ओलीको प्रतिवेदनसहित नेकपा सचिवालयको बैठक मंसिर १३ मा

  प्रकाशित मिति
३ मंसिर २०७७, बुधबार १७:५०


झापा, ३ मंसिर । दश दिनमा फेरि बस्ने ‘भाका’ राख्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।

हुने या नहुने भन्ने दुईथरी मत बाझिँदा आज लामो समयपछि पार्टीको शीर्ष तहको बैठक बसेको हो ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बैठक नै नचाहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल बैठक नगरी नछाड्ने मनस्थितिका बीच मध्यमार्ग खोजिएको छ । बैठक पनि हुने र त्यसमा बृहत छलफल पनि नहुने सुत्र बालुवाटारमा लागू भएको छ । नेकपामा जारी झगडा अब कम्तिमा १० दिनका लागि केही मत्थर हुने देखिन्छ ।

‘अर्को सचिवालय बैठक मंसिर १३ गते बस्नेछ,’ बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘संकट निवारण सम्बन्धी अर्को प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले त्यसै दिन पेश गर्नुहुनेछ ।’

यसअघि अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रस्तावले नेकपामा तरङ्ग ल्याएको थियो । बहुमत सचिवालय सदस्यले प्रतिवेदन संयुक्त रुपमा तयार पारेका थिए ।

आजको बैठकले पार्टी स्थायी कमिटी बैठक १८ गते बस्ने निर्णय पनि गरेको छ । त्यसैगरी १५ गते बस्ने भनिएको पार्टी केन्द्रीय कमिटी बैठक २५ गतेका लागि सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सत्तारुढ दलभित्रको किचलो समाधानका लागि चिनियाँ राजदूतदेखि राष्ट्रपतिसम्मको सक्रियता रहेको थियो । राजदूत र राष्ट्रपतिले पालैपालो नेतृत्वसँग बेग्लाबेग्लै छलफल गरेका थिए ।

मङ्गलबार प्रचण्डसँग राष्ट्रपतिले छलफल गरेकी थिइन् भने आज बिहान प्रधानमन्त्री ओलीसँग । नेकपाको शीर्ष तहको तनावले पार्टीको कार्यकर्ता तहसम्म प्रभाव पारेको छ । यो समाचार तयार पारुन्जेल मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज