धुँवा र धुलो नियन्त्रणको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध

  प्रकाशित मिति
१८ मंसिर २०७७, बिहीबार १५:२३


भद्रपुर, १८ मंसिर । भद्रपुर–६ स्थित बत्तावारी चोकदेखि महेशपुरको मन्त्री चोक सम्मको सयपत्री मार्ग अन्र्तगत पर्ने अढाइ किलोमिटर क्षेत्रको बाटो बिहीवार धुलो नियन्त्रण गर्न माग गर्दै स्थानीयहरुले अबरोध गर्दा आवतजावतमा कठिनाइ भएको छ ।

सहरी तथा भवन विकास आयोजना चन्द्रगढीको मातहतमा रहेको श्रेष्ठ कन्ट्रक्सन प्रालिले २०७४ मंसिर ८ मा सम्झौता गरि २०७७ मंसिरमा सम्पन्न गरि सक्ने गरि निर्माण कार्य सुरु गरेको थियो । निर्माण कार्य नसकिएपछि सडकको धुँवा र धुलो नियन्त्रण गर्न माग गर्दै बाँसको बार लगाएर स्थानीयहरुले सडक अबरोध गरेका हुन ।

उनीहरुले निर्माण कार्य शुरु गरेर छोडेको ३ बर्ष बितिसक्दा पनि निर्माण कार्य अघि नबढाईएको भन्दै सवारी आवतजावतका काराण सडकबाट निस्कने धुँवा र धुलोले आसपासका स्थानीयहरुलाई विभिन्न प्रकारका रोगहरुले सताउने गरेको बताए ।

उनीहरुले तत्काल दिनको २ पटक सडकमा पानीहालेर धुलो नियन्त्रण गर्दै सडक निर्माण कार्यलाई निरन्तरता दिनु पर्नेमा समेत जोड दिएका छन् ।

३ बर्ष अघि सडक निर्माणका क्रमममा नाली उठाएर छोडेको सडकमा अहिले सम्म ठेकेदार लगायतका निर्माणकर्ताहरु देखा नै नपर्ने गर्दा हिउँदमा धुवा र धुलो तथा बर्षामा हिलोले सताउदा आफुहरुमा श्वास प्रश्वास लगायतका विभन्न रोगहरुले सडक आसपासका स्थानीयहरुलाई सताउने गरेको स्थानीय सृजना घिमिरेले बताइन् ।

उनले आफुहरुले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाइ पटक–पटक यस बिषयमा निर्माणकार्यलाई निरन्तरता दिन र विहान बेलुका पानी हालेर धुलो नियन्त्रण गर्न पहल गरिदिन भने पनि वेवास्ता गरेको बताए । सडकबाट उड्ने धुँवा र धुलोका कारण स्थानीयवासीलाई दम, रुघाखोकी लगायतका कोरोना भाइरस भन्दा घातक रोग निम्तने खतरा रहेको स्थानीय उत्तमराज भट्टराईले बताए ।

श्रेष्ठ कन्ट्रक्सन प्रालिले बनाउन शुरु गरेको भद्रपुर नगर भित्रका १२ वटा सडक खण्डको एकमुष्ठ ८३ करोड ८० लाख ९० हजार २ सय ३१ रुपैयाँमा ठेका सम्झौता भएको थियो । सम्झौता भएका अधिकांश सडकहरुमा निर्माणको क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग गर्ने तथा निर्माण कार्य सुरु गरेर अलपत्र अवस्थामा छोड्ने गरेको स्थानीयहरुको भनाइ छ ।

यस बिषयमा फोन गरेर बुझ्न खोज्दा कन्ट्रक्सनका सव ईन्जीनियर विवस कार्कीसँग फोन सम्पर्क हुन सकेन । यता शहरी विकास आयोजना चन्द्रगढीका सूचना अधिकारी अर्जुन दाहालले कार्यालयले अनुगमन गरेर तत्काल समस्याको समाधान गर्नु पर्ने बताए ।

।। रेवतीराज घिमिरे ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज