कोरोनाकालको छठ : अधिकांशको आँगनमै जलकुण्ड

  प्रकाशित मिति
५ मंसिर २०७७, शुक्रबार १९:४५


धुलावारीका अशोक पोद्दार र उनको परिवार ।

।। अम्बिका भण्डारी ।।
झापा, ५ मङ्सिर ।
मेचीनगर–१० धुलावारीका अशोक पोद्दारले आफ्नै आँगनमा कृत्रिम जलकुण्ड बनाएर यसपालीको छठ पूजामा अस्ताउँदो सूर्यलाई अघ्र्य दिए । घरमै छठी मैयाको पूजा गर्ने यो नौलो विधिमा उनका परिवारका सदस्यहरु मात्र सामेल भए ।

‘पहिले पहिले निन्दा नदीमा गएर सूर्यलाई दुध र जल अर्पण गथ्र्यौ’, पोद्दारले कोरोना संक्रमणको डरले यसपाली घरमै चाड मनाइएको बताउँदै भने–‘‘यसपाली कोरोनाले यस्तै भयो, अर्को साल फेरि खोलामा जाउँला नि ।’’

कोभिड १९ को महामारीका कारण आज बेलुकी अधिकांश तराईबासी विभिन्न समुदायले प्राकृतिक नदी र तलाउमा गएर पूजापाठ गर्नुको साटो घर परिसरमै जलकुण्ड निर्माण गरी पर्वको विधिविधान पालना गरे ।

धुलावारीकै सरिता रौनियारले घर नजिकैको कुचो उद्योगको कम्पाउण्डभित्र जेसीबीले जलकुण्ड बनाएर चिटिक्क सिंगारिएको मण्डपमा सामूहिक पूजापाठ गरिन् ।

सरकारले खोला र तलाउमा भीड गर्दा कोरोना संक्रमण बढ्छ भनेर घरमै छठ मनाउन आह्वान गरेको हुँदा अधिकांश ब्रतालुहरुले परिस्थितिको गम्भीरतालाई मनन् गर्दै छठ पर्वलाई परिवारभित्रै सीमित तुल्याएको उनले बताइन् ।

झापाको मेची, निन्दा, कनकाई, बिरिङ, देउनिया, रतुवालगायतका नदीमा पण्डाल टाँगेर यसपाली वृहत तथा सामूहिक छठ पूजा गरिएन । भद्रपुरको मेची नदी किनारमा केही सुकुम्बासीहरुले मात्र मण्डप बनाएर पूजापाठ गरे ।

भद्रपुर निवासी झापा उद्योग वाणिज्य संघका महासचिव पंकज शर्माका अनुसार बिगतमा हजारौंको संख्यामा छठका ब्रतालुहरु मेची नदीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिन भेला हुने गर्थे । तर, यसपाली मेची किनारमा बसोबास गर्दै आएका सुकुम्बासीका केही परिवारले मात्र नदीमा पूजापाठ गरेको शर्माले बताए ।

प्रदेश नं. १ मै विराटनगरपछि धेरै ब्रतालुहरुले सामूहिक पूजा गर्ने थलो मानिएको थियो भद्रपुरको मेची नदी । यसपाली मेची किनारमा विगतको जस्तो रौनक छैन । आफ्नो घर हुने अधिकांश परिवारले निजी जग्गामा सानो जलकुण्ड निर्माण गरेको पाइएको छ । कृत्रिम जलकुण्डमा धाराबाट पानी भरेर अधिकांश ब्रतालुले पूजाको विधि पूरा गरेको शर्माले बताए ।

विर्तामोड, कनकाई र दमकमा पनि अधिकांश ब्रतालुहरुले आफ्नै घर परिसरमा जलकुण्ड बनाएर पूजा गरेका छन् । तर जग्गा नभएका र भाडामा बस्दै आएका परिवारले भने खाली चौर र नजिकको खोलामै गएर पूजापाठ गरे ।

गौरीगञ्ज बजारमा रहेको गेउरिया खोला र विर्तामोडको अन्धुवा खोलामा अन्यत्रभन्दा केही भीडभाड भयो । स्थानीय नगरपालिका, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले कोभिड १९ को संक्रमण बढिरहेको कारण खोला र तलाउको साटो आफ्नै घर परिसरमा जलकुण्ड र मण्डप बनाएर छठको पूजा गर्न आग्रह गरेका थिए । तर ती दुई स्थानमा सामूहिक रुपमा छठ मनाइएको छ ।

विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईले कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै स्थानीय सरकारले गरेको आग्रहलाई स्थानीयबासीले पालना गरेको बताइन् ।

‘खोला र बजारहरुमा भीडभाड छैन, शान्तिपूर्ण रुपमा घरघरमै छठ पूजा हर्षोल्लासपूर्वक मनाइएको छ’–उपप्रमुख प्रसाईले भनिन् ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गौरीगञ्जको गेउरिया खोलामा बाहेक अन्यत्र खोलामा भीडभाड गरी सामूहिक पूजा नभएको र घर परिसरमै विधिपूर्वक पर्व मनाएको पाइएको बताए ।

उनका अनुसार झापामा दसैं, तिहारमा जस्तै छठ पर्वमा समेत जनसमुदायले संयमित भएर चाडपर्व मनाएको उल्लेख गर्दै यसमा स्थानीय पालिका, मिडिया र प्रहरीको सहयोग रहेको थियो । (रासस)

धुलावारीका अशोक पोद्दार र उनको परिवार ।
धुलावारीका अशोक पोद्दार र उनको परिवार ।
घर नजिकै खाली जग्गामा बनाइएको जलकुण्डमा पूजा गर्दै भद्रपुरका ब्रतालुहरु । फोटो : मनोज दाहाल

धुलावारीका अशोक पोद्दार र उनको परिवार ।

घर नजिकै खाली जग्गामा बनाइएको जलकुण्डमा पूजा गर्दै भद्रपुरका ब्रतालुहरु । फोटो : मनोज दाहाल
घर नजिकै खाली जग्गामा बनाइएको जलकुण्डमा पूजा गर्दै भद्रपुरका ब्रतालुहरु । फोटो : मनोज दाहाल
गौरीगञ्जको गेउरिया खोलामा सामूहिक पूजा । फोटो :आत्माराम राजबंशी
गौरीगञ्जको गेउरिया खोलामा सामूहिक पूजा । फोटो : आत्माराम राजबंशी
धुलावारीका अशोक पोद्दार र उनको परिवार ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज