पर्यटन शिक्षामा नयाँ फड्को : विर्तामोडमा खुल्यो नाथम कलेज

  प्रकाशित मिति
३ मंसिर २०७७, बुधबार १९:०६


झापा, ३ मङ्सिर । होटल मेनेजमेन्ट विषयमा हालसम्म ५४ हजार दक्ष जनशक्ति उत्पादन गरिसकेको नेपालको ख्यातिप्राप्त ‘नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)’ले विर्तामोडमा शाखा खोलेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत सञ्चालन हुने नाथम पर्यटन विषयमा पढाउने र तालिम प्रदान गर्ने सरकारी कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज विहान विर्ताबजारस्थित अनारमनी पब्लिक क्याम्पसमा एक समारोहबीच नाथम कलेजको उद्घाटन गरे ।

अनारमनी पब्लिक क्याम्पसकै भवन भाडामा लिएको नाथम कलेजको उद्घाटन गर्दै मन्त्री भट्टराईले धरान, विराटनगर र इटहरीभन्दा उपयुक्त स्थान भएको मन्त्रालयको ठहर रहेको हुँदा विर्तामोडमा यसको शाखा स्थापना गरिएको बताए ।

तीनवटा खुल्न लागेका फाइभस्टार होटल, काँकरभिट्टा नाका र कचनकबल र किचकबध जस्ता पर्यटकीय स्थल भएको झापामा नाथम कलेजको स्थापनाले पर्यटन प्रबर्धन र विकासका लागि ठूलो योगदान पुग्ने मन्त्री भट्टराईले विश्वास ब्यक्त गरे ।

विर्तामोड नगरपालिकाले वडा नं. २ चारपानेमा वीर अमरसिंह माविको डेढ विगाहा जग्गा नाथमलाई उपलब्ध गराउने प्रक्रिया सुरु भएको नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईले बताइन् ।

विर्तामोडमा नाथम कलेज ल्याउन मन्त्री भट्टराई, संघीय संसद्की अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेल, विर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटी, नेकपा विर्तामोडका अध्यक्ष ज्ञानुराम प्रसाईलगायतले धेरै पहिलेदेखि प्रयास गर्दै आएको कार्यक्रममा चर्चा गरिएको थियो ।

नाथमका कार्यकारी निर्देशक दिपककुमार थापाले नाथममा अध्ययान पूरा गरेका ९० प्रतिशत जनशक्ति देश तथा विदेशका होटल तथा पर्यटन क्षेत्रमा रोजगार रहेको जानकारी दिए ।

काठमाडौंमा मात्र सञ्चालन हुँदै आएको यो कलेज मन्त्री भट्टराईकै निर्देशनमा यसवर्षदेखि महोत्तरी, नेपालगञ्ज र विर्तामोडमा विस्तार भएको हो ।

विर्तामोडका नगरप्रमुख धु्रव शिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नाथमका प्रिन्सिपल सत्यनारायण साहले स्वागत भाषण गरेका थिए । संघीय सांसद् पवित्रा निरौला खरेल र नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईले सो अवसरमा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

नेकपा झापाका इञ्चार्ज रविन कोइराला, संविधानसभा सदस्य नरेश खरेल, नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, जिसस झापाका प्रमुख सोम पोर्तेल, कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेल, भद्रपुरका नगरप्रमुख जीवकुमार श्रेष्ठलगायतको कार्यक्रममा उपस्थिति थियो ।

नाथम कलेजले यसवर्षदेखि स्नातक तहको कक्षाहरु सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज