ।

उनलाई नजिकबाट चिन्नेहरु भन्छन्–प्रसाईलाई ठिक लाग्यो र गर्छु भन्ने लाग्यो भने उनले जसरी पनि त्यो काम फत्ते गरी छाड्छन् ।
मुटु प्रत्यारोपण गर्नका लागि तीन पक्षको व्यवस्थापन हुनु जरुरी हुन्छ ।

बीएन्डसीको मुटुरोग चिकित्सा टोलीसँग सञ्चालक प्रसाई ।

पहिलो हो– अत्याधुनिक (प्रविधि) उपकरण र पूर्वाधार ।

बीएन्डसीमा भौतिक संरचना नेपालकै अरु हस्पिटलको तुलनामा सबैभन्दा राम्रो छ । पूर्वाधारमा कमजोर छैन । नेपालमै सबैभन्दा बढी आइसीयु यही हस्पिटलमा छ ।

५० करोड रुपैयाँमा अत्याधुनिक क्याथल्याब मेसिन भर्खरै बीएन्डसीले भित्राएको छ । यसको प्रचारका लागि शनिवार पत्रकार सम्मेलन गरिएको हो । एमआरआई र सीटीस्क्यानको व्यवस्था पहिल्यैदेखि छ । प्रयोगशाला अत्याधुनिक नै छ । यति भए पछि प्रविधिका दृष्टिले बीएन्डसीको सेटअप मुटु प्रत्यारोपणका लागि पुग्दो भएको हस्पिटलको दावी पत्याउन करै लाग्छ ।

दोस्रो हो– उपयुक्त जनशक्ति ।

नेपाल र भारतका प्रख्यात हस्पिटलमा सेवा पुर्याइसकेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उमेश यादव बिगत केही वर्षदेखि बीएन्डसीमा कार्यरत छन् ।

प्रत्यारोपण बाहेकका अरु उपचारहरु एन्जियोप्लास्टी, एन्जियोग्राफी, ओपनहार्ट सर्जरी जस्ता जटिल उपचारमा सफलता पाइसकेका अनुभवी डा. यादवले आज पत्रकार सम्मेलनमा बीएन्डसीमा मुटुको प्रत्यारोपणका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्था भइसकेको हस्पिटलका सञ्चालक प्रसाईको दावीलाई पुष्टि गर्ने प्रयास गरे ।

मुटुरोगको शल्यक्रिया गराएका मेचीनगर -८ का सामाजिक व्यक्तित्व एवम् नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष नारायण कोइराला बीएन्डसीको उपचारप्रति सन्तुष्ट रहेको प्रतिक्रिया जनाउँदै ।

क्याथल्याबको जुन अत्याधुनिक मेसिन ल्याइएको छ, त्यो नेपालमा अन्यत्र कतै नभएको र भारतमा समेत औलामा गन्न सकिने हस्पिटलमा मात्र रहेको उनको दावी छ ।

तेस्रो चाहिने कुरा हो–कानून ।

नेपालमा अङ्ग प्रत्यारोपण कानून भए तापनि अहिलेसम्म हुँदै नभएको मुटु प्रत्यारोपणका लागि चाहिने कानूनी व्यवस्था त्यो ऐनमा पर्याप्त छैन ।

सञ्चालक दुर्गा प्रसाई आवश्यकताले कानून जन्माउने भएको हुँदा अब मुुटु प्रत्यारोपणको कानून बनाउन राज्य अग्रसर हुने बताउँछन् ।

‘पहिले कानून बनेर कहिल्यै पनि नयाँ प्रविधि आउँदैन,’ प्रसाईले भने–‘अहिलेसम्म कसैले मुटुको प्रत्यारोपण नै गरेका थिएनन्, अनि किन बन्थ्यो त कानून, अब हेर्दै जानुस् चाहिएको कानून आफै बन्छ । बनाउन तपाई हामी सबैले घच्घच्याउनु पर्छ ।’

चेन्नाईस्थित प्रसिद्ध फोर्टिज हस्पिटलका एक नम्बरका मुटुरोग विशेषज्ञ प्राडा अवनकुमार र बीएन्डसीका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उमेश यादव ।

दुई वर्ष अघिदेखि बीएन्डसीका सञ्चालक प्रसाईले मुटु प्रत्यारोपणका लागि कहाँबाट कसरी जनशक्ति जुटाउन सकिन्छ भनेर भित्री रुपमा गतिलो तयारी गरेका रहेछन् ।

त्यसको खुलासा उनले पत्रकार सम्मेलनमा गरे । भारतको मेदान्तबाट क्यान्सर रोगका विशेषज्ञ डा. वीरेन्द्र यादवलाई ल्याए झैं प्रसाईले भारतकै चेन्नाईस्थित प्रसिद्ध फोर्टिज हस्पिटलका एक नम्बरका मुटुरोग विशेषज्ञ प्राडा अवनकुमारलाई फकाउन थालेका रहेछन् ।

डा. अवनकुमारले पत्रकार सम्मेलनमा बोल्दै दुई वर्षदेखि फकाउने गरेका प्रसाईको योजना र आँट मन परेर आफु नेपाल आएको सुनाए ।

नेपालमा पहिलोपल्ट मुटु प्रत्यारोपण गराउने प्रसाईको योजनालाई सफल बनाउन आफु ५ जनाको विशेषज्ञ टिमसहित आएको उनले बताए ।

सन् २०११ अघि भारतमा समेत मुटु प्रत्यारोपण गराउन मानिसहरु करोड धन खर्चेर अमेरिका र यूरोप जाने गरेको उल्लेख गर्दै डा. अवनकुमारले भारतमा भएको पहिलो मुटु प्रत्यारोपण गरिदाको टिममा आफु सामेल रहेको दावी गरेका छन् ।

‘त्यसपछि मैले नै एक हजार जनाको मुटु प्रत्यारोपण गरिसकेको छु,’ उनले सुनाए–‘नेपाल र पूर्वोत्तर भारतमा पनि मुटुका रोगीहरुको संख्या धेरै भएको अध्ययनले देखाएको छ ।’

रोड एक्सिडेन्ट र ब्रेन डेथ भएका व्यक्तिको दुई घण्टाभित्र मुटु झिकेर अर्को दुई घण्टाभित्रमा विरामीको शरीरमा प्रत्यारोपण गरिसक्नु पर्ने उनको भनाई छ ।

बीएन्डसीका मुटुरोग विभागका प्रमुख डा. उमेश यादवले नेपाली ५ जना र भारतबाट आएका ५ जनाको टिमले अब मुटुरोग सम्बन्धी जुनसुकै समस्याको पनि उपचार सम्भव बनाउने बताएका छन् ।

बीएन्डसीमा मुटुरोगको शल्यक्रिया गराएका विरामीहरु ।

बीएन्डसी हस्पिटलमा पूर्वाधार, उपकरण र जनशक्ति तयार भए तापनि मुटुको प्रत्यारोपण सजिलै र तत्कालै भइहाल्न सम्भव छैन ।

भारतको फोर्टिज हस्पिटलबाट आएका प्रत्यारोपण विशेषज्ञ डा. अवनकुमार पनि कानून निर्माण र सामाजिक वातावरण तयार भयो भने दुई वर्ष लाग्ने बताउँछन् ।

‘भारतमा ब्रेनडेथलाई मृत्यु मान्ने कानून छ, तर नेपालमा त्यो छ कि छैन मलाई थाहा छैन,’ उनले भने–‘ब्रेनडेथ न्यूरोलोजिस्टले प्रमाणित गर्नुपर्छ र त्यसबाट मुटु झिकेर विरामीमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।’

हर्टफेल भएको व्यक्तिको मुटु प्रत्यारोपणका लागि काम नलाग्ने र जुन मुटु काम लाग्ने हुन्छ, त्यो पनि केही घण्टाभित्र काम सकिने गरी तयारीहरु हुनुपर्ने उनको भनाई छ ।

मुटु प्रत्यारोपणका लागि उपयुक्त व्यक्तिहरुको सूची बनाउन र प्रत्यारोपण योग्य मुटु पाइएमा त्यसको सहज हस्तान्तरणमा सघाउन सरकारले चिकित्सक, कानूनी सल्लाहकार, सामाजिक प्रतिष्ठित व्यक्ति र राज्यका आधिकारिक प्रतिनिधि सामेल भएको शक्तिशाली संयन्त्र निर्माण गर्न उनले सुझाव दिएका छन् ।

हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले ठूलो लगानी र व्यापक तयारीका साथ मुटु प्रत्यारोपण हुनेसम्मको प्रविधि र जनशक्ति बीएन्डसीमा जुटाइदिएको हुँदा अब त्यसलाई सफल बनाउन सञ्चार जगत, सरकार र आम जनसमुदायको पनि योगदान अपेक्षा गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज