युवा नजागेसम्म हट्दैन जातीय भेद्भाव

  प्रकाशित मिति
६ मंसिर २०७७, शनिबार १३:४९


।। सुदिप मेयाङ्बो ।।

हिजोआज समाजमा जातीय विभेदका कहालिलाग्दा घटनाहरु दिनप्रतिदिन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुन्न, देख्न र महसुस गर्न पाइरहेका छौं ।
यस किसिमका घटनाले समाजमा डरलाग्दो रुप लिइरहेको छ । कति ठाउँहरुमा त मृत्युवरण गरेका घटनाहरु पनि छन् । नेपाल सानो मुलुक सबै जाति, वर्ग, क्षेत्र, भाषा, धर्मको बसोबास छ ।

संविधानले छुवाछुत तथा जातीय भेदभावविरुद्धको ऐन प्रस्तावित भए पनि समाजमा यसको अन्त्य भने हुन सकेको छैन, जातिवादले मानिसको व्यावहारिक जीवन, परिवार र समाजलाई मात्र होइन, सिङ्गो राष्ट्रलाई विपरित दिशातर्फ केन्द्रीकृत गरिरहेको छ । यसको शिकार झुपडीमा बस्नेदेखि महलमा बस्ने समाजको अग्रपंक्तिमा रहेका मानिसहरुमा पनि यस समस्याबाट ग्रसित छन् ।

जबसम्म हाम्रो समाजको व्यक्ति विशेषमा उच्च र निचको भावना अन्त्य हुँदैन, व्यक्तिले व्यक्तिलाई स्वीकार गर्न सक्दैन, समाजको कुसंस्कृतिबाट पनि निक्लन सक्दैनौं ।

हामी जातिवादलाई जति धेरै प्राथमिकता किन दिइरहेका छौं ?

केही समयअघि एक महिला साथीको अन्तरजातीय विवाह दलित पुरुषसँग भयो । महिला पक्षका परिवारले यस विवाहलाई स्वीकार गरे पनि, समाजमा रहेका केही परिवारहरूको हेर्ने दृष्टिकोण र गरिने व्यवहार आज पनि फरक छ ।

यो त एक सानो प्रतिनिधि घटना मात्र हो, समाजमा यस्ता धेरै घटनाहरु भइसकेका छन् । जातिवादकै कारण परिवार र समाजबाट मृत्युवरण गरेका, बेपत्ता, र बहिष्करणमा पर्नुपरेको…..!

हाम्रो समाजमा मानवतावाद र समाजवादको बारेमा मिठा कुरा त गरिन्छ, मुख्यतयाःः राजनीतिक कर्ता, समाजका बुद्धिजीवी, युवायुवती तथा उच्च पदमा रहेका व्यक्तित्वहरू जो देखावटी मात्र गरिएका छन् । वास्तवमै यस विषयमा अन्तर आत्माबाट चासो दिने व्यक्ति समाजमा निकै थोरै हुन्छन् । कानुन तथा न्याय प्रणालीले केही हदसम्म व्यवस्था पारित गरे पनि हाम्रो व्यवहारमा भने पूरा परिवर्तन भएको छैन ।

परिवार, समाज र देशको शान भरोसाको जग युवावर्ग एवं उच्च शिक्षा हासिल गरेका समाजको अग्रस्थानमा रहेका व्यक्तित्वहरू, जातीय व्यवस्था तथा बहिष्करणको विषयमा छिरिक्क बोल्दैनन् ।

किन हामी मौन छौँ ?

समाजमा जातीय तथा बहिष्करण एवं छुवाछुतको विरुद्धमा आवाज उठाउनुको सट्टा युवायुवती, समाजका शिक्षित वर्ग, राजनीतिक कर्ताहरु ढाकछोपमा लागिपरेका छन् । परिवारको आर्थिक उन्नतिको लागि युवायुवतीहरु बाध्यताबश विदेशिनु होस् या समाज तथा देशको परिस्थिति परिवर्तन गर्न किन नहोस्, आवश्यकता युवा युवतीहरूको नै छ ।

चर्चित समाजशास्त्री एवं मानवशास्त्री डोरबहादुर विष्टका अनुसार नेपालको अविकास र पछौटेपनको मुख्य बाधक तत्व भाग्यवाद र जातिवाद हो ।

समाजमा फस्टाइरहेको जातीयताको रुखलाई जरैबाट उखालेर फाल्न युवायुवतीहरूको भूमिका कति रहला ?

मेरो विचारमा नव आगमन युवायुवतीहरुलाई जातिवाद एवम् जातीय व्यवस्थाले प्रभाव पार्दैन र पर्नुहुँदैन पनि…. । अझै पनि हामीमा यसको प्रभाव छ भने जाति व्यवस्थाले युवा युवतीहरुको मन मस्तिष्कमा लागेको बिर्को खुल्न जरुरी छ । हामीबाट सिक्ने नव आगमन युवायुवतीहरुले पनि यो व्यवस्थालाई इन्कार गर्दैनन्, गर्नेवाला छैन पनि त्यसकारण युग परिवर्तन भनेकै व्यक्तिगत, मनोबैज्ञानिक, सामुदायिक, सांस्कृतिक, राजनीतिक र आर्थिक पक्ष हो । यसमा आम युवा एवम् जनताको महत्वपूर्ण योगदान हुन्छ ।

किन हामी समाजको कुसंस्कृतिको अन्त्य गर्नुपर्छ भनी आवाज उठाउन सकिरहेका छैनौं ?

हामीलाई थाहा छ, छुवाछुत तथा जातीय भेदभाव गर्नु हुँदैन भनी, तर पनि हामी केहि हदसम्म गर्छौं । डर छ समाजले मेरो परिवारलाई वाहिष्कार पो गर्ने हो कि ? मन मान्दैन, मेरो धर्मसंस्कारले यी कुराहरु दिँदैनन्, वास यसैबीच हामी अड्किरहेको हुन्छौ….! कसले के भन्ला नि ? भनी डर मान्यौं र यस विषयमा आवाज उठाउन लाज मान्यौ भने, आफ्नो सोच परिवर्तन गर्न सकेनौ र व्यक्ति व्यक्तिलाई सम्मान व्यवहार गरेनौ भने यस व्यवस्थाको अन्त्य कदापि हुँदैन ।

जाति बहिस्करणमा परेको व्यक्तिहरु होस् या समाजका बुद्धिजीवी, युवावर्ग, जिम्मेवार नागरिक एवं सक्रिय राजनीति कर्ताहरु…..!

हाम्रो मनमा उत्पन्न हुने डर र लाजलाई टाढा राख्न आवश्यक छ, आफ्नो धर्म संस्कारको डरले हामी जातको विषयमा बोल्न डराउँछौ, वास्तवमा धर्मको आडमा होइन, देश विशेषको आधारमा बनेको जातमा होइन, नेपालमा बस्ने प्रत्येक नागरिकले जात होइन, नेपाली जातित्वलाई स्वीकार गरे कुनै आपत्ति आउँदैन । हामीले सबै भेदभावलाई हटाएर नेपालीपनलाई अपनाउने प्रण गर्नुपर्छ ।

विडम्बना देशको राजनीतिक अवस्थासँगै युवा युवतीको भूमिका दिनदिनै कमजोर र लाचार बन्दै गएको छ । समाजमा यस किसिमको व्यवहार अथवा कुसंस्कारलाई चासोको विषय बनाउनै पर्छ । परिवार समाजमा जातिवादको समर्थन होइन, सबै मिली यसको विरुद्धमा आवाज उठाउनु आवश्यक छ । अब यूवायूवतीहरु सामाजिक सञ्जालको चरम दुरुपयोग होइन, आआफ्नो अव्यवस्थित टोल अथवा समाजलाई खराब संस्कारबाट बाहिर निकाल्न युवावर्गको महत्वपूर्ण योगदान रहने छ । शरीरको फोहोरमैला सफा भएर मात्र हुँदैन, आत्मा र दिमागको फोहोर मैला पनि सफा हुन जरुरी छ ।

त्यसकारण सबै प्रजातिले आपसको भेदभावलाई बिर्सेर एउटै समूहमा आवद्ध भई न त वर्णमा, न जातिमा नै, हामी सबैजना नेपाली बनी बाँच्नुपरेको छ र बाँच्नु पर्छ पनि….।

(लेखक मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्नातकका विद्यार्थी हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज