नेकपालाई हनहनी आएको ज्वरो अब मत्थर भो : मन्त्री भट्टराई

  प्रकाशित मिति
३ मंसिर २०७७, बुधबार १७:३१


झापा, ३ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपालाई हनहनी आएको ज्वरो आजदेखि मत्थर भएको बताएका छन् ।

मन्त्री एवम् नेकपाका युवा नेता भट्टराईले नेकपाको शीर्ष नेतृत्वमा चुलिएको आन्तरिक झगडालाई प्रतिकात्मक रुपमा चर्चा गर्दै यो ज्वरो सिजनल फ्लू मात्र भएको र कोरोना चाहिँ नभएको बताए ।

नेकपाको भ्रातृ संगठन प्रेस संगठन नेपालको झापा जिल्ला समितिको शपथग्रहण समारोहलाई आज दिउँसो विर्तामोडमा सम्बोधन गर्दै उनले कुनै हालतमा पार्टी नफुट्ने विश्वास व्यक्त गरे ।

‘नेकपाको स्वास्थ्य विहानसम्म राम्रो थिएन, १०४ डिग्रीको ज्वरो हनहनी आएको थियो,’ उनले भने–‘त्यो ज्वरो आज विहानदेखि मत्थर भइसकेको छ । सानोतिनो झोकाले पार्टी फुट्दैन । कार्यकर्ताको बलियो जगमा उभिएको पार्टीको संरचना भूकम्पप्रतिरोधी छ ।’

उनले भारतको फुटाउँदा फुट्ने र चीनले जोड्दा जोगिने कुरा भ्रामक भएको उल्लेख गर्दै उनले नेकपा आफ्नै विशाल कार्यकर्ता पङ्तिको विश्वास र योगदानबाट एकताबद्ध भएर समाजबादतर्फको फराकिलो मार्गमा अघि बढ्ने बताए ।

केही व्यक्तिहरु नेताको झगडामा पेट्रोल छर्किदै हिँडेको भन्दै उनले अहिले झगडा बढाउन पेट्रोल छर्किने उच्छृङ्खल र अराजक कार्यकर्ताको होइन, पानी छर्किने समझदार कार्यकर्ताको भूमिकाको आवश्यकता भएको धारणा व्यक्त गरे ।

पार्टी फुटाएर पछाडि फर्किने कसैले पनि सपना नदेख्न उनको चेतावनी थियो । उनले भने–‘केपी ओलीलाई प्रधानमन्त्री र प्रचण्डलाई अध्यक्ष बनाउन मात्र पार्टीको एकीकरण भएको होइन, अब पछाडि फर्किने बाटो छैन ।’

प्रेस सङ्गठनको झापा समितिका संयोजक मुक्ति पौडेलको अध्यक्षता र मन्त्री भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका सहसंयोजक टिकाराम उप्रेतीले सञ्चालन र प्रदेश नं. १ का सहसंयोजक गणेश पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

सो अवसरमा जिल्ला समितिका सबै पदाधिकारी तथा सदस्यले संगठनका प्रदेश संयोजक राजन केडीबाट शपथ लिएका थिए ।

कार्यक्रममा नेकपाका जिल्ला, प्रदेश र केन्द्रका पार्टी कमिटीका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज